पाल्पा पर्यटकीय जिल्ला हो । यहाँका पर्यटकीय गन्तव्यहरुलाई भजाउन सकिने हो भने पर्यटन उद्योग राम्रो चल्थ्यो । तर हाम्रा नीति निर्माताहरुले पर्यटनलाई मनोरञ्जनको साधन माने । फुर्सदमा मन बहलाउने काम नै पर्यटन हो भन्ने ठाने । डाँडो देख्ने बित्तिकै भ्यू टावर, गाउँ देख्ने बित्तिकै होमस्टे भन्न सिकेका छन् । यतिनै उनीहरुका निम्ति काफी भयो ।
हामीले पर्यटनलाई रमाइलोको साधन मान्ने कि, यसलाई व्यवसाय भन्ने कि, पर्यटनलाई उद्योग भनेर जान्ने ? पर्यटन विकासको आधार भैरहवाको हवाइजहाज ग्राउण्ड भयो भन्छन् । कसैले बाटाका छेउमा बनाउँदै गरिएका वा बनेका अग्लाअग्ला होटललाई मान्छन् पर्यटनका आधार । कसैले सेता, गोरा छाला नै पर्यटक हुन् खास हाम्रा भन्छन् ।
पर्यटक आउँदा शहरमा मात्र लैजान्छन् । उनीहरुलाई चिल्ला बाटा देखाउने रे । अग्ला घरहरु छन् भन्ने रे । होटल, लज, रिसोर्ट सहरमै छन् । सुख शहरमै छ । मैले यसपालि भने ग्रामीण पर्यटनका लागि गाउँकै कुरा गर्ने रहर गरेको छु । लौरो टेक्दै, पैदल हिँडेर गाउँको आँटोपीठो खुवाउन लैजान पाए पो ग्रामीण पर्यटनले विकासको फड्को माथ्र्यो । गाउँबस्ती, गाउँलेहरुका रहनसहन, जनजीविकाहरु देखाउन भ्याए पो ग्रामीण पर्यटन प्रवद्र्धन हुने थियो । वनका पशुंक्षीहरु, बोटबिरुवा, जडीबुटीहरु देखाउने नेचर गाइड तयार पारेर पर्यापर्यटनको स्वाद चखाउन पाए पो रमाईलो हुने थियो ।
पाल्पाको तिनाउ, बुटवलसँगै जोडिएको गाउँपालिका हो । यहाँ ६ वटा वडाहरु छन् । साविकका दोभान, कचल, मस्याम र कोल्डाँडा मिलेर तिनाउ गाउँपालिका बनेको हो । तिनाउमा थुप्रै पर्यटकीय गन्तव्यहरु छन् । वडा नं. १ मा झिंगामारा, ठूलीउदाङ, कचलफाँट, बोक्से खोलाको झरना, ओखलढुंगा, रिङसिङ लेक, घाञ्चलुङ् लगायतका पर्यटकीय क्षेत्रहरु छन् । वडा नं. २ मा ऐतिहासिक स्थल नुवाकोट, रानी कुवा, रानी झरना, सुकेताल (जहाँ चारपटक ग्रामीण पर्यटन महोत्सव लागि सकेको, होमस्टे भएको गाउँ), महाराबास (मितेरी गाउँ) घोडेबासमा रहेको अविरल पार्क छन् ।
त्यसैगरी वडा नं. ३ मा सिद्धबाबा मन्दिर, रामपिथेकस पार्क, दालचिनीको गाउँ बेरुवा, तीनबहिनी गुफा, सुन्दर लग्धुवा गाउँ, भूतखोलाको झरना, चुनुमाया स्मृति पार्क, हाइटेक नर्सरी एवम् महिलाहरुले सञ्चालन गरेको च्याउखेती स्थलहरु पनि पर्यटकीय गन्तव्य हुन् ।
वडा नं. ४ मा रहेको सत्यवती बजैको मन्दिर, सत्यवती ताल, बुढी सत्यवतीको भग्वनावेश ताल, कन्यालुङ, बरदालुङजस्ता पर्यटकीय गन्तव्यहरु रहेको यस वडाको लगाढमा सामुदायिक एवम् सांस्कृतिक होमस्टे सञ्चालनमा रहेको छ । त्यसैगरी ५ नम्बर वडाको मरामकोट ( मराम्च, मगरभाषामा सुन्दर । कोट)मा पनि होमस्टे छ । कोल्डाँडा गाउँमा मगर संस्कृति झल्किने मगर संग्रहालय बन्दैछ । बिस्कुनडाँडा पनि रमाइलो गाउँ छ ।
तिनाउको वडा नं. ६ तानसेन नगरपालिकासँग जोडिएको छ । यहाँ सिस्नेखोला, हटिया रहेको छ । हटिया मस्यामको पुरानो बजार हो । रानीबासमा बास बसेर सिस्नेखोला हुँदै उतिबेला लाहुरेहरु मस्यामको हटियामा पुग्थे । पाटन, जन्तीलुङ् (तिनाउको सगरमाथा) पर्यटकीय गन्तव्य हुन् । तिनाउ सरकारले जन्तीलुङमा सानो पार्क बनाइदिएको छ । होमस्टेका लागि आवश्यक सामानहरुको सहयोग गरेको छ । बाह्रैमास जाडो हुने उक्त ठाउँमा तुँवालो र बादलले लुकामारी खेल्छन् । भटमास, मकै, कोदो, फापर, पिंडालु उत्पादन हुने उक्त स्थानमा गाउँलेहरुले कृषि र पशुपालनमा आफूलाई समाहित गरेका छन् ।
मैले चर्चा गर्न थालेको गाउँ महाराबास हो । मगर भाषामा महारा भनेको गोठालो जाने कामलाई बुझिन्छ । पहिले माथिल्ला गाउँका मानिसहरु महारा जान यतै आउँथे । त्यतिबेला उनीहरु बास बस्नका लागि गोठहरु बनाएर राख्थे । महारा आउँदा गोठमा बास बस्थे । महाराबास चर्चित नाम थियो । त्यहाँका पुराना ब्यक्तित्व अमरबहादुर गाहा थिए । उनी पञ्चायतकालमा दोभान पञ्चायतको अध्यक्ष समेत भएका कुरा उनका माइला छोरा दुर्गाबहादुर गाहाले बताउँथे । महाराबासमा मगरहरुकोमात्र बसोबास छ । यतिबेला यो गाउँलाई मितेरी गाउँको नामले समेत चिनिन्छ । २०६२/०६३ सालतिर मैले नै उक्त गाउँको नाम मितेरी गाउँ राखिदिएको हुँ ।
यस गाउँमा मीत लगाउनेहरुको संख्या करिव १० जोडी छ । दोभान नयाँबजारका हरिप्रसाद पाण्डेयले महाराबासका दुर्गाबहादुर गाहासँग मीत लगाएको पनि तीस वर्ष नाँघ्यो । दोभान बजारका सजगप्रताप शाक्यले धनप्रसाद लुईटेल मगरसँग मीत लगाएर गौरव गरेका छन् । बाजागाजाका साथ हेमबहादुर गाहाले दोभान माविका पूर्वशिक्षक लालबहादुर कार्कीसँग मितेरी साइनो गाँसेको पनि एक दशक पुग्यो । गाउँमा मितेरी गाँस्नेहरुको संख्या अझै बढ्न सक्छ ।
भिरालो परेको जग्गा, बंगुर, बाख्रापालन गरेर मितेरी गाउँका बासिन्दाले जीवन गुजारेका छन् । मितेरी गाउँको छेउमा बडहरे र खुर्सानीबारी गाउँहरु छन् । बडहरे गाउँमा बालज्योति नमूना आधारभूत विद्यालय छ । त्यहाँका पूर्वप्रअहरु रेश्मीराज बस्याल बटौलीतिर पेन्सन खाँदै बसेका छन् । सुनेव मेडम कालिका आधारभूत विद्यालय देउले सरिन् ।
मितेरी गाउँमा मितेरीस्तम्भ बनाउने भनेर साविक दोभान गाविसको बजेटमार्फत काम गर्ने योजना थियो । पछि गाउँपालिकाको संरचना बनेपछि त्यसै सेलाएर गयो । पर्यटकीय गाउँ सुकेतालसम्म मितेरी गाउँबाट रिङरोड बनाउने कार्यक्रम बीचमै तुहियो । त्यो रोड बनाउन सकिएको भए पर्यटकहरु सिद्धगुफा हेर्न जान्थे । सुकेताल घुम्न आउने पर्यटकहरु पनि मितेरी गाउँमा आउँथे । कति महिला दिदीवहिनीहरुले सैना लगाउँथे होलान् । मितेरी गाउँलाई कागती पकेट क्षेत्र घोषणा समेत गरिएको थियो । स्थानीय जनप्रतिनिधि रामबहादुर पल्लीले कागती बेचेर पैसा कमाएका छन् ।
गाउँमा पर्यटक ल्याउन विभिन्न किसिमका भौतिक संरचना बनाउने, यहाँको ठूलो नाँच देखाउने, खेलकूद प्रतियोगिताको आयोजना गर्ने, पर्यटन विद्यालयको रुपमा बालज्योति विद्यालयलाई विकास गर्ने, सिद्धगुफाको संरक्षण एवम् प्रचार गर्ने र मितेरीस्तम्भको निर्माण गर्न सकिएमा गाउँमा आन्तरिक पर्यटकहरु आउँथे । उनीहरुलाई खाजाका निम्ति खाजापसल चल्थ्यो, खानाका लागि साना होटल चल्थे अनि बस्नका लागि होमस्टेहरु चलाउन सकिन्थ्यो ।
पर्यटकहरुलाई गाउँको गिठा, भ्याकुर, तरुल, पिंडालु उसिनेर खुवाउन सकिएको भएको भए आम्दानीका बाटाहरु फराकिला हुन्थे । गाउँको सांस्कृतिक सम्पदाको संरक्षण हुने थियो । ठूलो नाँच पर्यटकहरुलाई देखाएर आर्थिक उपार्जन गर्न सकिन्थ्यो ।
बुटवलबाट पाँच किलोमीटर दूरीमा दोभान चौकी र त्यहाँबाट उत्तरपश्चिम करिव चार किलोमिटर दूरीमा अग्लो डाँडाको खोंचमा मितेरी गाउँ रहेको छ । मिलनसार गाउँलेहरु छन् । त्यहि भएर त होला नि मीत लगाउनेहरुको घूइँचो छ । सफा, स्वच्छ र पवित्र मनका धनी मितेरी गाउँलेहरुलाई भेट्न जाने कि नाइँ ? यही आमचुनावपछि म पनि पुगेको छैन तर सधैं सम्झिरहेको छु मितेरी गाउँ र गाउँलेहरुलाई ।
प्रतिक्रिया