राज्यका मालिक किसान हुन् । जुन देशमा किसान सक्षम हुन्छ, त्यो देश समृद्धिको गोरेटोतिर लम्किन्छ । हाम्रो देशमा करिव ६० प्रतिशत् किसान छन् तर देशले अन्न, तेलहन, दलहन, सागपात, माछा, मासु र अण्डाको आयात गर्छ । किसान भन्छन्–खेतीकिसानी गर्ने बेलामा आकासतिर हेर्नुपर्छ । मल चाहिने बेला नाराजुलुश गर्नुपर्छ । उत्पादित बस्तु बेच्नेबेला बिचौलीयाले हैरान पार्छ । हाम्रा कुरा न राज्यले सुन्छ न अरु कसैले । किसानसँग सीमित जग्गा छ । कतिपय भूमिहीन छन् । जमिनदारसँग जमिन छ तर बाँझो छ । आधुनिक कृषि प्रणाली छैन ।
कवि लक्ष्मण ज्ञवालीले आफ्नो किसान कवितामा किसानलाई धर्तीपुत्र मानेका छन् तर राज्य किसानलाई दोस्रो दर्जाको नागरिक बनाउँदैछ । उनी आफ्नो कवितामा किसानको बयान गर्दै लेख्छन्-
माटोको वासना मीठो त्यसैभित्र रमाउँछु
दिलमा देश बोकेको धर्तीपुत्र किसान हुँ
माटोलाई माया गर्ने,माटोलाई सम्मान गर्ने,माटोलाई प्राण ठान्ने र माटो नै सबै हो भन्ने कवि लक्ष्मणले सोही किसान कवितामा थप्छन्-
म बूँद सिर्जनाको हुँ देशको शानमान हुँ
बेदाग देशको सच्चा देशभक्त किसान हुँ
देशका सबै नागरिकलाई पालेर आफूसमेत पालिने किसान,देशभक्त नागरिक हुनुर्नेमा उसको आजको अवस्था कहाँ छ, सम्मान कहाँ छ ? कुन परिवेशमा बाँचिरहेको छ ? किसान हुनु,बाध्यताको खेल हो वा श्रृष्टिको सर्जक हुनु हो । किसानले श्रम गर्छ, सीप लगाउँछ, समय पोख्छ माटोमा तर उही हेपाइमा किन ? मर्माहत किन ? लक्ष्मण ज्ञवाली प्रगतिवादी कवि हुन् । राज्यसँग किसानको पहिचान खोजेका छन् । किसान हुनुमा गर्व गरेका छन् । माटोमा माया रोपेका छन्, स्नेह फुलाएका छन्, ममता फलाएका छन् । तर राज्य, किसानलाई मल दिन सक्दैन । वीऊ दिन भ्याउँदैन । सिंचाइका कुरा त एकादेशको कथाजस्तै भयो ।
लक्ष्मणको किसान कविता संग्रह बजारमा आएको छ । सो कविता संग्रह पनि किसानजस्तै भएको छ । सोधीखोजी कम छ । मर्म बुझ्ने छैनन् । किसानले पढ्न भ्याउँदैनन् । राज्य सञ्चालकहरुले पढेर पनि बुझ्दैनन् । पाठकले पढेर किसानको समस्या समाधान गर्न सक्दैनन् । रुपन्देहीको शंकरनगर बस्दै आएका कवि लक्ष्मण ज्ञवालीले आफ्नो श्रम,सीप र परिश्रम लगाएर किसान कविता लेखेका हुन् । किसान कविता संग्रहमा ४२ वटा कविता छन् । किसान कविता उनको पहिलो पानामा छापिएको तर पछिल्लो वर्ष अर्थात् २०७८ मा लेखिएको कविता हो । पछिल्लो पृष्ठमा रहेको शिक्षा कविता २०३३ सालमा वनारसमा लेखिएको कविता हो । उक्त शिक्षा कवितामा लक्ष्मण लेख्छन्-
जोशिला छौं युवा हामी देशका कर्णधार हौं
लिएर ज्ञानको ज्योति अँधेरी रातमा बढौं
पञ्चायती शासनका बेला प्रवासमा बसेर लेखिएको उक्त कविता उनको युवाकालीन कविता हो । बहुदलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्रसम्मको यात्रामा आफूलाई जोशिला युवाका रुपमा अघि बढाउने प्रण गरेका लक्ष्मणले सायद अँधेरी रात पञ्चायती व्यवस्थालाई भनेको हुनुपर्छ । पञ्चायती शासन विरुद्ध प्रजातन्त्र नामको ज्ञानको ज्योति लिएर अघि बढेर नै आज हामीले गणतन्त्रको न्यानो पारिलो घाम ताप्न पाएका छौं । लक्ष्मण ज्ञवाली जबरजस्ती कवि बनेका होइनन् र बनाइएका समेत होइनन् । उनी आफ्नो साहित्यिक परिवार, माहोल र परिवेशबाट हुर्किएका कवि हुन् । अभ्यासले उनलाई कवि बनायो र निकाले किसान कविता संग्रह । दसैं र भाकल कवितामा उनले लोकलयमा मज्जाले विदेश जानेको पीडा अभिब्यक्त गरेका छन्-
विदेश जाँदा लाको ऋण, साहुले चुलाई सक्यो
गोठमा भाको लैनो भैंसी, ब्याजमा फुकाइ सक्यो ।
स्वदेशमा रोजगार छैन । किसान भएर बाँच्न सकिने अवस्था छैन । विदेश नगई सुखै छैन अनि विदेश जाँदा ऋण काढेर जानै पर्यो । बेलामा साहुको ऋणको ब्याज तिर्न नसक्दा गोठको लैनो भैंसी साहुले फकाएर लैजान्छ अनि घरपरिवारको हालत के होला ? विदेशी भूमिमा पसिना बगाउने श्रमिकको मन कस्तो होला त्यो खबरले ? क्रान्ति रहर होइन । बाध्यता हो । समय र परिवेशले मानिसलाई क्रान्तिकारी बनाउँछ । अनुष्टुप् छन्दमा आफ्नो अठोट शीर्षकको कवितामा लक्ष्मणले लेखेका छन्-
मान्छेले पाउने न्याय पाउनै पर्छ क्यै गरी
नभए क्रान्तिको राँको म बाल्ने छु घरीघरी
नेपालमा यतिबेला आर्थिकमन्दीबाट सबैजसो ब्यक्ति ग्रस्त छन् । राज्यले सबै किसिमका अधिकार दिन सकिरहेको छैन । न्याय हराउँदै गएको छ । मानव अधिकार नाममात्रैको भएको छ । हातमुख जोर्न धौधौ भइसक्यो । बोल्ने अधिकार त मिल्यो तर बोल्ने त्यही मुखमा गासकोे बास हुन छाड्दैछ । अनि त्यस्तो विषम परिस्थिति आइसकेपछि मान्छेले क्रान्ति गर्ला कि आत्महत्या ? कायरहरुले आत्महत्या गर्नेछन् । क्रान्तिकारीहरुले क्रान्तिको राँको बाल्नेछन् घरीघरी ।
जबसम्म किसान, मजदूर, ज्यामी लगायतका सबैले समानताका अधिकार र न्याय पाउने छैनन् त्यतिबेलासम्म लक्ष्मणका कवितामामात्र होइन देशका हरेक नागरिकहरुले क्रान्ति गरिरहने छन् ।
प्रतिक्रिया