ताजा अपडेट »

बुटवल मेलाः एकैदिन ७० हजार बढी दर्शक (फोटो फिचर)

शनिबार, १९ पुस २०७६

पुस १९,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको बुटवल ११, देवीनगरमा सञ्चालित औद्योगिक व्यापार मेलामा शनिबार १० औं दिनसम्म ३ लाख ५० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को १० औं दिन शनिबार मात्रै ७० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ ।

वर्षातका कारण शुक्रबार रोकिएको बुटवलमा सञ्चालित मेला शनिबार भने निर्वाध रुपमा सञ्चालन भएको छ । शनिबार बिहानैदेखि मेला अवलोकनकालागि दर्शकको बाक्लो उपस्थिती रहेको थियो । दर्शकको बाक्लो उपस्थितीले मेला आयोजकलाई उत्साही बनाएको छ । शनिबार मेलामा अवलोकन गर्नकालागि अत्यधिक दर्शक आएका कारण मेला स्थलमा प्रवेश गर्न समेत हम्मे हम्मे भएको थियो ।
दर्शकको सुविधाकालागि आयोजकले मेला स्थलमा राखिएका टिकट काउन्टर बाहेक पनि टिकट काट्ने व्यवस्था मिलाएको टिकट व्यबस्थापन उपसमितिका संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिए । संघको आयोजनामा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलामा दर्शकको उल्लेखनीय उपस्थितीले स्टलधनी पनि खुसी भएका छन् ।

शनिबार मेलामा लोक तथा दोहोरी गायक शिव हमाल, दिपक गरौंजा, सीता केसी, चेतना थापा, चन्दा अर्याल, सुशिला गौतम, आरती रुचाल, डिला बिक तथा नारायण खनाल लेकालीको प्रस्तुती रहेको थियो भने शनिबारदेखि नै सुरु भएको रत्यौली प्रतियोगितामा ८ टिमको प्रस्तुती रह्यो ।
त्यस्तै सांस्कृतिक कार्यक्रम तर्फ नै लोक तथा दोहोरी गीत प्रतियोगिता, आधुनिक तर्फ भ्वाईस अफ बुटवलमा टप ७ मा छनौट भएका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती रहेको थियो । भोली आईतबार लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, निता पुन, पुरुषोत्तम पौडेल, अमृता नेपाली, नन्दु परियार, हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) को प्रस्तुती रहने छ ।

त्यस्तैगरी आधुनिक तर्फ भ्वाईस अफ बुटवल र रत्यौली प्रतिगोगितामा प्रस्तुती बाँकी रहेका ७ टिमको प्रस्तुती रहने छ । यस क्षेत्रमा पहिलो पटक सञ्चालन गरिएको रत्यौली प्रतियोगितामा १५ टिम सहभागि छन् ।

हेर्नुहोस् तस्वीरमा :