भैरहवा । नेपालका विभिन्न गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरि भएको शास्त्रीय प्रतिष्पर्धामा गोरखनाथ बैदिक गुरुकुलका द्रोण भण्डारी प्रथम भएका छन् । प्रतिष्पर्धाको मूख्य आकर्षणको रुपमा रहेको व्याकरण शलाका परिक्षामा प्रथम हुँदै भण्डारीले सुनको आलेप लगाईएको शलाकासहित नगद ११ हजार रुपँैया पुरस्कार प्राप्त गरे ।
संस्कृत बाङमयको प्रचार प्रसार गर्न एवम् संस्कृत अध्ययन गरिरहेका छात्रहरुमा संस्कृत प्रति रुचि बढाउने प्रतियोगिताको आयोजना गरिएको थियो । ३ दिनसम्म चलेको स्पर्धामा व्याकरण शलाका परीक्षामै परमानन्द संस्कृत गुरुकुलका आशुतोष कंडेल द्वितिय एवम् महेश संस्कृत गुरुकुलका सुधिर चालिसे र श्री दुर्गा संस्कृत वेद वेदाङ्ग बिद्यापिठका दिपक पनेरु सयुक्त रुपमा तृतीय स्थान हासिल गरे ।
प्रतियोगिताको अर्को बिधा धातुरुप कण्ठपाठमा परमानन्द संस्कृत गुरुकुलका पुजन पाण्डे प्रथम, महेश संस्कृत गुरुकुलका जीवनाथ आचार्य द्वितीय एवम् काली भैरव संस्कृत गुरुकुलका योगेश उपाध्याय तृतीय भएकोे आयोजक दु्र्गा संस्कृत बेदबेदाङ्ग बिद्यापिठका प्राधानाचार्य नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
सुत्रान्त्याक्षर्याम परीक्षामा परमानन्द संस्कृत गुरुकुलका खगेन्द्र खनाल प्रथम, सन्तोषी माता संस्कृत गुरुकुलका संस्कार भण्डारी द्वितीय, दुर्गा संस्कृत वेद वेदाङ्ग बिद्यापिठका रमण बस्याल तृतीय स्थान हासिल गरे ।शब्दरुपकण्ठपाठे परिक्षामा महेश संस्कृत गुरुकुलका आदर्श घिमिरे प्रथम, परमानन्द संस्कृत गुरुकुलका गौरव कंडेल द्वितीय तथा नेपाल वेदबिद्याश्रमका समीर गौतमले तृतीय स्थान हासिल गरेको प्रध्यानाध्यापक भट्टराईले बताए । २६ औ गुरु परमानन्दको स्मृतिमा तिलोत्तमा वडा नम्बर १४ मा रहेको दु्र्गा संस्कृत बेदबेदाङ्ग बिद्यापिठले गुरुकुल स्तरीय शास्त्रीय प्रतिष्पर्धाको आयोजना गर्दै आईरहेको छ । प्रतिष्पर्धामा यस पटक नेपालका विभिन्न ५५ गुरुकुलका गरि २ सय ५० जनाको सहभागीता रहेको थियो ।
यस्तो प्रतियोगिताले विद्यार्थीहरुको समग्र विकास गर्ने कार्यक्रमका निर्णायक तथा गुरुकुलका आचार्यहरुको भनाई थियो । यस्ता कार्यक्रमले विद्यार्थीहरुले संस्कार, संस्कृति र प्राचीनकालका ऋषिमुनिहरुको विचार सिकेर आफ्नो भविष्यम निर्धारण गर्न सकिने नेपाल बेद बिद्याश्रम संस्कृत माध्यमिक विद्यालय, गौशालाका आचार्य नारायण प्रसाद जोशीको बताए । उनले यस्ता कार्यक्रमलाई राज्य नै संरक्षण गरेर आयोजना गर्नु पर्ने बताए । “संस्कृत पढेका बिद्वानहरु मात्र यसमा लागेर पुग्दैन, सरकारको नजर पनि यस्ता कार्यक्रममा जानु पर्छ ।” उनले भने “यस्ता
कार्यक्रमहरुले बिद्यार्थीहरुलाई तार्किक बनाउने, बिचारशिल बनाउने, बिभिन्न संस्कृतका ग्रन्थहरुको अध्येता बनाउन सहयोग गर्छ ।”
गुरुकुल स्तरीय शास्त्रीय स्पर्धाले अध्ययनमा मात्र नभई व्यवहारिक ज्ञान वृद्धिमा सहयोग गरेको सहभागी प्रतिष्पर्धी विद्यार्थीहरुको भनाई छ । कार्यक्रमले विद्यार्थीहरुमा भित्रैबाट उर्जा दिएको विद्यार्थी आशुतोष कंडेलले बताए । “हाम्रो लागि यो प्रतियोगिता सर्वथा नया, प्रोत्सहक एवम उत्साहवर्धक कार्यक्रम रह्यो ।” कंडेलले भने “संस्कृत र संस्कृति हराउदैँ गईरहेको अवस्थामा यसको जगेर्नामा हाम्रो दायित्वबोध गराउने कार्यक्रमको रुपमा यसलाई मैले लिएको छु ।”
प्रतिक्रिया