महाभारत युद्धमा अर्जुनको एउटै लक्ष्य थियो युद्ध जित्नू । कलियुगका अर्जुनको दिव्यदृष्टि छ–समाज हाँक्नू । यसक्षेत्रमा धेरैले अर्जुनलाई चिन्छन् । उनी नमस्ते नेपालका पर्यावाची हुन् । सारथि हुन् । शंकरनगरको न्यू लाइट स्कूल पढ्दादेखि सामाजिक काममा जोडिए । आफू कक्षा आठमा पढ्दै गर्दा अण्डर सिक्सटीनस् उमेरका साथीहरुसँग मिलेर नृत्य,हाजिरी जवाफ,म्याराथन प्रतियोगिताको संयोजन गरेर सबैलाई चकित बनाए । बिनापैसा त्यत्रो कार्यक्रमको आयोजना गरी सफलतापूर्वक सम्पन्न गर्नु त्यतिबेला चानेचुने कुरै थिएन ।
बाल क्लव चलाए । त्यसको संयोजक भए । न्यू लाइट आवासीय माविबाट २०७१ सालमा दोस्रो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनले सोही कलेजबाट व्यवस्थापनमा कक्षा ११÷१२ उत्तीर्ण गरे । कलेजमा पढ्दै गर्दा साहित्यिक गतिविधिहरुमा पनि संलग्न रहे । नवदीप साहित्यिक स्मारिका प्रकाशन गरे । किशोरवय पुग्दैगर्दा नमस्ते नेपालको सुरुआत् गरे । नमस्ते नेपालमा रहेर सामाजिक कामको निरन्तरता दिए । नमस्ते नेपालको संस्थापक अध्यक्ष हुन् उनी । तिलोत्तमा नगरपालिकाले उत्कृष्ट सामाजिक संस्थाको रुपमा २०७६ सालको पुषमा नमस्ते नेपाललाई सम्मान गरेको थियो ।
यो संस्थामा अहिले करिव तीन सय ५० सदस्यहरु छन् । नैतिकवान,विवेकशील व्यक्तित्व, अबको नेपाल युवाको नेतृत्व नाराका साथ अघि बढिरहेको उक्त संस्थाले अनमोल इभेन्ट,उम्मेदवारहरुकाबीच चुनावी घोषणा,प्रतिवद्धता समीक्षा कार्यक्रम अनि तराइ र पहाडलाई मिलाउने गरी धोती–टोपी साटासाट कार्यक्रमको आयोजनाले अर्जुन र उनको संस्थाको कद बढाएको पाइन्छ । अर्जुनको संस्थामा पैसा छैन तर साथीहरुबीच मेलमिलाप छ । एकता छ । सहयोगी भावना छ । सामुहिक एवम् सामाजिक काम गरौं भन्ने सकारात्मक भावना छ । तराई मधेसमा कहिले निःशुल्क स्वास्थ्य शिविर लिएर पुगेका छन् । कहिले जन्मदिनको अवसरमा वृक्षरोपण कार्यक्रमलाई दीगो बनाउने अभियानमा जुटेका छन् । घरि नेपाल बन्द गर्ने चलनलाई सदाका निम्ति बन्द गरौं भन्ने अभियानमा समय खर्चिएका छन् । कहिलेकाँही आफ्ना साथीहरुको क्षमता अभिवृद्धि गर्ने तालिमको आयोजना गरेका छन् ।
देउसी भैलो कार्यक्रमको आयोजना गरी उठेको दानबाट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् पहाडका विद्यालयहरुमा । प्रथम अधिवेशनको अवसरमा नमस्ते दर्पण मुखपत्र छापेर आफ्ना कामहरुलाई दस्तावेजीकरण गरी प्रचार गरेका छन् । नयाँ र पुराना पुस्तालाई जोड्ने कार्यक्रमको आयोजना गरी पाका पुस्तालाई सम्मान गरेका छन् । नयाँ पुस्तालाई सिर्जनशील बन्न उत्प्रेरित गराएका छन् । अर्जुन खरेलको नागरिकताको नाम नितेश हो । साथीहरुले चिन्ने नाम फेरि अर्जुन हो । गुल्मीको आँपचौरबाट बसाई सरेर आएका थिए रुपन्देहीको शंकरनगरमा उनका बाबाआमाहरु । दुई दाजु र एउटी दिदीका कान्छा भाइ हुन् अर्जुन । उनका बाबाआमा किसानी गर्छन् । दाजुहरु कतारमा काम गर्दैछन् ।
लुम्बिनी वाणिज्य क्याम्पसबाट बिबिएस अन्तिम वर्षको परीक्षामा जुट्दै गरेका अर्जुनको एकमात्र रुची सामाजिक सेवा नै हो । सामाजिक कार्यकर्ता बन्ने उनको रहर बाक्लै छ । राजनीतिमा पनि उनको रुची छ । यहि वर्ष उनी ड्रिम हाइ नामक संस्थाको सहयोगमा नेपाली चलचित्रका सुपरस्टार राजेश हमालसँगै एक साताका लागि दुबई पुगेका थिए । त्यहाँ उनलाई सामाजिक काममा उल्लेखनीय कार्य गरेवापत गुल्मेली सम्पर्क समाजले सम्मान गरेको थियो । त्यो सम्मानले उनलाई हौशला मिलेको रहेछ ।
शंकरनगर गेटनिरै आफैले साइन इन्स्टिच्यूट खोलेर विद्यार्थीलाई कोचिङ्ग,ट्यूसन पढाउने व्यवस्थापन गर्दै आएका छन् । आम्दानीले आफ्नो पढाइ खर्च धानेका रहेछन् । व्यवस्थापनको विद्यार्थी भएकाले सानै उमेरदेखि आफू उद्यमशील बन्दै गएको,पढाइ र पकेट खर्च आफै कमाउनुपर्छ भन्ने भावनाबाट अघि बढेको सुनाउँदै थिए । उनका कतिपय साथीहरु कूलतमा फसिरहेको बेला आफूभने सामाजिक काममा लागेर समाज परिवर्तनको अभियानमा सरिक हुन पाउँदा गौरवान्दित भएको बताए । अर्जुनले नमस्ते नेपालको पहिलो अधिवेशन गरेर साथी मनीषलाई नेतृत्व हस्तानान्तरण गरेका छन् । सबैले नेतृत्व गर्ने पालोमात्र होइन ,सिक्ने अवसरका लागि पनि नेतृत्व पुस्तानान्तरण जरुरी रहेको बताउने अर्जुनले बाल क्लव हुँदै नमस्ते नेपालको शानदार नेतृत्व गरी अब्बल सामाजिक अभियन्ताको रुपमा आफूलाई उभ्याएका छन् ।
समाजका रहेका अनेकौं विकृति,विसंगति र असमानताहरुलाई हटाउँदै,पछाडि पारिएकाहरुलाई राज्यको मूलधारमा समाहित गराउनका निम्ति उनी तल्लीन रहने बाचा गरेका छन् । समाज हाँक्ने सपना साँचेका छन् । पढाइसँगै समाज सेवालाई अघि बढाइ रहेका छन् ।
प्रतिक्रिया