ताजा अपडेट »

बैदारको आलिशान ‘हवेली’ र ५ सय मुरी धान फल्ने खेत

सोमबार, ०१ फागुन २०७९

गुल्मी । पहाडी भेग, त्यसमाथि चारैतिर घनघोर जंगल । जंगलको बीचमा राजधानीका राणाहरुको आधुनिक र आलिशान महलहरुलाई पनि उबेला मात खुवाउने प्राचिन शैलीको एक रज्जागज्जा हवेली । कुनै समय झण्डै तीन दर्जन सदस्यसहितको परिवार अट्ने यो घर अहिले लगभग खाली र शुन्यप्राय छ ।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भाईरल नै बनेको छ उक्त घर । गुल्मीको ईस्मा गाउँपालिमा रहेको यो घर रिजाल परिवारको हो । कलात्मक र आलिशान घरलाई गाउँका मात्र होइन शहरबाट घुम्न आउने तथा विदेशी पर्यटकहरुले समेत तस्बिरमा कैद गर्छन् । यही घरलाई पृष्ठभूमिमा राखेर तस्विर र भिडियो निर्माण गरी फेसबुक तथा टिकटकमा पोष्टाउनेहरुको लहरनै चलेको छ । घरका झ्याल, ढोका, मझेरी लगायत प्रत्येक भागमा प्रयोग गरिएका फरक–फरक शैलीको हस्तकलाले विदेशी प्रर्यटकहरु आश्चार्य पर्ने गर्छन् । त्यो जवानामा सामान्य सिकर्मी र डकर्मीले बनाएको भएपनि यसको इन्जिनीयरिङको काम साच्चै आधुनिक र पोख्त व्यक्तिले तयार गरेको परिकल्पना भन्दा कमजोर छैन ।

वि.स. २०१९ सालमा भक्तपुरबाट सिकर्मी र डकर्मी बोलाएर स्थानीय ईश्वरीप्रसाद रिजालले बनाएका हुन् यो घर । यसअघि वि.स. २००९ सालमा पाल्पाका सिकर्मी र डकर्मीलाई बोलाएर उनैले माथि ईस्मारजस्थलमा रहेको पहिलो घर (बुढोघर) बनाएका थिए । उक्त घर बनाउन २ वर्ष लागेको थियो । पहाडको घर बनाएको ८ वर्षपछि बेसीमा रहेको खेत बारी हेर्न र बस्नका लागि अहिले भाइरल भैहरको घर बनाएको बताउँछन् ईश्वरीप्रसादका नाती (कान्छा छोरा रामचन्द्र रिजालका साईला छोरा) कमलप्रसाद रिजाल ।

घर मात्रै अनौठो छैन । त्यस वरीपरीका संरचना पनि विशिष्ट प्रकारका छन् । आँगन ठूलै खेल मैदान जत्रो छ । जुन आँगनलाई कम्पाउन्डिङ गरिएको छ । घरको सुरक्षा गर्नका लागि उठाइएको त्यहीँ पर्खालमा मानिसहरु बस्ने गर्दछन । घरको कोखमा चिटिक्क परेको उरिम (अन्न बाली भण्डारणका लागि बनाइएको एक प्रकारको घर) छ । त्यसको कोखमा ढिकी जाँतो गर्ने अर्को सानो घर छ । घरदेखि पछाडि ईस्माका आम मानिसहरुको गोठ भन्दा निकै लामो बङ्गला छ । वरिपरी विभिन्न प्रजातिका बनस्पतिको हरियाली । जसरी मानिसलाई सुन्दर देखाउन शृङ्गारले काम गर्छ त्यसैगरी रिजार परिवारको हवेलीलाई सुन्दर देखाउन त्यहाँको हरियालीले काम गरेको छ ।

त्यो समय गोठमा दर्जनौ भैसी पालन गर्दथे ईश्वरी प्रसाद र उनका छोरा रामचन्द्रले । ‘लैना भैसी मात्रै ६/७ वटा हुन्थ्यो, चार हल गोरु पाल्ने गरिन्थ्यो ।–ईश्वरी प्रसादका ६७ वर्षीया बुहारीले बताउछिन् । उनका अनुसार रिजाल खानदान पर्वतको पाङ भन्ने स्थानबाट पाँच पुस्ताअघि आएर यो ठाउँमा बसोबार गरेको हो । यसअघि दाङमा बसोबास गर्न भनि पाङबाट हिँडेका ईश्वरीप्रसादका बुवा बालकृष्ण रिजाल ईस्माको दोहली आएर एक जना अर्याल परिवारको घरमा बास बसे । ती अर्याल परिवारका मुली मान्छेले किन त्यति टाढा (दाङ) जानु हुन्छ ? यतै बसौ भनेर कर गरेपछि गुल्मीमै बस्न थालेको ईतिहास रिजार परिवार बताउँछन् ।

पर्वतबाट गुल्मी बसाई सरी आएका बालकृष्णका दुई छोराहरु थिए । जेठो छोरा केशवदत्त र कान्छो ईश्वरीप्रसाद । इश्वरीका दाजु केशव दत्तका २ भाई छोराहरु छन् भने इश्वरीप्रसादको ६ भाई छोरा र ५ बहिनी छोरीसहित ११ जना सन्तान रहेका छन् । उनका ती एघारै जना सन्तानले उच्च शिक्षा हाँसिल गरे । जेठा लक्ष्मण प्रसाद रिजाल, माईला नारायण प्रसाद रिजाल माथि ईस्मारजथल बस्छन । साईला कमल प्रसाद तल आमासँग बेसी खेतको त्यहीँ हवेलीमा बस्छन ।

क्रमशः अरु भाईहरु बेलप्रसाद रिजाल स्वीजरलाल्याण्डमा छन् । मेघप्रसाद रिजाल पोर्चुगल छन् । अर्जुन रिजाल क्यानडा छन् । जेठी छोरी गिता रिजाल घिमिरे, काईली लक्ष्मी रिजाल बन्जाडे र कान्छि छोरी गिता रिजाल रेग्मी काठमाण्डौ बस्छन् । माईली छोरी कमला रिजाल गैरे क्यानडा, साईली सरु रिजाल दाहल युके बस्छिन । सन्तान त्यति धेरै भएर के गर्नु ? ईश्वरीप्रसाद, रिजालका छोरा छोरी हुर्केर देश प्रदेश छरिएर बस्न थालेदेखि दशैको टिका सबै छोरीलाई एकै साथ लगाउन सकेनन् ।

बैदरसाव अर्थात पञ्चायतकालमा पाल्पा जिल्ला अदालतका बैदार, अनिपछि मुख्य साहव रहेर ईश्वरी प्रसाद रिजाल नेतृत्व गरेका थिए । उनी गाउँको मुखिया भई सक्दा पनि गाउँलेहरु भने उनलाई बैदारसाव नै भनेर पुकार्दथे । त्यो जमानामा ईस्माका रिजालको पर्यावाची नाम थियो ‘बैदारसाब’ । ती बैदरसाब लामो समय तत्कालिन ईस्मा राज्यको अघोषित राजा नै थिए । अर्थात उनलाई इस्माबासीले राजालाई जस्तै मान सम्मान गर्थे । धन सम्पत्तिको कुरै नगरौं । स्वयम् ईश्वरी प्रसाद र उनको परिवारलाई जमिनको साँध सीमाना कहाँदेखि कहाँसम्म हो भन्ने कुनै हेक्का हुँदैनथियो । अन्न उत्पादन असाधरण थियो ।

त्यो जवानामा ‘न्याय नपाए गोरखा जानू’–भने जस्तै गाउँमा ‘अनिकाल परे ईस्माका रिजालकहाँ जानू’–भन्ने उखान चल्थ्यो । ईस्माका बैदार भनेपछि गुल्मी जिल्ला बासीले मात्र होईन देशका अन्य मानिसहरुले पनि उनलाई चिन्दथे । गुल्मी जिल्लाकै ठूला जमिन्दार ईश्वरी प्रसाद रिजाल जागिरे जीवनपछि भने समाज सेवीभन्दा बढि कृषिमा केन्द्रीत भए ।

ईश्वरीप्रसाद हरवखत खेतबारी मै कुटो कोदालो गरेकै अवस्थामा फेला पर्थे भन्ने कुरा त्यहाँका बुढापाकाहरु बताउँछन् । जिज्यु बाजे बलाकृष्ण रिजालपछि १८ अंश लगाउदा पनि रामचन्द्र रिजालका भागमा मात्रै पाँच सय मुरी धान फल्ने खेत परेको थियो । अहिले पनि उनको खेतमा त्यति नै धान फल्ने गरेको ईश्वरीप्रसादका साईला छोरा कमल प्रसाद बताउँछन् ।

ईश्वरीप्रासद रिजाल पञ्चायतकाल भरी नै तत्कालिन ईस्मा गाउँपञ्चायतको प्रधानपञ्च रहे । पञ्चायतको अन्तिम तिर भो अब युवाहरु नेतृत्वमा जानुपर्छ भन्दै उनैले जुद्धबहादुर खड्कालाई प्रधानपञ्च उठाएर जिताउन पनि भूमिका खेले । बहुदलपछि पनि जनताले तत्कालिन ईस्मारजस्थल गाविसको अध्यक्षमा उनै ईश्वरी प्रसादलाई जिताए । नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुँदै महाधिवेशन प्रतिनिधी र सोही पार्टीको जेष्ठ सभा केन्द्रीय सदस्य रहेका ईश्वरीप्रसाद २०४८ को निर्वाचन र २०५६ गरी दुई कार्यकालसम्म ईश्मारजस्लको गाविस अध्यक्ष रहेका थिए ।

गाउँको सबै भन्दा ठूलो जमिन्दार भएर के गर्नु बालकृष्णदेखि अहिलेका नाती पलातीसम्मको जीवन आम गरिव किशान सो सरह छ । धनी गरिव सबैसंगै एकैखाल घुलमेल हिजो बाउ बाजेदेखि अहिलेसम्म छ । सादा जीवन बिताउँदै आएका उनिहरु मध्ये धेरै जसो आम मानिस आवत जावत गर्ने बस र जिप चढेर हिड्छन ।

अधिकांस मानिसहरु गाउँमा विभिन्न ब्यबसाय गरेर वा विदेश गएर गाउँमा त्यस्तै ठूला ठूला घर दलान आँगनलाई सिस्नोघारी बनाएर शहरमा पैसा थुपार्दै उतै बसोबास गर्छन । तर ईस्वरीप्रसाद र उनका छोरा रामचन्द्र भने गाउँ प्रेमी हुँदै बसे । उनका छोराहरुले पनि गाउँको घर खेतबारी छोडेनन् र बेच्न सकेका छैनन् । त्यो हजुर बुवा ईश्वरी प्रसादको ईतिहास भएकोले संरक्षण गर्दै गर्वका साथ बस्ने गरेको तर निकै ठूलो भएका कारण लिपपोत मर्मत सम्भारमा समस्या हुने छोरा कमलप्रसाद बताउछन् ।

उनकी आमा राधा रिजालको २०३० सालमा बिबाह भएको थियो । गुल्मी सहित पश्चिम नेपालमा २०५० को दशकसम्म धेरैजसोले विवाहमा कानमा ढुङ्ग्री, मडवारी, तिलहरी, काँडेफूली झुम्के बुलाकी, कसैले गलामा कण्ठ त कसैले सिर्फूल लगाउने प्रचलन थियो । तर २०३० सालमा विवाह भएकी राधा रिजालले भने गलामा सिक्री र कानमा टप पहिरिएको सुनाउछिन । यसबाट पनि थाह हुन्छ कि २०३० को दशक अघि नै रिजाल परिवार आधुनिक सभ्यताको युगमा प्रवेश गरेका थिए । त्यो जमनामा गाउँमा एसएलसी गर्ने मान्छे बिरलै पाउने बेला डिलाराम र ईश्वरी प्रसादले सिलाङमा उच्च शिक्षा हाँसिल गरेर आएकोले पनि त्यो परिवारका सबै जनाले उच्च शिक्षा हाँसिल गरेर आधुनिक संसार २०३० को दशक अघि नै चुम्दै आएको पाईन्छ ।

राजनैतिक ब्यवस्था गलत हुँदो हो । ब्यक्ति गलत थिएनन् भन्ने उदाहरणका पात्र हुन रिजाल परिवार । धनी देखे शोषक सामन्ती देख्ने नजरहरुले ईश्वरी प्रसाद र उनका छोरा रामचन्द्र रिजालले जस्तै आफ्नै माटोमा पौरख गर्न सके आफू के रहेछु भन्ने कुरा सिक्ने थिए भन्ने अन्य पौरखीहरुको समेत भनाई छ । समग्रमा रिजाल परिवारको त्यो हवेली र पौरख सिङ्गो ईस्माबासीकै शान, पहिचान र ईतिहास हो भन्दा अति सयुक्ती नहोला ।