ताजा अपडेट »

तिलोत्तमामा भोलिदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, तयारी पूरा

आइतबार, २९ माघ २०७९

बुटवल। तिलोत्तमा नगरपालिकाको वडा नम्बर–४ स्थित जनज्योती खेल मैदानमा भोली फागुन १ गतेदेखि हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख गंगाराम आचार्यले जानकारी दिए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मैदान निर्माण लगायत अन्य सम्पूर्ण तयारी पूरा भएको खेलकुद संचालन समितिका सदस्य तथा व्यवस्थापक दिपक खनालले बताए ।

चौथो राष्ट्रपति रनिङ्ग शिल्डको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने भएका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका संयोजक नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यलेले रनिङ्ग शिल्ड प्रतियोगिता विद्यार्थीलाई विद्यालय स्तरबाटै खेलकूदमा रुचि जगाउने र उनीहरूको प्रतिभा पहिचान गराउने भएकोले यसलाई खेल महोत्सवकै रूपमा लिएर उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन् ।

यस प्रतियोगितालाई नगरपालिकाकै गरिमाको रुपमा हेरिएको बताउँदै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सबै विद्यालय, विद्यार्थी तथा अभिवावकहरु र खेलप्रेमीहरुलाई सो प्रतियोगितामा सहभागिता जनाई सहयोग गर्न आग्रह गरे ।

प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयले सहभागीता जनाउनेछन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३० स्वर्ण पदकका लागि चार हजार बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सचिवालय सदस्य एवं कुँवरवर्ती अंग्रेजी माध्यामिक विद्यालयका प्रधानाध्यापक दिपक खनालले बताए ।