ताजा अपडेट »

भावशून्य दृष्टान्त !

आइतबार, २९ माघ २०७९

दृष्टान्त । आधुनिक नाम । उमेरले २०/२२ का होलान् । यतिबेला म उनको गजवको लेख पढिरहेको छु-‘बाघले जब सेल्फी पोज दियो ।’ उनको रहरमध्येको एउटा रहर फोटोग्राफी रहेछ । वाईल्ड लाइफ फोटोग्राफीमा आफ्नो परिचयको दायरा बढाउँदै रहेछन् । वातावरण विज्ञानमा विएस्सी चौथो वर्षमा अध्ययनरत् दृष्टान्तलाई सानैदेखि एनिमल प्लानेट र डिस्कोभरी च्यानलहरुले त्यतैतिर तानेका रहेछन् ।

जंगली जनावर, पंक्षीहरु खिच्ने धुनमा उनले आफूलाई कहिले काँडाको सिकार बनाए । कहिले काँसेघारीहरुमा आफूलाई दौडाए । कहिले झरीमा आफूलाई लुछुप्पै रुझाए । जंगली जनावर र पंक्षीका फोटो खिच्न नपाउँदा धीरताको बाँध टुटाएनन् । बरु निरन्तर गतिशील भइरहे आफ्नै क्यामेरा कर्मसँगै । वाइल्ड लाइफ फोटोग्राफीमा धीरता खाँचो पर्छ सबैभन्दा धेरै । अनि फोटो कम्पोजिसन । क्षणभरमै महत्वपूर्ण अवसरलाई आफ्नो क्यामेरामा बाँध्न सक्नुपर्छ । त्यतिबेला आफ्नो र वन्यजन्तुका सुरक्षामा ध्यान दिनुपर्नेछ । सुन्दर सपना र चुनौतीको संगम हो वाइल्ड लाइफ फोटोग्राफी ।

वातावरणलाई पढाइसँगै व्यवहारिक रुपमा बुझ्दैछन् उनले । अक्षरलाई अभ्याससँग जोडेका छन् वातावरणीय यात्रामा । उनी वातावरणलाई परिभाषामा मात्र सीमित राख्न रुचाउँदैनन् बरु वातावरणलाई बुझ्ने मन, मस्तिष्कलाई फराकिलो बनाउन सबैसँग अनुरोध गर्छन् । यसको अर्थसँगै आफूलाई ढाल्ने प्रयासमा रहेका छन् वाइल्ड लाइफ फोटोग्राफर दृष्टान्त ।

उनले कहिले आफ्ना घर वरिपरिका जीव जनावर र पंक्षीहरुसँग नजिकको साइनो गाँस्न पुग्छन् । घरि बर्दिया र चितवन राष्ट्रिय निकुञ्जहरुमा आफ्ना क्यामेराहरु घुमाउन पुग्छन् । कहिलेभने फुल्चोकी डाँडामा परिवर्तित मौसमसँग आफूलाई बदल्छन् ।

खोज्छन् राम्रा राम्रा फोटो खिच्न तर उनले सोचेजस्तो फोटो कहाँ पाउने हो र सजिलै । घण्टौं, हप्तौं, महिनौं कुरेर आफूले खोजेकोजस्तै फोटो खिच्न पाउँदा उनलाई युद्ध जितेको सैनिकजस्तै लाग्दो हो । दृष्टान्तलाई आफ्नै वातावरण देखेर नै वाइल्ड लाइफ फोटोग्राफर बन्न सघाएको हो ।

बाघका सुन्दर फोटोहरु खिचेर खुसी मनाउँदै गर्दा बिस्तारामा कैयौंपटक आफूलाई उनले नभेटेको कहाँ हो र तैपनि सपनालाई सार्थकतामा बदल्न उनले बर्दिया राष्ट्रिय निकुञ्जमा साँचिक्कै बाघको फोटो ३० मीटरको दूरीबाट खिचेका छन् । सायद बाघले उनकै लागि भनेर होला सेल्फी पोज दिएको पनि । उक्त क्षण, आफूले छोटो समयै खिच्न पाएको बाघको रियल फोटो र सफलताप्रति आफू केही समय भावशून्य भएको वर्णन मकवानपुर राप्ती मनहरि वन कार्यालयले प्रकाशन गरेको वातावरण शिक्षा पुस्तकमा मनै छुने गरी गरेका छन् । सायद उक्त लेखमा आफ्नी साहित्यकार आमा शान्ति प्रियवन्दनाको केही साहित्यिक अंश मिसिएको पनि हुन सक्छ ।

दृष्टान्त बिडारीको वाइल्ड लाइफ फोटोग्राफी पक्कै सजिलो यात्रा होइन । उनले आफूलाई सक्षम र योग्य बनाउन अनि सफलताको शिखर चुम्न ज्यानको बाजी राख्नुपर्ने छ । यो यात्रा मखमली यात्रा होइन । बरु उनको यो यात्रा सुन्दर गुलाव टिप्न खोज्दा गुलावकै काँडाले घोच्ने पीडाजस्तै हो । क्षणभरको घोचाइले दुख्छ,रगत बग्छ अन्तिममा आफ्नो हातमा सुन्दर गुलाव प्राप्त हुनेछ ।
दक्ष वाइल्ड लाइफ फोटोग्राफरको असल दृष्टान्त बन्दैछन् दृष्टान्त ।