ताजा अपडेट »

थुम्काडाँडामा शिल्पी सङ्ग्रहालय निर्माण

आइतबार, २९ माघ २०७९

लमजुङ । लमजुङको पर्यटकीय गाउँशहरस्थित थुम्काडाँडामा जातीय पहिचान सहितको पुरातात्त्विक शिल्पी सङ्ग्रहालय निर्माण गरिएको छ। 

बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले थुम्का डाँडाका दलित समुदायले आफ्नो जातिको पहिचानको लागि संग्रालय निर्माण गरेर दलितको पहिचान संरक्षण पुग्ने बताए।

संग्राहालय ३८ लाख लागतमा  निर्माण भएको हो । पहाडी दलित समुदायको पहिचानको रुपमा निर्माण भएको सो सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयहरूबाट  सहयोग प्राप्त भएको शिल्पी संग्रहालयका अध्यक्ष अजय मजाकोटीले बताए  ।

संग्रहालय निर्माणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशबाट १० लाख, बेसीशहर नगरपालिकाबाट ६ लाख ३३ हजार चार सय ६० रुपैयाँ, सांसद विकासकोषबाट एक लाख ५० हजार रुपैयाँ, तत्कालीन भूसंरक्षण कार्यालयबाट ७५ हजार ६ सय ४५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष मजाकोटीले बताए । उनका  अनुसार स्वदेश तथा विदेशमा रहेका स्थानीयहरूबाट, स्थानीय बाबा तथा आमा समूह, युवा क्लबबाट सङ्ग्रहालय निर्माणका लागि १६ लाख ९६ हजार आठ सय ९५ रुपैयाँ  रकम संकलन भएको थियो ।

पहाडी दलितहरुलाई फोकस गरेर पूर्वजहरुले बनाएका बस्तुहरु संग्राहलयमा राखिएको छ । आगामी दिनहरुमा सङ्ग्रहालयमा दलित जातिमा नाम कमाएका व्यक्तिहरुको इतिहास राख्ने तयारीमा रहेको अध्यक्ष मजाकोटीले बताए ।