ताजा अपडेट »

गाउँ छाडेका नेवार समुदायले भुलेनन् ‘ईष्टदेव’

शुक्रबार, २७ माघ २०७९

गुल्मी । शुक्रबार दिनैभरी गुल्मीको सदरमुकाम तम्घास बजारका गुल्मीको सदरमुकाम तम्घासका अधिकान्स नेवार समुदाय बजारमा देखिएनन् । उनिहरु बिहानै उठेर पुर्ख्यौली घर अर्घाखाँची को छत्रदेव गाउँपालिका ८ को अर्घातोष स्थित स्टदेवको मन्दिरमा पुगेका थिए । नेवार समुदायले भिमसेन देवतालाई आफ्नो समुदायको इष्टदेवका रुपमा पुज्ने गर्छन ।

बिहानैदेखि अर्घातोषको हटिया बजार बेहुली जस्तै सिङ्गारीएको थियो । डेढ दुई वर्षपछि त्यहाँ पुग्नेहरुका लागि अर्घातोषको हटिया चोकको भिमसेन मन्दिरको स्वरुप पनि फेरिएको थियो । निकै पुरानो ब्यापारिक केन्द्र हो अर्घातोष । जहाँ नेवार समुदायको बसोबासले कुनै समयको एउटा गाउँ बजारिकरणले ठूलै शहर जस्तो बनेको थियो । त्यसमाथि ऐतिहासिक पबित्र स्थल छत्रदेव महाराजको कोट जसलाई उल्का देवता भनेर गुल्मी, अर्घाखाँचीसहित छिमेकी जिल्लावासीले मान्ने गर्छन र विशेषत बैशाख पूर्णिमाको दिन त्यहाँ भक्तजनको बढी भिड लाग्छ ।

अर्घतोषलाई शुन्य पारेर पछिल्लो चरण त्यहाँका नेवार समुदाय गुल्मीसहित विभिन्न शहरलाई कर्म थलो बनाएर बसेका छन् । जसका कारण कुनै समय हबेली मानिएका अर्घातोषका घर र ती पसलहरुमा ताला लागेको छ । उनिहरुको घर त थोत्रिदै गएको थियो नै साथमा आफ्नो इष्टदेवको भिमसेन मन्दिर समेत जीर्ण बनेको देखे डेढ वर्षअघि विभिन्न शहरबाट कुनै चाडमा घर आएका नेवार समुदायका अगुवाहरुले ।
अन्ततः आफ्नै समुदायबाट रकम उठाई प्यागोडा शैलीको भिमसेन मन्दिर पूनःनिर्माण गर्ने निर्णय गरे । फलस्वरुप दुई वर्षपछि उक्त मन्दिर बन्यो र उद्घाटन गर्न गुल्मीसहित विभिन्न स्थानका अर्घातोषे नेवारहरु शुक्रवार त्यहाँ पुगेका हुन ।

मन्दिरको अर्घातोषका नेवारहरुका बरिष्ठ समाजसेवी मान बहादुर श्रेष्ठले उद्घाटन गरे । साथमा अर्घाखाँचीका जिल्ला समन्वय प्रमुख जिबनारायण कोइराला, सन्धिखर्क नगरपालिका मेयर कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी मिना अर्याल, विभिन्न पालिकाका जनप्रतिनिधि र सरकारी निकायका प्रमुखहरु पनि त्यहाँ पुगेका थिए ।

दुई सय वर्षअघि पुर्खाहरुले स्थापना गरेको त्यो मन्दिर यसअघि तीन पटक पुनः निर्माण भएको थियो भने यस पटक पनि पुरातात्विक र आधुनिक शैलीमा पुनःर्निर्माण गरिएको समितिका उपाध्यक्ष राजकुमार श्रेष्ठले बताए । मन्दिर निर्माणका गुल्मी तम्घासका मान बहादुर श्रेष्ठ सबैभन्दा बढी ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी रुपन्देहीको भैरहवा बस्ने बालकुमार श्रेष्ठका छोरा धिरेन्द्रले ३ लाख ७५ हजार, तम्घासका मृगेन्द्र श्रेष्ठले २ लाख ७५ हजार सायोग गरेको मन्दिर निर्माण समितिले बताएको छ । शुक्रबार उनीहरुसँगै एकलाखदेखि ३ लाखसम्म सहयोग गरेका अन्य दाताहरुलाई समेत सम्मान गरिएको थियो ।

नेवार समुदायका १२५ जनाबाट ६९ लाख ७० हजार २८० रुपैयाँ संकलन गरि भिमसेन मन्दिरको पुनःनिर्माण गरिएको हो । भवन निर्माणमा जुटेको रकम मध्ये बचेको १ लाख ५४ हजार ८४० रुपैयाँ बैंकमा राखिएको मन्दिर निर्माण समितिका संयोजक हरिकुमार श्रेष्ठले बताए