गतिलो पुस्तक, अभिभावक हो । पुस्तक, अक्षरको थुप्रोमात्र होइन । बरु, यसले इतिहास बताउँछ, वर्तमानको कुरा गर्छ र भविष्यतर्फ उन्मुख गराउँछ । पुस्तक पढेर नै मानिसले उन्नति, प्रगति गरेको छ । पुस्तकबिनाको मानिस,कल्पना गर्न प्रायः असम्भव छ ।
पुस्तकका सहायताबाट मानिसले संसारको इतिहास बुझेको छ, भूगोल जानेको छ । संस्कार, संस्कृति, रीतिरिवाज र सभ्यता बुझ्न सकेको छ । पुस्तकले नै वन, वातावरण र जैविक विविधताका हरेक पक्षहरुलाई केलाउन सम्भव भएको छ । प्रागैतिहासिकता, धर्म, पुरातात्विक एवम् पर्यटनलाई बुझ्न समेत पुस्तक पढनुपर्ने बाध्यता छ ।
असल पुस्तक, मित्र हो । यसले सही दिशावोध गराउँछ । गन्तव्यमा पूराउँछ । पुस्तकको सहाराले कोठामा बसेर नै संसार घुम्न सक्छ मानिस । विश्वका हरेक पक्षलाई बुझ्न सक्छ । हरेक कुराका विश्लेषण गर्न सम्भव छ । पुस्तकले मानिसलाई ज्ञानी बनाउन सिकाउँछ । पुस्तक सहारा हो । समाजले सिकाउने हरकुरा पुस्तकमा भेट्न सकिन्छ ।
सिकाइको मुख्य थलो, स्कूल, कलेजमा पुस्तक पढाइन्छ । पुस्तकले उज्यालो भविष्यको खोजी गराउँछ । जिउने कला सिकाउँछ । आत्मनिर्भर रहने कुरा बताउँछ । प्रसंग स्कूल र कलेजका निम्ति सन्दर्भ सामग्रीका रुपमा आएको वातावरण शिक्षा पुस्तकको नै हो । डिभिजन वन कार्यालय राप्ती, मनहरि मकवानपुरले प्रकाशन गरेको उक्त पुस्तकको सेरोफेरोमा रहेर चर्चा, परिचर्चा गर्ने प्रयास गरेको छु ।
वन कार्यालयको काम नढाँटीभन्दा वनको रेखदेख गर्ने,वनप्रतिको मोह जगाउने र वनलाई जोगाउने नै हो । यही सेरोफेरोमा रहेर डिभिजन वन कार्यालय,राप्तीले प्रकाशन गरेको वातावरण पुस्तक सबैका निम्ति उत्प्रेरणा हुन सक्छ । वनप्रति मोह जगाउनेहरुका लागि प्रेरणाको स्रोत बन्न सक्छ । सबैका हितमा यो पुस्तक प्रयोग हुन सकेमा पुस्तक प्रकाशनको ध्येय पूरा हुन सक्छ ।
पुस्तकमा जलवायू परिर्वतन, वन सम्पदा, जलधार, इको क्लवका कुराहरुमात्र छैनन बरु यहाँ देववृक्ष रोपण अभियानका कुरा, यसको महत्व र भविष्यमा विद्यार्थीले संरक्षणका लागि खेल्नुपर्ने भूमिकालाई समेत उल्लेख गरिएको छ । नेपालमा वन व्यवस्थापनका अवधारणा, नेपालमा सहरी वन,यसको विकासक्रम,प्रभाव र खाँचोलाई वनका विज्ञहरुले मसिनोगरी बयान गरेका छन् ।
सर्पका कुराहरु छन् । मानिस र सर्पबीचका द्वन्द्वका विषयमा आभाष प्रधानले राम्रो तर्क पेश गरेका छन् । चेपाङ,चिउरी र चमेरो शीर्षकको लेख अत्यन्तै ज्ञानवर्द्धक छ । यसमा जातीगत परिचय छ । चिउरीको महत्व र यसको बजारीकरण गर्न सकेमा यसको उत्पादनले उक्त जातिलाई पक्कैपनि आर्थिक उपार्जनमा टेवा दिने कुरा उल्लेख गरिएको छ । चमेराको बारेमा रोचक प्रसंग छ । दिनेश र सुजनको मिहिनेत प्रष्ट देख्न पाइन्छ । चेपाङले आफ्नी छोरीको विहेमा चिउरीको बेर्ना उपहार दिने चलनले मनमा अनेक प्रश्न खेलाउन बाध्य पारेको छ ।
हाम्रा संरक्षित क्षेत्रका बारेमा विष्ष्णुप्रसाद श्रेष्ठको लेखले नेपालमा रहेका संरक्षित क्षेत्रका बारेमा व्यापक बयान गरेको छ । नेपालमा एकसय १८ किसिमका इकोसिस्टम रहेको, त्यसमध्ये संरक्षित क्षेत्रमामात्र ८० किसिमको इकोसिस्टम रहेको ज्ञात हुन आउँछ । साथै उनले संरक्षित क्षेत्रको विशेषता र यसको वर्गीकरण सहज तरिकाले उल्लेख गरेका छन् ।
स्कूल तथा कलेज तहका भाइबहिनीहरुलाई समर्पण गरी लेखिएको उक्त सन्दर्भ सामग्री सबैका निम्ति उत्तिकै काम लाग्दो छ । बरु यी सबै सामग्रीहरु पढिरहँदा सरलताको खाँचो कुनैकुनै लेखहरुमा भेटेको छु । स्कूल वा कलेजमा पढ्ने उमेरका विद्यार्थीले कतिपय प्राविधिक कुराहरु बुझ्न कठीन हुने देखेको छु । त्यसका लागि सम्बन्धित अध्यापकहरुले सहजीकरणमा जोड दिनेनै छन् ।
सालक किसानका चालक रहेछन् भन्ने कुरा बुझ्दा रमाइलो लाग्यो । देशका धेरै कम स्थानहरुमा सालक पाइने रहेछ । यस्तो तथ्याङ्क पुस्तकमा पढ्न सकिन्छ । मकवानपुरलाई सालकको राजधानी बनाउने सपना बुनेका रहेछन् मकवानपुरेले । त्यसमा पनि डिभिजन वन कार्यालय,राप्तीले । प्रमोद घिमिरेले सालकको वर्ग, वर्ण, प्रकार र स्थानीय नामाकरण बारेमा छ्वाक्क पारेका छन् । गतिलो गरी प्रचार प्रसार हुन सकेमा वर्षेनी हजारौंका संख्यामा आन्तरिक एवम् बाह्य पर्यटकहरु सालक हेर्न आउने छन् । त्यसबाट पर्यटन प्रवर्द्धन हुने छ ।
स्थानीयहरुका खाजा पसल, होटल, लज चल्ने छन् । टूर गाइडले काम पाउन सक्नेछन् । आर्थिक बाटो फराकिलो हुन सक्ने भएको हुँदा लेखमा भनेझैं सालकको बारेमा व्यापक चर्चा, परिचर्चा र संरक्षणको खाँचो छ ।तथ्यांकमा वन सम्पदा लेख उत्कृष्ट छ । मेघनाथ काफ्लेको उक्त लेखले वर्तमान नेपालको वनको नालीबेली बताएको छ । भरखर वनका बारेमा चासो दिन खोजेका विद्यार्थी भाइबहिनीलाई यसले मनग्य ज्ञान दिन सक्छ । कमल मादेन सिद्धहस्त पत्रकार हुन् । सुनजस्तै सुनाखरी लेख,यो पुस्तकमा समावेश भइरहँदा पुस्तक सुनजस्तै भएको छ अर्थात् महत्वपूर्ण भएको छ । नेपालमा पाइने सुनाखरी, त्यसमा पनि मकवानपुरका डाँडाकाँडामा पाइने सुनाखरी, यसका कारण प्रकृतिलाई बनाएको सुन्दरता, जैविक प्रभाव,आम्दानीको स्रोत बनाउन सकिने कुरो र यसको व्यापक प्रचार प्रसारमा जोड दिइएको छ ।
कृष्णप्रसाद भुसालको प्राकृतिक सम्पदा संरक्षणका चुनौती शीर्षकको लेखले सम्पदा संरक्षणमा चासो राख्नेहरुलाई नौलो अनुभूति दिन्छ । प्राकृतिक सम्पदा जोगाउँदा नै नेपालको भलो हुने कुरा लेखिएको छ । यसबाट पर्यटन प्रवद्र्धनका निम्ति ठूलो अर्थ रहन सक्ने उनको तर्क छ । नदीनाला,तालतलैयाबाट राज्यले थुप्रो आम्दानी गर्न सकेता पनि संरक्षणका निम्ति न्यून पहल, दुर्भाग्य हो ।
मकवानपुरे शैक्षिक अभियन्ता रुपचन्द्र विष्टका बारेमा विष्णुप्रसाद आचार्य र एकराज उप्रेतीको ओजिलो लेखले पुस्तक वजनदार बनाएको छ । वातावरण शिक्षामा उनको प्रसंग फिट होला र ? शीर्षक हेर्दा मनमा जिज्ञासा थियो । रुपचन्द्र विष्टको वातावरण सम्बन्धी यही पङ्ति म नाथेका लागि काफी भयो ।
चारमाना माटोसँग
तेरो नाता पर्यो भनेर
माटोको भाँडाले तैंसित
दोस्ती सोस्ती गर्यो भनेर
बसिस कैद,गमलामा
सिङ्गै पृथ्वीलाई छोडेर ?
स्वस्थकर विद्यालय वातावरण शीर्षकमा लक्ष्मण घिमिरेको विद्यार्थीलाई गतिला सन्देश छन् । उनले राम्रा तर्क समेत पेश गरेका छन् । तथ्यगत कुराहरु राखेका छन् । शिक्षित हुन स्वस्थ हुनुपर्ने र स्वस्थ भएर नै शिक्षित हुन सकिने कुराले मन छोयो ।
सीमसार क्षेत्रका बारेमा रामदेव चौधरीको लेख अति नै उत्कृष्ट छ । उनले सबैलाई बुझाउने गरी आफ्ना विचारहरु प्रवाह गरेका छन् । मिठास एवम् सरल शैलीमा लेखिएको उक्त लेखले सबैलाई चित्त बुझाउन सक्ने मेरो ठहर छ । नेपालमा सीमसारको क्षेत्र, अवस्था, महत्व, आर्थिक, सामाजिक–सांस्कृतिक सन्दर्भ र संरक्षणका लागि खेल्नुपर्ने भूमिकालाई मिहिन तरिकाले ब्याख्या गरेका छन् ।
मकवानपुरका प्रमुख पर्यटकीय गन्तव्य शीर्षकमा विष्णुप्रसाद आचार्यले त्यहाँका ससाना कुराहरु समेत टपक्क टिपेर लेखेका छन् । आकर्षित गराउने शैलीमा लेखिएको उक्त लेखले मकवानपुरमा आन्तरिक एवम् बाह्य पर्यटकलाई पक्कै पनि खिच्ने छ । यसो हुन सकेमा लेखले सार्थकता पाउन सक्ने छ । मकवानपुरमै जन्मि हुर्किएकै कारणले होला उक्त ठाउँको नालीबेली उनलाई थाहा छ । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टकै गृहबासी भएकै कारण पनि धेरै कुरा थाहा पाउने उनको अधिकार हुन सक्छ । त्यहाँको लोकसंस्कृति,परम्परागत चालचलन, हाइकिङ, ट्रेकिङ र मकवानपुरका गढीकिल्लाका बारेमा यथेष्ट जानकारी लिन सकिन्छ ।
हिउँमा पाँच घण्टा वातावरण पत्रकार मुकेश पोखरेलको संस्मरण र सम्झनामा संरक्षण शिक्षाका संस्मरणकर्ता रोशन शेरचनको सम्झना मनै छुने खालका छन् । रोशनले आफ्ना विगतलाई अक्षरमा सुन्दर तरिकाले कोरेका छन् । गाउँगाउँमा आफ्नो संस्थाले संरक्षणका लागि सञ्चालन गरेको अभियानलाई दुरुस्त पस्किएका छन् । गाउँलेका सम्मानलाई सम्झिएका छन् । उतिबेलाका कुरालाई यतिबेला दाँजेका छन् । उहिलेका कुरा खुइले भन्थे । होइन रहेछ । इतिहासले वर्तमानमा बाँच्न सिकाउँदो रहेछ र भविष्यतर्फ आशावादी गराउँदो रहेछ । रोशनको संस्मरण पढेपछि आफूले गरेका कामहरुलाई दस्तावेजीकरण गर्नु पर्दोरहेछ भन्ने सन्देश पाउन सकिन्छ ।
सुन्दर र गगनको डढेलो शीर्षकको लेखले नेपालका वनमा किन डढेलो सल्किन्छ सहजै अनुमान लगाउन सकिन्छ । डढेलोले वनको विनासमात्र गर्दैन मानवीय, भौतिक क्षतिको एकीन गर्न गारो हुने कुरा बुझ्न सकिन्छ । वनको डढेलो नियन्त्रण गर्न त पहिला मनकै डढेलो निभाउनु पर्छ ।
रामदेवी महर्जनको सिर्जनशीलताका लागि हाइकिङ लेख सान्दर्भिक छ । प्रकृतिबाट यथेष्ट सिक्न सकिने उनको तर्क छ । प्रकृतिले नै मानवतालाई सिर्जनशील बनाउन सक्ने उनको निचोड लेखमा भेटिन्छ । विष्णु र शिवले मकवानपुरको वनको अवस्था बारेमा लेखेका छन् । दिनानाथ गौतमले मकवानपुरको शैक्षिक झल्को प्रस्तुत गरेका छन् । बाघले जब सेल्फी पोज दियो शीर्षकको लेख अत्यन्तै राम्रो छ । जुन लेखमा दृष्टान्त विडारीले आफूले खिचेका सुन्दर फोटो प्रस्तुत गरेका छन् । संगीता लामाले विश्व वातावरण दिवसका बारेमा अंगेजी लेख लेखेकी छन् । दिव्या न्यौपाने, बुद्धिबल श्रेष्ठ, स्वस्ति पौडेल, डा.ऋषि बस्ताकोटी र हरिप्रसाद अधिकारीका कविताहरु समेत पुस्तकमा समावेश छन् ।
मानवी आचार्यले वातावरण संरक्षणका लागि मनाइने विभिन्न दिवसहरुका महिना र गते टिपोट संकलन गरेकी छिन् । राम्रो कामका लागि धन्यवाद् दिन सकिन्छ । मकवानपुरका जडीबुटी रघुराम पराजुलीको संग्रहणीय लेख हो । डाक्टर हेमसागर बरालले विद्यालयमा चरा अभ्यास नामक गतिलो लेख लेखेका छन् । विद्यार्थीलाई उक्त लेखले पक्कै आफूतिर तान्ने छ । चराका बारेमा उनीहरुले थुप्रै कुराहरु सिक्ने छन् । भू तथा जल संरक्षणका बारेमा डाक्टर जगन्नाथ जोशीले आफ्ना तर्क पेश गरेका छन् । सम्भावनाका खानी युवा लेखमा युवाहरुले परिवार,पाठशाला र परिवेशको मूल्यांकन गर्नुपर्नेमा जोड दिइएको छ ।
पुस्तक रङ्गीन कलेवरमा प्रकाशन भएको छ । मकवानपुरका सबै विद्यालय र कलेजमा पठाइएको छ । सम्भवत पठाइएका सबै शैक्षिक संस्थाहरुले यो वातावरण शिक्षा नामक पुस्तकलाई सन्दर्भ सामग्री वा स्रोत पुुस्तकका रुपमा प्रयोग गरिरहेका छन् वा गर्नेछन् । यसबाट धेरै विद्यार्थी र वनसँग सरोकार राख्नेहरु लाभावन्दित हुने छन् ।
पुस्तकमा डिभिजन वन कार्यालय, राप्ती, मनहरि–मकवानपुरका प्रमुख विष्णुप्रसाद आचार्य प्रधान सम्पादकका रुपमा रहेका छन् । शम्भु,गगन र निश्चिल सम्पादन मण्डलमा छन् । पुस्तक अत्यन्तै मिहिनेत गरी प्रकाशन गरिएको पढेपछि थाहा हुन्छ तर कहिकतै वर्णविन्यासका कारण हल्का समस्या देखिन्छ । हुन त सम्पादकहरु सबै वन विज्ञानका विद्यार्थी भएर पनि प्राविधिक कठिनाइ हुन सक्छ । आगामी अंकमा सुध्रिने छ । एउटै ब्यक्तिका धेरै लेख एउटै पुस्तकमा नराख्दा जाती हुने थियो । बरु अर्को भाग प्रकाशन गर्दा ती लेखहरु समावेश गर्दा उत्तम हुने थियो ।
पुस्तक पठनीय छ । संग्रहणीय छ । मिहिनेती उर्जाशील सम्पादन टीमलाई बधाइ छ । लेखकहरुप्रति कृतज्ञ हुन मन लाग्यो । प्रकाशकप्रति नतमस्तक छु । पुस्तकको चर्चा देशभरि चलिरहेकै छ । थप परिमार्जनसहित आगामी अंकहरु पढ्न पाइयोस् । शुभेच्छा ।
प्रतिक्रिया