ताजा अपडेट »

आफ्नो देशका लागि काम गरौं : 'त्यो नेपाल' बुक पढेपछिको अनुभूति

सोमबार, २३ माघ २०७९

काठमाडौं जाने तयारीमा साथीहरुलाई बुटवलको हिमालय बुक हाउसमा पर्खिबसेको थिएँ । सञ्चालक माधव गौतमले यतिबेला चर्चाको शिखरमा रहेको ‘त्यो नेपाल’ बुक छ नि भनेर मलाई देखाए । हुन त त्यो बुक मैले प्रिय मित्र माधवकुमार पौडेलबाट पहिलेनै हात पारिसकेको थिएँ । पढ्नमात्र बाँकी थियो । काठमाडौंबाट फर्केर आएपछि समय मिलाइमिलाई करिव एक महिनाको अन्तरालमा पढें ।

‘वनको वैभव’ बुकका लेखक र ‘त्यो नेपाल’ बुकका लेखक एउटै ब्यक्ति ददि नै रहेछन् । ददि यतिबेला फ्रान्समा बस्दा रहेछन् । पत्रकारिता उनको रुची र कलाको विषय रहेछ । बुक लेखन उनको निरन्तरताको अभ्यास रहेछ ।

त्यो नेपाल बुक पढिरहँदा मनमा अनेक कुराहरु खेले । आफ्नै देश नेपाल आफैले चिन्न नसकेकोमा पीडाबोध भयो । हिमाल, पहाड र तराईका भाषा, संस्कृति, रहनसहन, व्यवहारका कुराहरुले नेपालीको एकता र मित्रतालाई नजिकबाट चिन्ने फ्रान्सेलीहरुको अनुभव र अनुभूतिको संगालो नै यो बुक हो भन्ने मैले ठहर गरें । फ्रान्सेलीहरुले नेपालमा आएर गरेका अध्ययन, अवलोकन खोजअनुसन्धानबाट आएको परिणामलाई धेरैले आफ्ना पुस्तकमा उतारेका रहेछन् । कतिपयले नेपालका विविध विषयमा विद्यावारिधि गरेका रहेछन् । यो कुरा सो बुकमा पढिरहँदा नेपालप्रतिको फ्रान्सेली मोह अविस्मरणीय र उल्लेखनीय लाग्यो ।

बुकमा ददिले आफ्ना कुराहरुभन्दा पनि नेपाल आएर फर्किएका फ्रान्सेलीहरुको गहन तथा रोमाञ्चक कुरा, तीतामीठा अनुभवलाई जस्ताकै तस्तै पस्किएका छन् । त्यो उनको लेखन खुवी हो । हामी नेपालीहरु तत्कालीन राजदवारका बारेमा सायदै जान्दछौं धेरैकुरा तर त्यो नेपाल बुक पढेपछि धेरै कुरा नजिकबाट बुझ्ने अवसर मिल्नेछ । हिमालका कुरा, कृषि र पर्यटनका कुराले मलाई धेरै नै आकर्षित गरिरह्यो । अझै कतिपय अनुसन्धानकर्ता मेरै पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ६ को कोलाङमा आएर कृषिसम्बन्धी अनुसन्धान गरेको, यहाँ गरिने खेतीपातीका कुरा, बारीका पाखामा लगाइने डाले घाँसका कुरा पढ्न पाउँदा हाम्रा गाउँहरु आँखामा झलझली नाचिरहे ।

एरिक भालीको डोल्पा यात्रा, क्याराभान फिल्म ओस्कारमा छनौट भएको गतिला कुरा सुन्न पाउँदा मनै हररर भए । थिन्ले, जो नायक थिए फिल्मका, उनका बारेमा अनौठा कुराहरु डब्लूडब्लूएफका गौतम पौड्यालबाट धेरै पहिले नै थाहा पाएको थिएँ । ददिको बुकले सत्य प्रमाणित गर्यो । हिमाली र पहाडी क्षेत्रबाट हुँदै गरेको बसाइसराइँ, भारतलगायत तेस्रो मुलुकमा जाने नेपालीहरुको दुखान्त कथाहरुले मनै अमिलो बनाउने कहाली लाग्दो कथा यसै बुकमा भेटिन्छन् । सुदूरपश्चिमका नेपालीहरु भारतका देहरादून, मन्सुरी, कालापहाड जाने चलन र त्यहाँ बस्दा, खाँदा पाएका हजार हण्डरहरु अक्षरमा दुरुस्तै भेटिन्छन् । साहुका हेपाई र पिटाइ खेपाई पढ्दा नि आङ् जिरिङ्ग हुन्छ । ती अक्षरहरु हाम्रै अभावका परिणाम हुन् भन्ने ठानें ।

नेपालमा चलेको १० वर्षे द्वन्द्व र त्यसले पारेको असरका बारेमा प्रशस्तै पढ्न पाइन्छन् बुकमा । तत्कालीन माओवादीहरुको चन्दा आतंक, त्यसले नेपाली मात्र होइन, विदेशी सहयोगी दातृराष्ट्र र नियोगहरुलाई परेको असर विस्तृतरुपमा भेटिन्छन् । माक्र्सवादी सिद्धान्त मान्ने तर माक्र्सवादको पालना गर्न नजान्ने भनेर कमेन्ट गरेको फ्रान्सेलीहरु समेत भेटिए ।

मोरिस हर्जोगको स्टोरी पढेपछि तरक्क आँसु आयो । उनले अन्नपूर्ण हिमाल चढ्दा दुबै खुट्टाका घुँडामूनिको भाग र दुबै हातका औंलाहरु हिउँका कारण गुमाउनु परेको अनि तत्कालीन शासक मोहन सम्सेरबाट सम्मानित हुन पाएको र उनले दिएको सम्मानबाट आफू थप प्रेरित भएको, आफ्नो देश फर्किएपछि १७ वर्षसम्म सांसद भएको, आठ वर्ष मन्त्री भएको, आफनै नगरपालिकाको मेयर समेत भएको कुराले मलाई भने हौशला थप्यो । उनको देशमा पर्वतारोहीहरुलाई कति सम्मान गर्दारहेछन् भनेर थाहा पाउन यो स्टोरी नै काफी छ । शरीरका अंगहरु गुमेपनि मोरिसको विवेक र शाहस गुमेको थिएन भन्ने कुरा बुकमा पढ्न पाइन्छ । हाम्रो देशमा भए ?

हिमालहरुको देश नेपाल तर हामीलाई हिमालले के दियो ? हिमाल हामीलाई वरदान कि अभिसाप ? गणेश हिमाल नजिकै देखेर दंग परेको बेला मैले आहा मेरो हिमाल भनेर खुसी ब्यक्त गरिरहँदा छेउको बारीमा काम गर्दै गरेकी एकजना महिलाले भनेकी थिइन्–तिमीहरु एकदिन आउनेलाई राम्रो लाग्छ हिमाल ! यहीं बसिरहने हो भने थाहा हुन्थ्यो हिमाल बारे । यो बुक पढेर अलिकति त बुझें तर धीतमरुञ्जेल बुझ्ने रहर अझै मरेको छैन ।

ब्रिजिट स्टेटम्यानले तामाङ गाउँमा गएर ग्रामीण बस्तीको अर्थसम्बन्धी खोजअनुसन्धान गरेकी थिइन् । उनीहरुसँगका बसाइ, खुवाई, भाषा सिकाईले अर्थतन्त्र होइन संस्कृति र सभ्यतातर्फ पो उनलाई उन्मुख बनायो । पछि उनले मानवशास्त्रमा तामाङ गाउँको कृषि प्रणाली र आर्थिक संरचनालाई मूल विषय बनाइन् ।

ददिले फ्रान्समा के गर्छन् थाहा छैन तर उनले त्यहाँ बसिरहँदा नेपाललाई काम लाग्ने पुस्तक लेखेका छन् । त्यसका निम्ति धन्यवादका पात्र हुन् । फ्रान्सेलीहरुसँग धेरै समय लगाएर उनले गरेको अन्तर्वार्ताबाट निस्किएको यो बुकले नेपालीहरुलाई आफ्नै नेपाल चिनाउने छ । नेपालीका दुःखका कथा छन् । त्यसबाट पार पाउन सकिने उपायहरु बुकमा भेटिन्छन् । तर यो बुक कति नेपालीहरुले पढ्लान् ? कतिले पढेर बुझ्लान् ? प्रश्न यही छ ।

बुकमा तत्कालीन राजा बीरेन्द्रका बारेमा लेखिएका रमाइला कुराहरु छन् । राणाकालीन कुराहरु छन् । काठमाडौंमा मोटर आएको कुराले मनै दङ्ग पार्छ । गाउँगाउँ पुगेका फ्रान्सेलीहरु, उनीहरुले स्थानीयहरुसँग कायम गरेका सम्बन्ध, सिकेका भाषा, संस्कृति, संस्कार र व्यवहार अनि नेपालप्रति उनीहरुको सकारात्मक दृष्टिकोण एवम् सहयोगले हामी प्रफुल्लित नै हुनुपर्ने सन्देश बुकमा छ ।

फ्रान्समा रहेर आफ्नो देशका लागि केही काम गरौं भन्ने पवित्र मनसायले ददि यो बुकबाट हामीमाँझ आइपुगेका छन् । उनको मिहिनेत, लगानी, श्रम र समयप्रतिको लगावले यो बुक हामी बीच आइपुगेको छ । यो बुकबाट उनले अर्थोपार्जन त के गर्लान् र ? तैपनि नेपाल र नेपालीका निम्ति उनको अक्षरको उपहार सदाका निम्ति स्मरणीय रहने ठानेको छु ।

बुकमा उल्लेख भएका सबै कुराहरु लेख्न सम्भव रहेन । मन छुने हजार शब्दहरु छन् । कतैकतै पढ्दा त खित्का छाडेर हाँस्न मल लाग्छ, कुनै वाक्य पढ्दापढ्दै आँसु चुहिन्छन् । भाषा सरल छ । मन छुने लेखाइ छ । बरु उनले ती नेपाल आएका फ्रान्सेलीहरुसँग त्यस्ता अमूल्य कुराहरु लिन कसरी सके होलान् ? भाषा, समय, भूगोलले फरक पार्यो होला नि ? पैसा कमाउन फ्रान्स फड्को मारेका ददि सापकोटालाई यो बुकले सन्तोष देला कि नाइँ ? आफ्नो मिहिनेतप्रति मोह छ कि नाइँ ? नेपालीलाई पठाइ दिएको अक्षरोपहारप्रति गर्व होला कि नाइँ ? मैले भने यो बुक पढेपछि यीनै अक्षरका माध्यमबाट सम्मान प्रकट गरेको छु ।