ताजा अपडेट »

दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ

सोमबार, १६ माघ २०७९
2 Shares

दाङ । तुलसीपुर कारागारका एक कैदी माथि जबरजस्ती करणी भएको छ । गत  कात्तिक १७ गते तुलसीपुर स्थित कारागारमा तुलसीपुर उपमहानगरपालिका ६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले  ती कैदीमाथि  जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पर्वत बहादुर केसीका अनुसार गत कार्तिक १७ गते दिउँसो  करिब सवा २ बजेतिर घटना भएको हो । घटना घटेको दिन नै पीडितले इप्रका तुलसीपुरमा  कारागार प्रशासनको भवन भित्रको भान्सा घरमा  जबरजस्ती करणी गरेको भनी जाहेरी दर्ता गरेको र त्यही अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेर कात्तिक २८ गते सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा पेश गरेको उनले बताए ।

अदालतको प्रक्रियामा रहेको हुँदा विचाराधिन रहेको र उनीहरु दुबै तुलसीपुर कारागारमा कैदी भुक्तानी गर्दै आएका ब्यक्तिहरू रहेको उनले बताए । उनले भने-‘खुमबहादुर यसअघि पनि जबरजस्ती करणीमा कैद भुक्तान गर्दै आएका छन् । पीडित भने ठगी मुद्दामा कैद भुक्तानी गर्दै आएकी छन् ।’

पुनः कारागार भित्र कैदीलाई जबरजस्ती करणी गरेको घटनापछि  ७ देखि १० वर्षसम्म कैद सजाए हुन सक्ने बताइएको छ ।  यस्तै, गत पुस १६ गते आरोपित, पीडित लगायत साक्षीहरूको बकपत्र भइसकेको पनि उनको भनाइ छ । अहिले पीडित तुलसीपुर कारागारमा रहेको र  पीडकलाई घोराही कारागारमा स्थानान्तरण गरिएको पहरीले बताएको छ ।

प्रहरीका अनुसार पीडित महिला कैदीबन्दीको तर्फबाट कारागारमा चौकीदारको रुपमा थिइन्, भने पीडक पनि पुरुष कैदीबन्दीको तर्फबाट चौकीदार रहेका थिए । 'दुबै जना चौकीदार हुँदा कारागारभित्र कामकाज गर्नको लागि बाहिरभित्र गर्न सहज हुन्छ । पीडितले भान्सामा पानी तताउन लागेको अवस्थामा पीडक भान्सामा पसेर ढोकाको चुकुल लगाएर मुख थुनेर  जबरजस्ती करणी गरेको भन्ने जाहेरीमा उल्लेख छ ।’-प्रहरीले भन्यो । आरोपी चौधरीले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टी भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।