पुस १७,
ग्लोबल आवाज
बुटवल । बुुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठले पुरानो बटौलीलाई उजागर गर्न पुरातत्व विभाग र सरकारको महत्वपूर्ण भुमिका रहने बताएका छन् । उनले बटौलीलाई पर्यटकको गन्तव्य बनाउन हातमा हात मिलाएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले देवीनगरमा सञ्चालन गरेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल- २०७६’ को सन्दर्भमा बिहीबार आयोजना गरिएको ‘नयाँ सम्भावनाको पखाईमा बटौली’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठले बटौलीको विकासको लागि आफ्नो ठाँउबाट आफै लाग्नुपर्ने बताए । ‘आफ्नो विकासको लागि आफै जुर्मुराउने हो, अर्काको भरमा नपरौं’, उनले भने । कार्यक्रममा बोल्दै पूर्व सांसद विनोद पहाडीले पुरानो बटौलीलाई उजागर गर्न मार्ग चित्र बनाएर अगाडी बढ्नुपर्ने बताएका छन् । उनले बटौलीको आर्कषण पहिचान गरी अगाडी बढ्न जोड दिए । बटौली घिउको आर्कषणको केन्द्र भएको बताउँदै किसानलाई घिउ उत्पादनमा प्रोत्साहित गर्न स्थानिय तहले जोड दिर्नुपर्ने बताए ।
बुटवलको पारी बजार भनेर चिनिने बटौलीलाई बुटवल उपमहानगरले सम्पदा बस्तीको रुपमा लिएको वडा नं. १ का वडाध्यक्ष महेन्द्र प्रसाद लिगलले बताए । उनले बटौलीलाई आर्कषण बताउन जलमार्र्ग, पैदल मार्ग, प्राविधिक शिक्षाको रुपमा छिटै विकास गर्न लागिएको बताए । उनले बुटवल माध्यमिक विद्यालयमा अमिन शिक्षा पठनपठान गराउन लागिएको जानकारी दिए । उनले पारी बुटवलमा फ्री वाईफाई जोनको व्यवस्था गरीएको बताँउदै छिटै नै जीम हाउस बन्ने जानकारी दिए । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष रमेश नेपालले बटौलीलाई उजागर गर्न जनसहभागिता प्रमुख भुमिका रहने बताए । कुरा मिठा गर्ने तर काम नगर्ने प्रवृत्ति बढेको भन्दै विकास निर्माणमा स्थानियको साथ सहयोगको आवश्यक रहने बताए । उनले गरिरहेका कामको अवलोकन गरी सुझाव सल्लाह दिन आग्रह गरे ।
बटौलीले नेवार समुदायकोे झल्को दिने भएकोले नेवारको संस्कृति झल्कने गरी होम स्टेजहरु सञ्चालन गरी पर्यटकको आर्कषण बढाउन सकिने स्थानियको भनाई छ । विकासको गर्छु भन्दै भोट माग्ने तर चुनाव जितेपछि जनप्रतिनिधिले बोली फेर्ने गरेकोले देखेको सपना अधुरा नै रहेने स्थानियले गुनासो गरेका छन् ।
प्रतिक्रिया