गुल्मी । गुल्मीमा आइतबार बिहान आफ्नै होटलमा मृत फेला परेकी महिलाको घटना अनुसन्धानका लागि भैरहवाबाट लगिएको तालिमप्राप्त कुकुरबाट काम सुरु भएको छ । गुल्मी मुसिकोट नगरपालिका–७ न्वाराकी ५७ वर्षीया गँगादेवी शेरचन आफ्नै होटलमा मृत अवस्थामा फेला परेकी हुन् ।
हात–खुट्टा सेलो टेपले बाँधेर घोप्टो अवस्थमा रहेकको गँगादेवीको मुखमा समेत टेपले बाँधिएको हुन सक्ने प्रहरीले जनाएको छ । अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले आइतबार दिनभरी तालिम प्राप्त कुकुरको पर्खाइमा शवलाई नछोएर नै राखेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले ग्लोबल आवाजलाई बताए । तालिमप्राप्त कुकुर पुगेपछि शिल गरेर राखिएको घटना स्थलबाट अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । आइतबार साँझदेखि अनुसन्धान अघि बढेको हो । घटना स्थलमा पुगेको कुकुरले गन्ध पच्छ्याउँदै वामिटक्सातर्फ लागेको प्रहरीले जनाएको छ ।
‘ठेकेदार’ भनिने अपरिचित व्यक्तिप्रति स्थानीयको आशंका
गँगादेवीको हत्यासँग एक अपरिचित ‘ठेकेदार’ भनिएका व्यक्तितर्फ स्थानीयले आशंका गरेका छन् । ती व्यक्तिसँगै अन्य दुई जना मिलेर हत्याको योजना बनाएको आशंका रहेको स्थानीयले प्रहरी समक्ष बताएका छन् ।
दरमखोला पारी बाग्लुङ्गको हाँडी खोला बजारमा घर र वारि गुल्मीतर्फ पुलको मुख नजिकै विगत ३० वर्षदेखि होटेल गर्दै आएकी गँगादेवीको हात खुट्टा सेलो टेपले बाधेर मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलको होटल अगाडि सडकमाथि एउटा ठूलै पक्की घर छ, कोखैमा अर्को र होटलभन्दा बायाँ तर्फ बाटोमाथि अर्को टिनले छाएको कच्ची घर छ । होटल अगाडि गुल्मी मुसिकोट नगरपालिकाबाट बाग्लुङ्गको हाँडी खोला हुँदै मध्ये पहाडी लोक मार्ग जोड्ने सडक छ । ब्यस्त सडक भएपनि अधिकांश समय उक्त स्थान एकान्त नै रहने स्थानीयहरु बताउँछन् ।
होटेलको ठिक अगाडि घरमा डेरा गरेकी स्थानीयबासी जोइकला कुमालसँग शनिबार दिउसो मृतक गँगादेवीले केही कुरा गरेकी थिइन् । मृतक गँगादेवीलाई उदृढ गर्दै उनले भनिन्– ‘हिजो दिउँसो ११÷१२ बजेको समयमा आफूलाई ठेकेदार भएको बताउने एक पुरुष आएका थिए । ति पुरुषले होटलमा दुई वटा अण्डा राखेर नास्ता बनाउन लगाई हतार÷हतार त्यहाँबाट आएर निस्किए । ती पुरुषसँगै आएका कामदार भनिने व्यक्तिहरुलाई भने उनले नास्ता खान दिएनन् । ती पुरुषसँग अन्य दुई जना पुरुष पनि थिए । उक्त व्यक्तिहरु सोही दिन साझसम्म त्यही बसेको र भात पकाउन लगाएका थिए ।’ त्यसपछिको घटना बारे आफूलाई जानकारी नभएको स्थानीय जोइकलाले बताइन् । शनिबारको उक्त घटना क्रमलाई समेत आधार मानि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटना स्थलबाट करिव दुई तीन किलो मिटर नजिक गुल्मीतर्फ वामिटक्सार प्रहरी चौकी छ भने बाग्लुङतर्फ खर्बाङ्ग प्रहरी चौकी छ । प्रहरी चौकीबाट नजिकैकै स्थान भए पनि नियमित गस्ति तथा प्रहरी गतिविधि नहुँदा घटना घटेको स्थानीय बिमल भण्डारीले गुनासो गरे ।
शनिबार साझ मात्रै मृतक गँगादेवीका दाजु सुनिल शेरचन होटल नजिकै आएर पनि भेट नगरी घरतर्फ लागेका थिए । शनिबारको घटना सुनाउँदे उनका दाजु सुनिलले भने ‘म वामिटक्सार बजार हुँदै बहिनिको होटल अगाडि छुस्स हेरेरमात्र अगाडि घरमा आएका् थिए । बाइकमा थिए । यस्सो रोकेर बहिनीलाई बोलाउ कि भने । चेन गेटमा पर्दा लगाएको थियो । भित्र धेरै मान्छे भएजस्तो गनगन सुने । भैगो भनेर म पसिन, हिँडे । अहिले पछुतो लागेको छ ।’
घटना सुनियोजित भएको र अपराधी धेरै टाढाको हुन नसक्ने दाबी गर्दै उनले यसअघि उक्त स्थानमा यस्तै प्रकृतिमा दुई जनाको हत्या भएको स्मरण गराए । गँगादेवी व्यावसायि मात्र नभई त्यस क्षेत्रको सामाजिक व्यक्ति समेत भएको दाजु सुनिलले बताए । गँगादेवीको मृत्युसँगै वारि गुल्मी र पारी बाग्लुङ्गका स्थानीय शोकमा डुबेका छन् । सधै हसिलो अनुहार लिएर सामाजिक क्रियाकलापमा समेत सक्रिय गँगादेवीको हत्याले आफूहरु आश्चार्यमा परेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया