पुस १७,
ग्लोबल आवाज
बुटवल । नेपाल टेलिभिजनको प्रस्तुती र कि एडभरटाजिङ्गको व्यवस्थापनमा हुन लागेको गायन प्रतियोगिता ‘नेपाल स्टार’ को पहिलो अडिशन बुटवलमा हुने भएको छ । हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारासहित सुरु हुन गइरहेको ‘वाईवाई नेपाल स्टार’ को पहिलो अडिशन पुस १९ गते शनिबार बुटवल स्थित कालिका मानवज्ञान माविको प्राङ्गणमा हुनेछ ।
१६ देखि ४५ वर्ष उमेर समूहका जो कोहीले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको अडिशनका लागि फारम, उमेर खुल्ने परिचयपत्र सहित दुई ओटा फोटो आवश्यक पर्नेछ । फारम अनलाइनमार्फत पनि भर्न सकिने वा अडिशन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको प्रतियोगिताको व्यवस्थापक संसथा कि एडभरटाइजिङका बजार निर्देशक दिनेश पोखरेलले जानकारी गराए । देशैभरीबाट गायन प्रतिभाहरुको पहिचान गरि प्रतियोगिताबाट उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको कि एडभरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजाल (शशी) ले बताए ।
करिब ६ महिनासम्म चल्ने प्रतियोगिता कुनै बिदेशी फ्रेन्चाईज नभई नितान्त नेपालकै आफ्नो मौलिक ब्राण्ड भएको समेत उनले बताए । प्रतियोगिताको अडिशन क्रमशः बुटवल, धनगढी, सुर्खेत, पोखरा, चितवन, वर्दिवास र इटहरीमा हुनेछ । प्रतियोगितामा गायक कलाकार रामकृष्ण ढकाल, आलोकश्री तथा अञ्जु पन्त निर्णायकको भूमिकामा रहनेछन् । नगद ५० लाख सहित विभिन्न अवसर तथा गिफ्ट ह्याम्पर पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु.३० लाख प्राप्त गर्नेछन भने अन्य तीन जनाले नगद ७–७ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सञ्चालन सन्जोक बस्याल र निशा पाठकले गर्नेछन् ।
प्रतिक्रिया