पुस १६,
बिन्दु भट्टराई/ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा स्थित कुुञ्जपार्क सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षमा पर्यटक तान्न सक्ने धेरै सम्भावना बोकेको पर्यटकीय स्थल हो । तिलोत्तमाको मंगलापुर चोकदेखि करिब डेढ किलोमिटर पश्चिम कुञ्जलापुरमा रहेको कुञ्जपार्क धार्मिकस्थलको रुपमा विकसित हुनुका साथै पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको हो ।
कुञ्जपार्कको गेटबाट छिर्दा उत्तरतर्फ करिब साढे ४ सय वर्ष अगाडिदेखि नै त्यहाँका थारुजातीले भगवानको रुपमा मान्ने सोमई माईको थान,हिन्दु धर्मावलम्बीहरुका लागि दुर्गाको मन्दिर र करिब ५०० वर्षदेखिका राना कर्माका रुखहरु छन् । यस हिसाबले पनि यो स्थान विशेष भएको कुञ्जपार्क व्यवस्थापन समितिका कोषाध्यक्ष धनेन्द्र पौडेलको भनाई छ । ‘ऐतिहासिक महत्व बोकेको यो पार्कलाई ब्यवस्थित गर्नुपर्छ भन्ने धेरै अगाडिबाट नै लागेको हो । तर, विभिन्न कारणले सफल हुन सकेको थिएन पौडेलले भने । विगत २ वर्षयता यो स्थलमा पिकनिक खान र घुम्न आउनेको संख्यामा वृद्धि भएको पार्क सञ्चालकको भनाई छ । ४ विघा क्षेत्रफलमा फैलिएको यो पार्कको बिचमा १८ कठ्ठामा तलाउ छ । तलाउमा २ वटा डुङ्गा छन् ।
पार्कमा घुम्न जानेहरु सोहि डुङ्गामा शयर गर्दै रमाउँछन् । तलाउमा रङ्गिन माछा पनि रहेको पौडेलले बताए । पार्कमा जानेहरुलाई सस्तो मूूल्यमा माछा दिइँदै आएपनि ब्यवसायिक माछापालन भने नभएको उनले सुनाए । ‘लुम्बिनी भ्रमणमा आएका पर्यटकलाई रमणीय ठाउँको अवलोकनका लागि कुन्जपार्क पनि उपयुक्त स्थान बन्न सक्छ ।’पौडेलले भने । ‘पार्कवरीपरी विभिन्न जातका प्राचिन बोटविरुवा,सफा हरियाली जमिनसँगै सुन्दरता भरिएको ठाउँ रहेछ, नाम त सुनेकी थिएँ,तर पहिलोपटक आएँ निकैनै रमणीय लाग्यो”– शनिवार पिकनिक खान आएकी बिना सुवेदीले सुनाइन्। गतवर्ष दश हजार आन्तरिक पर्यटकले कुञ्जपार्कको अवलोकन गरेको र यो वर्ष गतवर्ष भन्दा दोब्बरले अवलोकन गर्ने अनुमान गरेको पौडेल बताउँछन् ।
उनले पर्यटकको संख्या बृद्धि भएसँगै ४ बिघा जग्गा साँघुरो भएकोले अझै ५ बिघा जग्गा लिजमा लिएर बाल उद्यानसँगै पार्कलाई आधुनिक किसिमले ब्यवस्थित गर्ने योजना रहेको कोषाध्यक्ष पौडेलले बताए । खेलको क्षेत्रमा उल्लेख्य प्रगति गरेको झरना स्पोर्टस् क्लव सामाजिक कामसँगै यो पार्कको ब्यवस्थापन र संरक्षणमा लागेको छ । ‘स्थानीय स्तरमा खेलकूदसँगै रमणीय र पर्यटकीय स्थलको स्थापना गरी पर्यटनमा टेवा पुुर्याउन क्लबले पहल गरेको हो।’ क्लबका अध्यक्ष लोक पुनले बताए ।
प्रतिक्रिया