ताजा अपडेट »

‘विश्वसमुदायलाई नेपाल आउने निम्तो’

बुधबार, १६ पुस २०७६

पुस १६,

ग्लोबल आवाज

बुटवल । भ्रमण वर्ष २०२० लाई नेपालका बिभिन्न क्षेत्रबाट छुट्टा छुट्टै कार्यक्रम गरि उदघाटन गरिएको छ । प्रदेश ५ मा पनि बिभिन्न जिल्लाहरुमा फरक फरक कार्यक्रम गर्दै भ्रमण वर्षको शुभारम्भ गरिएको छ । आज मध्यान्ह बर्दियाको ठाकुराद्धाराबट प्रदेशका मुख्यमन्त्री शंकर पाखरेलले बिशेष कार्यक्रम गर्दै भ्रमण वर्षको उदघाटन गर्ने कार्यक्रम रहेको छ भने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले मंगलबार मध्यराति विश्वभरीका नागरिकहरुलाई नेपाल र त्यसमा पनि प्रदेश ५ मा घुम्न आउन निम्तो दिएर भ्रमण वर्षको शुभारम्भ गरेका छन् ।

होटल पौवा र एबिसी न्युजको संयुक्त आयोजनामा बुटवलमा आयोजना गरिएको शुभारम्भ भ्रमण वर्ष न्यु ईयर ईभलाई मध्यराती १२ बजे सम्बोधन गर्दै मन्त्री केसीले सबैं दृष्टिकोणले नेपाल भ्रमणको गन्तब्य बनाउन उपयुक्त रहेकाले नेपाल आउन निम्तो दिएका हुन् । उनले बिगतमा जङ्गलमा फायर खोलेर नयाँ वर्ष मनाएको स्मरण गर्दै यतिबेला निम्ताको फायर खोलेर नयाँ वर्ष सहित भ्रमण वर्ष मनाएको बताए । धार्मीक, सांकृतिक र भौगोलिक सबै दृष्टिबाट ५ नम्बर प्रदेश उत्कृष्ठ रहेको बताउंदै उहांले पर्यटन उद्योगले प्रदेशलाई समृद्द बनाउने ठुलो सम्भावना रहेको स्पष्ट पारे । एबिसी न्युज टेलिभिजनबाट प्रत्येक्ष प्रशारण गरिएको ईभमा बोल्दै होटल पौवाका प्रबन्ध निर्देशक बिष्णु प्रसाद ज्ञवालीले नेपालमा पहिलो नेपाली हस्पिटालीटीका साथ खुलेको पौवाले ५ नम्बर प्रदेशका सबै पर्यटकीय स्थलमा पौवाको सेवा दिने तयारी गरेको जानकारी गराउंदै १० वर्षमा १०० शाखा सहित पौवाको बिस्तार गरिने दाबी गरे ।

होटल पौवाले हाल प्रदेश नम्बर ५ मा ७ र कर्णाली प्रदेशको जुम्लामा गरि ८ वटा शाखाबाट सेवा दिदै आएको छ । कार्यक्रममा गायक प्रमोद खरेलले म बिना कसैकसैलाई मुस्किल छ पोखरामाबाट सुरु गरेर यो कुरा गोप्य नै राखौला भन्ने गित गाईरहंदा पौवामा उपस्थित सयौं दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । खरेलले ओय झुम्मा, रातो टिका निधारमा, जादु चलायौ तिमीले टुना चलायौ तिमीले, म बांचेकै तिमीसंग माया लाउन हो जस्ता कालजयी गित प्रस्तुत गरेका थिए । जनताका गायकका रुपमा स्थापीत जिवनशर्माले ईभमा उपस्थित दर्शकहरुलाई देश प्रति भाबुक बनाएका थिए । मधेसी पहाडी हिमालका हिमालीबाट गाउन सुरु गरेका शर्माले झरनाको चिसोपानी, चाहिंदैन सिसाको महल, सिमली छांयामा बसी, यसपाली त यस्तै भो आमा जस्ता देश प्रेमले ओतप्रोत गितहरु गाएका थिए ।

कार्यक्रमको अन्तीममा स्टेज चढेकी लोक गायीका राधिका हमालले नमस्ते झोर्ले है, क्याम्पस पढ्न आउनी जस्ता गित गाएर दर्शकलाई नचाएका थिए । शुभारम्भ भ्रमण वर्ष न्यु ईयर ईभमा प्रदेश सरकारका कृषि मन्त्री आरती पौडेल, प्रदेश सरकारका मुख्य सचिव तोयनारायण ज्ञवाली लगायतको उपस्थिती रहेको थियो ।