पुस १६,
ग्लोबल आवाज
बुटवल । पहाड र उच्च पहाडका कृषि उपजहरुको बजारीकरण गरिरहेको पैचो पसलले आफ्नौ ५ औ बार्षिक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ । बसे पनि शहर गाउँ कै खाने रहर भन्ने मुल नारा लिएर पैचो पसलको स्थापना भएको थियो । वार्षिक उत्सव समारोहमा बोल्दै कृषिमन्त्री आरती पौडेलले मुलुकको समृद्धिको आधार कृषि भएकाले कृषि पेशालाई राज्यले बिशेष महत्व दिनु पर्ने बताउँदै प्रदेश ५ सरकारले स्थानीय सरकारहरुको समेत सहभागितामा व्यवसायीक कृषि निती तयार रहेको बताइन् । उनले केहि वर्षमा कृषिमा परिवर्तनको अनुभूति गर्न सकिने अपेक्षा गरिन् ।
प्रदेशसभा सदस्य कमल श्रेष्ठले पैचोले कृषकहरुको लागि ठूलो योगदान गरेको बताउंदै राज्यले पैचोलाई संगै लिएर हिंड्नुपर्ने बताए । पुर्व संबिधानसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले बिदेशमा पलायन भएका युवाहरुलाई पैचो मोडलको माध्यमबाट फर्काउन सकिने दाबी गरे । ग्रामिण खानपान छाडेर आधुनिक खानाले गाँउको उत्पादन बिस्थापन भएको भन्दै उनले फेरी बिस्तारै परम्परागत र ग्रामिण खानाको महत्व बढ्दै गएको बताए । पैचो पसलका प्रबन्ध निर्देशक धु्रव न्यौपानेले ग्रामिण क्षेत्रका किसानलाई कार चढ्ने हैसियत नबनाउँदा सम्म पैचोले बिश्राम नलिने उनको दाबी गरे । पैचो पसलले पहाडी र उच्च पहाडी कृषि उत्पादनहरुलाई कच्चा पदार्थकारुपमा उपयोग गर्दै ४० बढी अन्तराष्ट्रिय गुणस्तरका खाद्य उत्पादन गर्दै आएको उनले बताए । अहिले नेपालको प्रदेश १ बाहेक सबै स्थानीय बजारमा पैचो उत्पादन उपलब्ध रहेको उनले दाबी गरेका छन् ।
वार्षिक उत्सवको अवसरमा गुल्मीको बलेटक्सारमा आयोजित कार्यक्रममा उत्कृष्ठ कृषि उत्पादन गर्ने किसानहरुलाई सम्मान गरेको छ भने आफ्नो भाबी कार्ययोजनाहरु समेत सार्वजनिक गरेको छ । पैचोसँग कारोबार गर्ने किसानहरु मध्यबाट गुल्मीका रामकृष्ण कंडेलले सर्वोकृष्ट किसानका रुपमा सम्मान गरिएको थियो । पैचोले कृषि उत्पादनमा उच्च योगदान गर्ने विभिन्न गाउँपालिकाबाट समेत उत्कृष्ठ किसानको सम्मान गरेको थियो । पुरस्कार पाउनेहरुमा रुरु गाउँपालिका १ का महेन्द्र जङ्ग राना, छत्रकोट गांउ पालिकाबाट भुवन खराल, तानसेन नगरपालिका १४ बाट सिता पाण्डे, धुर्कोट गाउँपालिकाबाट नारायण प्रसाद भण्डारी तथा पाणिनी गाउँपालिका अर्घाखाँचीबाट रामप्रसाद भट्टराई रहेका छन् ।
कार्यक्रममा पैचोका आन्तरिक उत्कृष्ठ कर्मचारीहरुलाई समेत नगद सकित पुरस्कार प्रदान गरिएको थियो । सम्मानीत कृषक तथा कर्मचारीहरुलाई प्रदेश ५ सरकारका भूमि, ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल र प्रदेशसभामा गुल्मीका सभासद कमल श्रेष्ठले प्रमाणपत्र र पुरस्कार बितरण गरेका थिए ।
प्रतिक्रिया