शरिरको सबैभन्दा उँचो भाग वा शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नका निम्ति लगाइने चाउलो र घेरा हाली सिइएको वस्त्रलाई टोपी भनिन्छ । टोपी विभिन्न प्रकारका हुन्छन् । जस्तै ढाकाटोपी, माकल–टोपी, बाँदर–टोपी, काने टोपी, बिर्के टोपी, उनी टोपी, टोप (युरोपेली ठूलो गोलाकार टोपी), पगडी टोपी आदि । यी टोपीहरु मध्य यहाँ प्रसङ्ग जोड्न खोजिएको सन्दर्भ छ, ढाकाटोपीको । ढाकाटोपी भादगाँउले र पाल्पाली गरी दुई प्रकारका हुन्छन् । ढाकाको प्रयोग गरी पाल्पा जिल्लाबाट यो टोपी बनाउने काम शुरु गरिएकाले यस टोपीलाई अहिले जहाँ बनाइए पनि पाल्पाली ढाका टोपीको नामले चिनिन्छ । त्यसैगरी भादगाँउ वा भक्तपुरमा बनेका कालो रङ्गका टोपीलाई भादगाँउले टोपी भनिन्छ । सामान्यतः ढाकाटोपीलाई नेपाली टोपी पनि भनिन्छ ।
ढाकाटोपी विश्वमा रहेका अन्य टाउको ढाक्ने बस्त्र भन्दा फरक किसिमको भएकोले यो एक नितान्त हाम्रो विशेषता बोकेको पोसाक हो । यसले नेपालीको पहिचान गर्न सजिलो पार्छ । विश्वका कुनै पनि कुनामा पुग्दा ढाका टोपीले हाम्रो राष्ट्रियताको परिचय दिइरहेको हुन्छ । टोपीको गौरवपूर्ण र अत्यन्तै पूरानो इतिहास रहेको छ । ढाकाटोपीलाई दौरा सुरवाल वालवेदा सुरवाल सँगै परापूर्व कालदेखि नै प्रयोग गरिँदै आएको पाइन्छ । राणा, पंचायत र ०४६ को बहुदल पश्चात पनि यो टोपीलाई लगभग सबैजसो सार्वजनिक सेवाधारण गरेकाले यसको अनिवार्य प्रयोग गर्थे । तसर्थ त्यसताका यसको महत्व राष्र्टि«यतासँग समेत जोडिएको थियो । लगभग ६०० बर्ष अगाडी नेपालका तत्कालीन प्रधानमन्त्री विर सम्शेर ज.ब.रा. ले बेलायतको व्यक्तिगत भ्रमणमा दौरा सुरवालसँगै ढाका टोपी लगाएर भ्रमण गरेपछि यसले थप लोकप्रियता पाएको देखिन्छ । बि.स. २०१७ मा तत्कालीन सरकारले दौरा सुरवाललाई सरकारी औपचारीक पोशाकको रुपमा कायम गर्ने निर्णय गर्यो । र, त्यसमा ढाका टोपी स्वाभाविक एक पहिरनमा पर्यो ।
२०४६ सालसम्म यो पोसाकले औपचारिक रुपमा ठाउँ पायो । तत् पश्चत कुनै पनि सरकारले कुनै पनि पोसाकलाई सरकारी घोषण गरेका छैनन् । त्यसैले सरकारी वा अन्य कोही पनि नेपालीले पनि ढाका टोपीलाई अनिवार्य रुपमा लगाउनै पर्ने बाध्यता छैन । अहिले जोसुकैका लागि पनि यो इच्छाधिन पोसाकका रुपमा रहेको छ । गणतान्त्रीक सभासदहरु, मन्त्रीहरु, तथा कर्मचारीहरुले यसलाई खासै महत्वकासाथ लगाएको पाइदैन । ढाकाटोपीलाई सरकारी स्तरबाट अनिवार्य पोसाकका रुपमा घोषणा नगरिए पनि अधिकतम नेपालीहरुले यसलाई राष्ट्रिय पोशाक कै रुपमा ग्रहण गर्दै आइरहेका छन् । कानूनमा जेसुकै भएपनि नेपालीले यसको महत्व कायम राखेका छन् ।
नेपालका सबै जातजातीहरुले पहिरने हरेक पोसाकको उत्तीकै महत्व राख्नुपर्छ । र, स्वाभाविक रुपमा समग्र नेपालीले स्वीकारेको ढाकाटोपीलाई त झनै महत्वसाथ हेरिनु पर्छ । कुनै पनि देशको परम्परागत भेषभुसा, भाषा, सँस्कृती, सस्कारको संरक्षण गर्नु सबैको दायित्वहो । सम्भवतः प्रचण्डले ईतिहासमै पहिलो पटक परम्परागत राष्ट्रिय पोसाक नलगाईकन राष्ट्रपति समक्ष प्रधानमन्त्री पदको सपथ लिएका थिए । तथापि उनले कालो टोपी भने लगाएका थिए । र, लगाइरहन्छन् । केही हदसम्म भएपनि नेपाली टोपीको सम्मान गरेकै थिए ।
त्यसबेला तथाकथित कट्टर राष्ट्रवादी झुण्डले उनले दौरा, सुरवाल नलगाएको बिरोधमा सडक कब्जा गरेको थियो । बिरोध गर्ने समूह त केबल विरोधको लागि विरोध गर्दछन् । ति विरोधमा उत्रने कतिजनाले यो पोसाक लगाएकाथिए त ? सायदै कोही थिएनन् होला । राष्ट्रिय पोसाक नलगाउँदा कस्ले बिरोध गर्यो वा समर्थन ती कुरा सहायक मात्र हुन्, मुल कुरा त नेपालीत्व स्वीकार्ने कि नकार्ने भन्ने हो । नेपाल एक बहुजातिए, बहुभाषिक, बहुसाँस्कृतिक मानिस बसोवास गर्ने सुन्दर देश हो । यहाँ धेरै जातजातीहरु बसोबास गर्छन् । ती सबै जातजातीको सम्मान गर्नु र नेपाली पनलाई आत्मैदेखि स्वीकार गर्नु सबैको दायित्वहो । त्यसो नगरेसम्म केबल ओठे भाषण गरेर मात्र नेपालीको मनमुटु जित्न कसैले सक्दैन । ढाका टोपीको कम प्रयोग गर्नु वा प्रयोग नै नगर्नु पक्का पनि राम्रो बिषय हैन । समुन्नत नेपालको लागि सँस्कृतिलाई पनि उत्तिकै ध्यानदिनु अत्यावश्यक हुन्छ, चाहे त्यो जुनसुकै जातजातीको होस् । नेपालका उच्च पदस्थहरुले कम्तिमा पनि देश, विदेशका औपचारीक कार्यक्रमहरुमा यो ढाका टोपी लगाएमा संसार भर छरिएर रहेका नेपालीहरुले हृदयदेखि नै नेपाली भएकोमा गौरव गर्थे ।
राष्ट्रिय भेष, भाषा र सँस्कृती भनेका देशको जीवित इतिहास हुन् । देशको पहिचान हुन् । यिनीहरुको संरक्षण गर्न प्रत्येक नेपालीको दायित्वहो । नयाँ नेपाल र आधुनिकताको नाममा ढाकाटोपीलाई महत्वन दिने परम्परा पनि देखिएको छ । यसले धेरै नेपाली मनमा चोट पुर्याएको हुन्छ । यसलाई फेशन र औपचारिकता दुबै अर्थमा लिइनु हुँदैन । आफ्नो पहिचान झल्काउने भेषका रुपमा लिनुपर्छ । नेपालको हकमा ढाका टोपी भनेको कुनै जात, जाती वा वर्गहरुको नभई सबै नेपालीहरुको साझा सम्पत्तिहो । वैधानिकरुपमा राष्ट्रिय पोसाकको व्यवस्था नभए पनि सताब्दिऔँदेखि नेपालीहरुले स्वीकारेको ढाका टोपीको प्रयोग नेपालका सबैले गरेमा राम्रै हुने देखिन्छ ।
ढाका टोपीको आफ्नै महत्व छ । यो केबल देखावटी रुपमा मात्र प्रयोग हुनु हँुदैन । अनि केवल ढाका टोपी दिवसका दिन मात्र पहिरेर पनि यसको संरक्षण हुदैन । फेशन शोको पाराले पनि यसको संरक्षण कल्पना गर्न सकिदैन । यसलाई नेपालीहरुले मनबाटै स्वीकार्नु आवश्यक छ । मेरो टोपी भनि अपनत्व ग्रहण गर्नुपर्छ । यो मेरो सँस्कृती हो भन्नु आवश्यक छ । ढाका टोपी लगाउनु भनेको नेपाली परम्परागत सँस्कृतिको सम्बर्धनमा टेवा पुर्याउनु हो । यसको प्रयोगले अन्य पोसाकहरुको अवमुल्यन हुने होइन । बरु यसको प्रयोगबाट देशमा लगाईने सबै प्रकारका पोसाकहरुको संरक्षण गर्न प्रेरणा मिल्न सक्छ । उच्च हिमालदेखि तराईसम्मका विभिन्न जात जातिका मानिसहरुले ढाका टोपी पहिरन्छन् । लगाउनुमा गर्व महशुस गर्छन् । यसलाई दल, जात, भुगोल आदिले छेक्न सकेको छैन । अन्य तबरले विभिन्न कित्तामा बाडिएका नेपालीहरु कम्तिमा पनि यो मामलामा एक छन् । त्यसैले यसले धेरै नेपालीहरुलाई एकतामा बाध्न समेत मद्दत पुर्याएको छ ।
यसै सन्दर्भमा प्रत्येक वर्ष जनवरी १ लाई यो दिवसका रुपमा मनाइन्छ । इ.स.२०२०को टोपी दिवस सातौँ दिवस हो । यसले पक्का पनि हाम्रो परम्परागत पोसाकको महत्व उजागर गर्न अहम् भूमिका खेल्ने छ । तथापि यसको प्रयोगलाई दिवस, फेशन र औपचारिकतामा मात्र सिमित पार्नु हुँदैन । हामी सबै हातेमालो गरी अंग्रेजी नयाँ वर्षका दिन मनाइने ढाका टोपि दिवसलाई भव्य पारौँ । यस दोस्रो अन्तर्राष्ट्रिय ढाका टोपी दिवसको माध्यामबाट ढाका ढोपीको गरिमालाई विश्वव्यापी बनाउन सबैले सहयोग गरौँ । नेपाली हुनुमा गर्व गरौँ । जय अन्तराष्ट्रिय ढाका टोपीदिवस २०२० ।
प्रतिक्रिया