ताजा अपडेट »

बुटवलमा छाडा चौपाया व्यवस्थापन नगरेपछि छलफलका लागि अदालतले बोलाएको मिति आज

मंगलबार, १० माघ २०७९

बुटवल । उच्च अदालत तुल्सीपुर बुटवल इजलासले बुटवल उपमहानगरलाई छाडा चौपाया व्यवस्थापन किन नगरेको भन्दै आज मंगलबार माघ १० गते छलफलका लागि बोलाएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय कानून संकायमा अध्ययनरत विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले अल्पकालीन अन्तरिम आदेशसहित आजका लागि छलफलमा बोलाएको हो ।

यततत्र हिड्ने छाडा चौपायाका कारण सडक दुर्घटना बढेको, अकालमै मृत्यु हुने गरेको भन्दै त्यसको नियन्त्रण गर्ने कानून निर्माण गरी कार्यान्वयन गर्न रिट निवेदनमा माग गरिएको छ । विश्वविद्यालयको सिटी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु केशव घर्तीमगर, नविन खनाल, कृपा पन्त, करिष्मा ज्ञवालीले बुटवल उपमहानगरसमेतलाई प्रतिपक्ष बनाई उच्च अदालत बुटवल इजलासमा रिट दायर गरेका थिए ।

अदालतका न्यायाधीश रमेशराज पोखरेलको माघ ४ गतेको एकल इजलासले माघ १० गतेसम्म छाडा चौपायाको यथोचित प्रबन्ध मिलाउन विपक्षीहरुलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतले छाडा चौपाया नियन्त्रण गर्ने सम्बन्धमा काञ्जिहाउस लगायतका आवश्यक पूर्वाधार के कति ब्यवस्थापन गरिएको छ । सो समेत जानकारी गराउन बुटवल उपमहानगरलाई आदेश दिएको छ । मंगलबारको छलफलपछि अन्तरिम आदेशबारे टुंगो अदालतले लगाउनेछ ।