ताजा अपडेट »

औद्योगिक मेलामा लुकेको ‘कृषि सङ्ग्राहलय’

मंगलबार, १५ पुस २०७६

पुस १५,

डि.बी. सुस्लिङ / ग्लोबल आवाज

बुटवल । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नाराकासाथ रुपन्देहीको बुटवलमा औद्योगिक व्यापार मेला जारी छ । फिफा टेक्निकल सेन्टरको उत्तर दिशातर्फ रहेको मैदानमा जारी औद्योगिक व्यापार मेलाको मूल गेट प्रवेश गरेपछि दायाँतर्फ मेला आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघको सचिवालय भवन देख्न सकिन्छ ।

सचिवालयसँगै सटेको कृषि सङ्ग्राहलयमा विभिन्न परम्परागत कृषि औजार, घरेलु हातहतियार, बाजागाजा तथा भाँडाकुँडा सहित परम्परागत आरनपनि राखिएका छन् । यसैगरी सचिवालय अगाडी रहेको प्रदेश- ५ का लुम्बिनी देखी रेसुङ्गासम्मका पर्यटकीय स्थलको संरचना सहित जानकारी मूलक प्रतिकात्मक संरचना देख्न सकिन्छ । सचिवालय अगाडी रहेको संरचनाको अगाडी उभिएर फोटो खिच्ने दर्शकहरुलाई सचिवालयमै जोडिएको कृषि सङ्ग्राहलयको बारेमा भने त्यति जानकारी छैन । मेला स्थलमा राखिएको यो स्टलमा निःशुल्क प्रवेशको व्यवस्था भएपनि दर्शकको उपस्थिती भने अन्य स्टलको तुलनामा पातलो देखिन्छ ।

मेला अवलोकन गर्ने धेरैजसो दर्शकहरुलाई सायदै यस स्टलको बारेमा जानकारी होला । मेला अवलोकनमा जाने सर्वसाधारण दर्शक मूल गेट प्रवेश गरेपछि सिधा कृषि संङ्ग्राहलयमा जान पाउदैनन् । मेलामा राखिएका करिब ४ सय बढी स्टलको अवलोकन गरेपछि मात्रै घर फर्किने बेलामा संग्राहलयमा केही मात्र दर्शक प्रवेश गर्छन् । मेला अवलोकन गर्न जाने दर्शकहरु मेलामा रहेका बाल उद्यान, मनोरञ्जनका क्षेत्रहरु तथा अन्य किनमेल गर्ने र खाजा खाने स्टलहरुमा प्रवेश गर्नुका साथै स्टेजमा आयोजना भएका साँस्कृतिक कार्यक्रमहरुको अवलोकन गर्दैगर्दा घर फर्कने समय भैसकेको हुन्छ । हतार हतार उनिहरु मेला स्थलबाट बाहिरीन लाग्दा सचिवालय अगाडीको प्रतिकात्मक संरचना अगाडी उभिए सेल्फि खिच्न भ्याए पनि संग्राहलयमा प्रवेश गर्न समय मिल्दैन वा उनिहरुलाई जानकारी नै हुँदैन । यस विषयमा जानकारी लिनका लागि कुरा गर्दा मेला प्रचारप्रसार समितिका संयोजक मुक्ति अधिकारीले भने, ‘आगामी दिनदेखि संङ्ग्राहलयलाई सबैले सहजै देख्न सक्नेगरी व्यवस्था गरिन्छ ।’

बुटवल- ११, देवीनगरमा पुस ९ गतेदेखि जारी औंद्योगिक व्यापार मेला आगामी पुस २३ गतेसम्म सञ्चालन हुने छ । १५ करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको मेलामा करिब ५ सय स्टल सहभागी छन् भने पाँच लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको संयोजक अधिकारीले बताए । औद्योगिक उत्पादन/व्यापारको प्रवद्र्धन, कृषिको आधुनिकीकरण तथा व्यबसायिकरणलाई प्राथमिकतामा राखेर आयोजित मेलालाई नेपाल भ्रमण बर्ष २०२० सँग जोडेर प्रदेश ५ को पर्यटन प्रर्वद्धनमा समेत लक्षित गरिने हमालले बताए । मेलालाई लुम्बिनी भ्रमण बर्ष २०७६ तथा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार, स्थानिय स्तरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रर्वद्धन, पर्यटनको क्षेत्रमा रहेको सम्भाव्यतालाई उजागर गरी पर्यटन उद्योगको प्रर्वद्धन र प्रदेश नं- ५ को पर्यटन क्षेत्रमा रहेको अवसर तथा चुनौतीहरु पहिचान गर्ने अवसरका रुपमा पनि उपयोग गरिने संघको उद्देश्य रहेको महासचिव दिनेशप्रसाद श्रेष्ठले बताए ।

मेलाले उपभोक्ताहरुलाई स्वदेशी उत्पादनहरुप्रति आकर्षित गरी निर्यात प्रर्वद्धनमा टेवा पु¥याउने, उद्यमशीलताको विकासका लागि प्रोत्साहित गर्ने र लगानीका नयाँ-नयाँ क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सृजना गर्ने तथा बदलिंदो आन्तरिक र बाह्य परिवेश अनुरुप उद्योग व्यवसायलाई परिमार्जित गरी प्रतिस्पर्धी रुपमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने उद्देश्य रहेको अध्यक्ष खेमबहादुर हमालले बताए । सङ्ग्राहलयको लियो क्लब अफ खस्यौलि पथ, खिल्जि रुपन्देही सम्पर्क समाज, समाजसेवी युवा क्लब भु.न.पा–६ खिल्जि, खिल्जेली पञ्चेबाजा समूह, असूरकोट आरन व्यवसायी, खिल्जि असुरकोट गाउँ परिवार रोयल छोप टिम परिवार लगाएतले सहकार्य गरेका छन् ।