ताजा अपडेट »

सैनामैनामा औद्योगिक व्यापार मेला, ५ करोड बढीको कारोबार लक्ष्य

मंगलबार, १५ पुस २०७६

पुस १५,

ग्लोबल आवाज

बुटवल । ‘आर्थिक विकासका राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित रुपन्देहीको सैनामैनामा आयोजना हुने औद्योगिक व्यापार मेलाको सन्दर्भमा मंगलबार सरोकारवालाहरु बीच छलफल भएको छ । चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव- २०७६ पुस २० देखि माघ ६ गतेसम्म हुने आयोजक संस्था सैनामैना उद्योग वाणिज्य संघले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्रीले उद्योगी एवं व्यवसायीमा स्वच्छ व्यावसायीक प्रतिस्पर्धाको वातावरण सृजना गराई लगानीको अवसर सृजना गर्नका लागि मेलाले महत्वपूर्ण सहयोग पुराउने दाबी गरे । साथै स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तु तथा सेवाहरुको वृहत प्रर्दशनी गरी व्यापक प्रचार–प्रसारमा हुने उनले विचार व्यक्त गरे । त्यस्तै संघका उपाध्यक्ष रिन बहादुर केसिले मेलाले स्थानीय हस्तकला, आदिवासीहरुको रहनसहन, संस्कृति र भेषभुषको जगेर्ना गर्नुका साथै बुद्धसँग जोडिएका नगरभित्रका एतिहासिक ठाउँका बारेमा समेत जानकारी गराउने बताए । कार्यक्रममा बोल्दै मेलाका आर्थिक सल्लाहकार मिनप्रसाद पौडेलले औद्योगिक व्यापार मेलालाई पृथक र उपलब्धिमूलक बनाउन जोड दिए ।

मेलामा सेवा क्षेत्रका होटल तथा रेष्टुरेण्ट बाहेकका २ सय बढी स्टलहरु रहने छन् भने ५० प्रतिशत स्टलहरु स्थानीय व्यवसायी, उद्योगि तथा संघ-संस्थाहरुको सहभागिता रहने मेला प्रचार प्रसार संयोजक लोकनाथ अधिकारीले जानकारी दिए । मेलामा नगर भित्रका पर्यटकीय क्षेत्रहरु तथा एतिहासिक क्षेत्रहरुको तस्विर प्रदर्शन गरिने छ । पाँच करोड बढी आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको मेला आयोजनाका लागि ५५ लाख बढी खर्च अनुमान गरिएको छ । ५० रुपैयाँ प्रवेश शूल्क राखिएको मेलामा परिचय पत्रका आधारमा विद्यार्थीका ३० रुपैयाँ तथा जेष्ठ नागरिक तथा बालबालिकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए । मेलामा मूख्य आकर्षणको रुपमा रहेको साँस्कृतिक कार्यक्रमहरुमा मम्मी डान्स प्रतियोगिता, विद्यार्थीहरुबीच साँस्कृतिक नाच प्रतिस्पर्धा, डान्स आइडल, लोक दोहोरी गित प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अधिकारीले जानकारी गराए ।

खेलकूद प्रतियोगिताहरुमा नगर अन्तरगतका अन्तर वडा स्तरिय भलिबल प्रतियोगिता, खुल्ला व्याटमिन्टल प्रतियोगिता लगायत रहेका छन् । मेलाको विशेष आकर्षणको रुपमा हात्ति तथा घोडाबाट सवार गर्ने व्यवस्थाका लागि समेत पहलहुँदै गरेको उनले जानकारी गराए । सामाजिक उत्तरदायित्वतर्फ प्रति प्रवेश टिकटबाट एक रुपैयाँ रकम छुट्याएर सामाजिक कार्यमा लगाइने आयोजकले बताएको छ । मेलामा कृषि उत्पादन तथा त्यससँग सम्बन्धित स्टलहरुलाई निःशुल्क राख्न पाउने व्यवस्था गरिएको संघका महासचिव दिपक अधिकारीले बताए ।