ताजा अपडेट »

विदेश अध्ययन : रहर कि बाध्यता ?

मंगलबार, ०३ माघ २०७९

मानव जातिको लागि शिक्षा नै एउटा यस्तो अस्त्र हो । जसको सहयोगमा उसले विगतलाई केलाउने, वर्तमानलाई चिन्ने र भविष्यको लागि योजना बनाउने क्षमता राख्ने गर्दछ । यति मात्र होईन साँघुरो मानसिकतालाई फराकिलो बनाउने, समाजमा रहेका हरेक विभेदलाई अन्त्य गरी समाजलाई रुपान्तरण गर्ने, नविनतम विश्व परिवेशसँग जोडिंदै विश्वलाई नै एउटा साझा फूलबारीको रुपमा विकास गर्ने मन्त्र भनेकै शिक्षा हो ।

अहिलेको समय विश्वव्यापीकरणको हो जहाँ भुगोल मार्फत छुट्टिएका राष्ट्रहरु पनि शिक्षा, प्रविधि र रोजगारीको हिसाबले एउटै राष्ट्र जस्तो बन्न पुगेका छन् । रोजगारको लागि हामी नेपालीहरु धेरै वर्ष पहिलेदेखिनै भारत लगायत खाडी तथा अन्य मुलुकहरुमा जाने गरेको कुरा कुनै नौलो कुरा रहेन । यसको लागि आफ्नो ठाउँमा आफ्नै रहर र बाध्यताहरु होलान् तर यो लेखमा हामीले रोजगारीको लागि भन्दा पनि अध्ययन तथा उच्च शिक्षाको लागि नेपालीहरु अहिले जुन दरमा बाहिरी राखेका छन्, यस पछाडिको रहर वा बाध्यताको कुरालाई यहाँ केलाउन खोजेका छौ ।

केहिवर्ष अगाडिको दृश्यलाई हेर्ने हो भने नेपालीहरु खासगरी स्नातक र स्नाकोत्तर पछिको थप शैक्षिक उपलब्धीको लागि वैदेशिक अध्ययनमा जाने चलन थियो र यसको लागि विदेशिने धेरै नेपालीहरुले आफूलाई जाँदाको उद्देश्य अनुरुपको शैक्षिक उपलब्धिमै लगाउने गरेको कुरा रेकर्डले पनि बताउँछ र नगन्य मात्र आफ्नो उद्देश्य छोडेर आर्थिकोपार्जन तिर केन्द्रित भएको देखिन्छ । तर अहिलेको अवस्था तेस्तो छैन, अहिले त यहाँ जनतन कक्षा १२ को परीक्ष उतिर्ण गरेपछि थप अध्ययनको लागि जाने विद्यार्थीको संख्या हजारमा हैन लाखमा पुग्न थालेको छ । यही स्थिती कायम रहे अबका केहि वर्षमा नेपालका धेरै विश्वविद्यालयहरु विद्यार्थीको अभावमा बन्द हुनेछन् । अनि त्यहाँ अध्यापनरत हजारौ प्रध्यापक जो अहिले राष्ट्रका सबैभन्दा माथिका बौद्धिक स्रोत हुन र हजारौ कर्मचारीहरु पनि बेरोजगार हुनेछन् ।

सन् २०२१ को सरकारी रेकर्ड अनुसार करिव १ लाख वीस हजारले वैदेशिक शिक्षाको लागि भनेर (NOC) लिएको देखिन्छ भने २०२२ को शुरुको ६ महिनामा उक्त अनुमति लिने विद्यालयको संख्या १ लाख २१ हजार माथि छ । यसबाट अनुमान गर्न सकिन्छ कि सन् २०२२ मा करिब एक लाख पचास हजारको हाराहारीमा यो अनुमति लिएको हुन सक्छ जसले गर्दा नेपालबाट सन् २०२१ मा करिब ११ अर्ब तथा सन् २०२२ मा करिब २२ अर्ब रकम बाहिरिएको कुरा सञ्चारमाध्यमबाट पनि बाहिर आएको थियो । देशको अर्थतन्त्रका लागि अति नै संवेदनशिल र कहाली लाग्दो अवस्था हो । वैदेशिक अध्ययनको लागि जाने विद्यार्थीहरुको संख्याको अधिकतम संख्या अष्ट्रेलियाले लिएको छ । त्यसपछि जापान, क्यानडा, संयुक्त राज्य अमेरिका , बेलायत तथा केहि संख्यामा अन्य मुलुकहरुमा पर्ने गर्दछन् । यसको सबैभन्दा मुख्य पक्ष त अध्ययनको लागि भनेर यसरी जाने मध्ये कति जनाले उद्देश्य अनुरुप आफूहरुलाई अध्ययनसँग जोडी अगाडि बढाईराखेका छन् भन्ने हो ।

अध्ययनको लागि विदेशिने अधिकतम नेपालीहरुको चाहाना भनेको दैनिक केहि घण्टा वा साप्ताहिक केहि दिन आफूलाई जागिरमा व्यवस्थापन गराई आफ्नो अध्ययनको लागि बाटो सहज गराउनु हो । हाम्रो विवशता पनि यो हो कि जागिर नगरी शुुद्ध रुपमा आफ्नो खर्च गरी अध्ययनलाई अगाडि बढाउन सक्ने क्षमता हामी धेरैमा छैन । तथापी हामी मध्ये केहिजनाको लागि भने राम्रो देशमा छात्रवृत्तिमा पनि त्यो अवसर प्राप्त छ, उनीहरुका लागि खर्चको कुरा तनावको विषय छैन । उनीहरुले आफ्नो खर्च पुर्याएर पनि केहि रकम बचाएर नेपालमा पठाउने क्षमता राख्दछन । तर विडम्वना अहिले कक्षा १२ उचिर्ण गरी विदेशिएका अधिकाशं जनशक्ति चाहेर वा नचाहेर आफ्नो अध्ययनलाई एउटा गन्तव्यमा पुर्याउनुभन्दा पनि आर्थिकोपार्जन गरी आफ्नो आर्थिक क्षमता बढाउनु तर्फ केन्द्रित रहेको देखिन्छ । यसका पछाडि तमाम कारणहरु हुन सक्छन जसको कारणले गर्दा युवा पुस्ता पनि धेरै विदेशतर्फ लालाहित छन् । विकासोन्मुख अर्थतन्त्रमा नागरिकहरुलाई आफ्नो दैनिकी चलाउनका लागि आधारभूत आवश्यकता पूरा गर्न पनि विदेशीनु पर्ने चुनौती प्रमुख रुपमा रहेको छ ।

जसमध्ये केहि प्रमुख कारणहरु निम्न छन् :

१. शैक्षिक डिग्री अनुसारको रोजगारीको अवसर सिर्जना हुन नसक्नु ।
नेपालमा ठूला–ठूला राजनैतिक तथा व्यवस्था परिवर्तनसँगै नयाँ पुस्तामा अव देश नयाँ तरिकाले अगाडि बढ्छ । सबैलाई क्षमता अनुसारको रोजगारी व्यवस्था यही हुनसक्छ भन्ने जनधारण बनेको थियो । यद्धपि धेरै वर्षसम्म पनि त्यो अवस्था सिर्जना हुन सकेन र देशमा ऐजरु झै फैलिएको भ्रष्टाचारको जराले आर्थिक रुपमा झनै कमजोर हुन थाल्यो । जसले गर्दा युवापुस्तामा पलाएको निरासा अहिले विदेश पलायनको मुख्य कारण बनेको छ ।

२. पढ्दै कमाउदै अवसर नहुनु
संसारका अधिकांश विकशित देशहरुमा पुवापुस्ताले आफनो क्षमता अनुसारको जागिर र व्यवसाय गर्दै अध्ययनलाई अगाडि बढाउन सक्ने गरी योजना सरकारले नै ल्याउने गर्छ जसले गर्दा युवा शक्तिको पलायन रोकिएर देश आर्थिक रुपमा पनि अगाडि बढ्न सक्छ तर यस खालको अवस्था अहिलेसम्म पनि हाम्रो देशमा अनुभूती हुनेगरि अगाडि बढेको छैन ।

३. विश्व विद्यालयहरुले शैक्षिक क्यालेण्डर अनुसार योजना पूरा गर्न नसक्नु
नेपालमा सञ्चालित सरकारी त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरुको पनि शैक्षिक क्यालेण्डर अस्तव्यस्त छन् । कहिले कक्षा शुरु गर्ने, कहिले परीक्षा गराउने, कहिले नतिजा प्रकाशन गराउने अनि त्यो तह कहिले समापन हुने भन्ने कुरा निश्चित नहुदाँ विद्यार्थी एकदमै पीडित छन् । भारत वा अन्य मूलुकबाट स्नाकोत्तर सकाएर आउँदा पनि यहाँ पढ्ने विद्यार्थीले स्नातक पनि पूरा गर्न नसक्ने अवस्था छ, जुन शैक्षिक पलायनको एउटा मुख्य कारण हो जस्तो लाग्छ ।

४. शिक्षालाई प्रविधिसँग जोड्न चाहे अनुसारको विषय पनि पढ्न नपाउनु
नेपालमा अझैसम्म पनि विश्वविद्यालय स्तरमा पढाई हुने विषयहरुलाई नविनतम प्रविधिको अधिकतम प्रयोग गराउने परिपाटी अझैसम्म पनि विकसित हुन सकेको छैन । विज्ञान तथा प्रविधिको विषयहरुमा पनि प्रायाप्त प्रयोगात्मक शिक्षाको व्यवस्था गर्न नसक्नु र विश्वव्यापी स्तरमा पढाई भई रहेको नयाँ र खोजमुलक विषयहरुको पढाई हुन नसकेको कारण पनि विद्यार्थीको विदेश पलायन बढ्दो छ ।

५. अलपत्र सरकारी योजना
पछिल्लो समय राजनैतिक अस्थिरता र सरकारी ढिला सुस्तीले गर्दा शिक्षा तथा स्वस्थ्य क्षेत्रका अधिकांश योजनाहरु अलपत्र छन् । अहिले युवा पुस्ताले आफूहरु मात्र नेतालाई संसद र सरकारमा पुर्याउनका लागि भर्याङ्ग भएको र उनीहरुबाट देशको लागि केही हुन नसकेको कारण देखाउँदै निराश हुदै गएको अवस्था छ । यही अवस्थामा यही बसेर एउटा फोटो सर्टिफिटेक मात्र लिएर केहि गर्न नसकिने ठम्माई युवा पिढिको छ । जसले गर्दा पनि शैक्षिक पलायन बढेको छ ।

अन्त्यमा, अध्ययनको वाहनामा युवा जनशक्ति विदेशीने काम अहिले एउटा विकराल समस्याको रुपमा देखा परेको छ । किनकी अध्ययन भिसाबाट वैदेशिक रोजगारीमा जाने बाटो सजिलो भएको छ । यही स्थिती २/४ वर्षसम्म रहे देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा ठूलो असर पर्ने देखिन्छ । तसर्थ शिक्षा तथा स्वरोजगारको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तर कायम हुने गरी एउटा ठोस प्रभावकारी नीति र रणनैतिक योजना बनाउन अत्यन्तै आवश्यक छ । शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा राम्रो नीति र योजना सहित अगाडि बढ्न सकेमा मात्र अहिलेको शैक्षिक युवा पलायनको दरलाई केही कम गर्न सकिन्छ ।

देशमा केही सकारात्मक उत्पादनमूलक कार्यमा सहभागीता जनाउन चाहने युवालाई लक्षित गरि बिउ पूँजी सरकारले उपलब्ध गराउन सकेमा पनि वर्तमानको प्रतिभा पलायनको अवस्थालाई ५० प्रतिशतले न्यूनीकरण गर्न सकिन्छ । देशको विकासका लागि आवश्यक पर्ने युवा जनशक्ति विदेशमा श्रम गर्न निर्यात गरेर हाम्रो समृद्धिको यात्रा दुर्घटनामा पर्ने सुनिश्चत भएको छ । यसमा सरोकारवाला सबैको ध्यान समयमा नै पुग्न जरुरी छ ।