ताजा अपडेट »

दुर्घटनाग्रस्त जहाजमा लागेको आगो निभाइयो, तर अहिलेसम्म कोही पनि जीवित भेटिएनन्

आइतबार, ०१ माघ २०७९

काठमाडौं । पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त हुँदा लागेको आगो नियन्त्रणमा आएको छ। 

आइतबार बिहान काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनापछि जहाजमा ठुलो आगो लागेको थियो । 

सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।

अहिलेसम्म ३५ जनाको शव फेला परेको उनको भनाई छ । ती शवलाई गण्डकी अस्पतालमा लगिएको छ।  तर, अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन्।

जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए ।