ताजा अपडेट »

पोर्चुगलमा किन नेपालीको आत्महत्या दर बढ्दै गएको छ ?

शनिबार, ३० पुस २०७९

पोर्चुगलः एक हप्ता पहिला गुल्मी जिल्ला मुसिकोट नगरपालिका निवासी ३० वर्षीय बाबुराम घिमिरेले आत्महत्या गरे उनि बिगत ४ वर्षदेखि पोर्चुगलमा काम गर्दै आएका थिए । त्यस्तै केही महिना अगाडि रोमानीया हुँदै पोर्चुगल पुगेका म्याग्दी बेनीका सुरज मल्ल यही २२ डिसेम्बरदेखि पोर्चुगलमा सम्पर्कविहीन भएका छन् । उनलाई भेटेको खण्डमा प्रताप हमाल ३५१९२९१२१७०२ लाई सम्पर्क गरिदिनका लागि आग्रह गरेका छन । त्यस्तै अर्का युवा विजय राणा वर्ष २९ का पछिल्लो केही हप्तादेखि घर छोडि वाहिर निस्केका उनी पनि अझै साथीहरुको सम्पर्कमा आएका छैनन् । विजय धेरै भीड भाडमा बस्न र धेरै बोल्न नरुचाउने एक्लै बस्न खोज्ने, हल्का मानसिक समस्याबाट गुर्जिएका विजयलाई खोजिदिनको लागि मोहन राणा ३५१९२०२८४३३९ र धन थापा ३५१९२०५७५०४६ ले पोर्चुगलमा बस्ने नेपाली समक्ष अनुरोध गरेका छन ।

यहाँ यसैगरी मृत्यु हुने र सम्पर्क बिहीन हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । तथापी वास्तविक तथ्यांक राख्ने कुनैपनि निकाय नभएको कारणले गर्दा यस्ता घटनाहरु कति भएका छन् एकिनका साथ भन्न नसक्ने अवस्था छ । तरपनि दिनप्रतिदिन आउने यस किसिमका खबरले लाग्छ घटनाहरू बढ्दै गएको संकेत गर्दछ ।

विदेशमा नेपालीले आत्म हत्या गर्ने र मानसिक रोगी हुने कारणहरु धेरै हुन्छन् । तर प्रायःजसो कारण विदेशमा हुने समस्या र चुनौतीहरूसंग जुध्न नसक्नु, कमजोर मानसिकता र परिवारिक कारणले गर्दा धेरै नेपालीले विदेशी भूमिमा ज्यान गुमाउँदै आएका छन् । यो संख्यामा पछिल्लो समय वृद्धि हुँदै गएको बिभिन्न अध्ययनले देखाउदै आएका छन् ।

खासगरी युरोपको सपना बोकेर विदेशीने युवायुवतीको अहिले लर्को लागिरहेको छ । पैसा धेरै कमाउने आस र युरोपियन जीवनको सपना र परिवारको भविष्य खोज्दै युरोपका बिभिन्न देशहरुमा जाने नेपालीहरु धेरै छन । युरोप जाने हो तर कुन देशमा जाँदा कस्तो हुन्छ युरोपमा पनि धेरै देशहरु छन । नेपालबाट युरोपको भिषा लागेर जाँदा सबै देशमा राम्रो हुन्छ भन्ने हुँदैन । धेरै नेपालीले युरोपको बारेमा वास्तविकता नबुझी लाखौं रूपैयाँ खर्च गरेर जान्छौ र पछुताउनुको अर्को बिकल्प हुदैन ।

अहिले युरोपको जुन देशमा गएपनि अन्तिम गन्तव्य पोर्चुगल बनाउने नेपालीहरू धेरै छन् । पोर्चुगलमा धेरै कमाई त छैन तर पनि यहाँ आउन चाहानेहरू धेरै भएको देखिन्छ । पोर्चुगलमा सजिलै कागजपत्रको काम हुने भएकाले गर्दा पनि होला पोर्चुगल आउने बढ्नुको मुख्य कारण । त्यसैले नबुझी युरोप जान खोज्दा धेरै नेपाली दाजुभाई दिदी बहिनीहरूको बिचल्ली भएको छ । पोर्चुगल आउन धेरै गार्हो पनि छैन र धेरै सहजता पनि छैन । खासगरी युरोप भित्र रहेका जुन सेन्जेन एरिया भित्र रहेका २७ ओटा देश भित्र जुन देशको भिषा लिएर जाँदा त्यहाँबाट पोर्चुगल आउन अल्ली सजिलै सकिन्छ । तर जुन सेन्जेन एरियाभन्दा बाहिर छन, जस्तै रोमानिया, सर्बिया, टर्की, अलबेनिया, लगायत देशबाट पोर्चुगल आउनलाई धेरै गाह्रो छ । गार्हो हुँदाहुँदै पनि जोखिम मोलेर महिनौं दिनसम्म हिडेर जंगलको यात्रा गरेर आउने नेपालीहरु पोर्चुगलमा प्राप्त छन । जुन यात्रा तपाईं हाम्रो सोचाईभन्दा पनि धेरै परको त्यो यात्रा हो । जस्लाई मुत्युलाई जितेर आउने खतरापूर्ण यात्रा भनिन्छ । त्यो एकदमै दर्दनाक र खतरनाक हुन्छ । जुन यात्रा गर्दा धेरै नेपाली दाजुभाई दिदीबहिनीहरूले बीच बाटोमै ज्यान गुमाएको अवस्था छ ।

युरोप भन्दाबित्तीकै नबुझी हाम फालेर जान खोज्ने परिस्थितिले गर्दा धेरै नेपाली दाजुभाई दिदी बहिनीको साच्चै बिचल्ली भएको अवस्था छ । विदेश भनेको विदेशने हो । चाहे युरोप होस या अन्य कुनै ठाउँ होस, सजिलो त छैन त्यसैमाथि नबुझी लाखौं खर्चगरी जाने नेपालीहरू अकालमै विदेशी भूमिमा ज्यान गुमाउनका साथै बिचल्लीमा परेको कारूणिक यथार्थ पछिल्लो समय पोर्चुगलमा घटेका बिभिन्न घटनाले देखाउँछन् । जुन घटना बाहिर देखिएको मात्र हो तर वास्तविक तथ्यांक खोज्ने हो भने नेपालीहरू डिप्रेसनमा पुगेर पागल जस्तै बनेर कुलतमा फसेका र परिवार र साथीहरुको सम्पर्कदेखि बिहिन हुने सख्या एकदमै ठूलो भएको अनुमान गर्न सकिन्छ ।

पोर्चुगलमा प्रयाजसो नेपालीले काम पाउने भनेको कृषि र होटल रेस्टुरेन्ट लगायत बिभिन्न कम्पनीको काम हो । यस्ता ठाउँमा कामगर्ने नेपालीहरूको संख्या धेरै छ । तर थोरै जसोले अन्य क्षेत्रमा काम गरेको पाईन्छ भने, आफ्नै व्यवसाय सञ्चालन गरेर बसेका नेपाली दाजुभाई दिदी बहिनीहरु पनि छन, तर एकदमै कम मात्रामा । पोर्चुगलमा धेरैजसो काम सिजनल किसिमको काम हुन्छ जुन बाह्रै महिना चल्दैनन् । कृषि, होटल रेस्टुरेन्ट लगायतमा काममा पनि सिजन र अफसिजन हुन्छ, सिजनको बेला प्राप्त रूपमा काम पाउँछ भने अफसिजनमा त्यती धेरै काम पाउदैनन् । यस्तोपनि होइन कि पोर्चुगलमा बाह्रै महिना काम हुदैन भन्ने तर बाह्रै महिना काम पनि हुन्छन् जुन सिजनल काम भन्दा अल्ली कम औसतमा मात्रमा हुन्छन् ।

पोर्चुगलमा सहज काम पाउने भनेको सिजनल काम हो केही होटल रेस्टुरेन्ट र कम्पनीहरूमा लगभग बाह्रै महिना काम हुने गर्दछ । जहाँ काम पाउनको लागि पोर्चुगीस भाषाको राम्रो ज्ञान अर्थात् पोर्चुगीस भाषा बोल्न सक्ने हुनुपर्छ । साथै सीप भएको खण्डमा काम पाउन अल्ली सहजता हुन्छ । त्यसैले यहाँ आउँदा आफ्नो मनस्थितिलाई दरिलो बनाएर र कुनै सीप सिकेर आएको खण्डमा मात्र काम पाउन सजिलो हुन्छ । परिआएका समस्या र चुनौतीसँग जुध्न सकिन्छ, होइन भने यहाँको बसाई एकदमै गाह्रो हुने देखिन्छ । साहुसंग चर्को व्याजदरको पैसा ऋण खोजेर ठूला–ठूला सपनाहरु बोकेर पोर्चुगल आउदा भोलि समस्या नहोला भन्न सकिन्न ।

बिभिन्न देश हुदै पोर्चुगल आउन चाहने नेपालीहरूलाई यहाँको बारेमा बुझेर र यहाँको बारेमा अध्ययन गरेर आउँदा मात्र सजिलो होला । दोस्रो मुलुक हुँदै यहाँ आउनेहरूलाई अनुरोध पहिला जुन देश आउनुभएको छ त्यही देशमा बसेर आफ्नो ऋण व्यबहार मिलाउनुहोस् र सबैकुरा मिलाएर पोर्चुगल आउँदा धेरै सहज पक्कै हुने देखिन्छ । त्यसैले सबैकुरा सोच बिचार गरेर पोर्चुगल आउने हो भने बढ्दै गएको आत्महत्या लगायत डिप्रेसनदेखि बिभिन्न समस्याहरुबाट बच्न सकिन्छ । विदेश विदेश नै हो । सहज पक्कै पनि छैन सहज आफूले बनाउने हो त्यसैले हतोत्साही नभई काम गरौं कुनै पनि गलत निर्णय लिनुभन्दा पहिले आफ्नो जीवन र परिवारलाई एकपटक सम्झौ जस्ले तपाईंको बाटो कुरेर बसिरहेका छन तिनीहरुलाई तपाईंको एउटा गल्तीको सजाय किन दिनुहुन्छ ? उनिहरुको जीवन सधैं भरीको लागि तहस नहस किन बनाउनुहुन्छ ? तपाईं परिवारको दरिलो खम्बा हो त्यो खम्बा विदेशी भूमिमा नढाल्नुहोस, बरू काम गर्ने नसके र आफ्नै देश फर्किनुहोस् तर आफ्नो अमूल्य जीवन यो पराईको देशमा किन जानी जानी फाल्नुहुन्छ..? कृपया नेपाली दाजुभाई दिदी बहिनी कसैले पनि यस्तो किसिमको कदम कहिले पनि नउठाउहोस् मेरो हृदय देखि आग्रह मेरा सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई..