ताजा अपडेट »

स्वरोजगार कोषबाट आत्मानिर्भरता तर्फ गुल्मीका महिला

विहीबार, २८ पुस २०७९

गुल्मी । युवा तथा साना ब्यबसायी स्वरोजगार कोष गुल्मीद्वारा सञ्चालित कार्यक्रमले बेरोजगार युवा तथा कम आय भएका महिलाहरु स्वरोजगारीबाट आत्मानिर्भताको बाटोतर्फ उन्मुख भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेकका युवा मोती पुलामी सिंजापति कुनै समय बेरोजगारीले छट्पटिदै विदेश जाने सुरमा थिए । सोही क्रममा मैत्री बहुउद्देश्य सहकारी संस्थामा जोडिएका उनी गाउँमै पशुपालन गरेर बस्ने मनस्थितीमा पुगे । सहकारी संस्था मार्फत युवा तथा साना ब्यबसायी स्वरोजगार कोषले उनलाई बंगुर पालनका लागि २०७३ सालमा दुई लाख रुपैया सहुलियत कर्जा प्रवाह गरिदियो । २ लाखबाट उनले सुरु गरेको बंगुर पालनको पूँजी अहिले करिव ४२ लाख पुगेको उक्त कोषका अधिकारीहरु बताउँछन् ।

यो एउटा सानो उदाहरण मात्रै हो उक्त कोष मार्फत अहिले जिल्लाभर ८ सय ५ जना युवा तथा महिलाहरु स्वरोजगार बनेका छन् । २०६५ सालमा संञ्चालन भएको युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कतिपय सहकारी संस्थाका सञ्चालकले असफल पनि बनाएका उदाहरणहरु छन् । तर गुल्मीका एक बाहेक अन्य सहकारी संस्थामा सफल देखिएको छ । गुल्मीमा २०६८ सालदेखि यो कार्यक्रम सञ्चालनमा आएको थियो । उक्त कोषले हालसम्म गुल्मीका ९ वटा स्थानीयतहका १५ वटा सहकारी संस्था मार्फत युवा तथा महिलाहरुलाई १२ करोड ९० लाख सम्झौता रकम मध्ये १० करोड ५ लाख सहुलियत ब्याजमा कर्जा प्रवाह गरेको कर्जा असुली सहजकर्ता जिवन ज्ञवाली बताउँछन् ।

ती १५ वटा सहकारी संस्था मध्ये तम्घासको अमरकल्याण महिला विकास बहुउद्देश्यीय सहकारी सहुलियत कर्जा मार्फत ब्यवसायीक कृषि, पशुपन्छी पालन र विभिन्न शिपमुलक कार्यक्रम मार्फत महिलाहरुलाई मात्रै आत्मनिर्भर बनाउन उत्कृष्ट बनेको ज्ञवालीले बताए । उक्त संस्थाले युवा तथा साना ब्यबसायी स्वरोजगार कोषसँगको साँझेदारीमा आयोजा गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा हालसम्म गरेका गतिविधि बारे जानकारी गराइएको थियो । गत वर्ष संस्थाले ४५ लाख रुपैयाँ रकम ३४ जना महिलाहरुलाई व्यवसायीक कर्जा प्रवाह गरेको थियो । यसैगरी यो वर्ष २५ जना महिलाहरुका लागि ८० लाख रकम कर्जा प्रवाह गर्न सम्झौता भएको छ । पहिलो किस्ता बापत ४० लाख निकासा भईसको संस्थाले जनाएको छ । ऋण प्रवाह गर्नु अघि उनीहरुलाई अभिमुखीकरण गरिएको हो । सहुलियत कर्जा प्रवाह गरि आफूहरुले विभिन्न ब्यवसाय सुरु गरेको सहभागि महिलाहरुले बताए ।

गुल्मीका सहाययक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले कार्यक्रम अन्तरगत एउटा सहकारी संस्था बिरुद्ध प्रशासनमा उजुरी परे पनि अन्य सहकारी संस्था बिरुद्ध कुनै गुन्जायस नआएकोले थप पारदर्शी र सरकारको भावना अनुुसार सहुलियत ब्याजदरको कर्जालाई सहि सदुपयोग गर्न अनुरोध गरे । त्यस्तै जिल्ला समन्वय अधिकारी सिर्जना मिक्षले अमरकल्याण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा महिला मात्रैले सञ्चालन गरेर देखाएको प्रगतिले आफू गौरवानित भएको बताईन ।

२०६२ सालमा २७ जना महिलाहरुले २० रुपैयाँका दरले ५४० रुपैयाँ कुल पूँजीबाट सुरु गरेको त्यस सहकारी संस्थामा अहिले ९९३ जना महिला र १८३ जना नाबालक सदस्य छन् । कुल पूँजी ५ करोड १९ लाख ७२ हजार ८७१ पुगेको छ । युवा तथा साना ब्यवसायी स्वरोजगार कार्यक्रमले थप उत्साहित पारेको संस्थाकी प्रवन्धक अञ्जु पन्थी बताउँछिन ।