ताजा अपडेट »

‘हप्तामा एक छाक सपरिवार बाहिर खाने सँस्कार बसालौं’

सोमबार, १४ पुस २०७६


पुस १४,
ग्लोबल आवाज

बुटवल । प्रदेश नम्बर पाँचका मूख्यमन्त्री शंकर पोखरेलले खाना सँस्कृतिको विकास गर्न आवश्यक रहेको बताएका छन् । कम्तिमा हप्ताको एक दिन वा एक साँझ स–परिवार घर बाहिर खाना खाने संस्कृतिको विकास गर्न आवश्यक रहेको उनले बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि सुरु भएको सडक खाना महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मूख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । ‘मेरो आग्रह छ, यहाँका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई कम्तिमा पनि हप्ताको शनिबार सबै परिवारले घर बाहिर खाना खाने सँस्कृतिको विकास गर्नुपर्यो ।’–उनले अघि भने ‘यस्तो भएको अवस्थामा होटल व्यवसायमा नयाँ छलाङ हासिल गर्न सकिन्छ ।’ घर बाहिर खाना खाने संस्कारको विकासले कम्तिमा एक दिन भएपनि घरका गृहणीहरुले आराम पाउने उनले बताए ।

बुटवललाई पर्यटकीय हबका रुपमा विकास गर्नका लागि विभिन्न कला सँस्कृति र नाचगान समेत अवलोकन गर्न पाउने गरी खाना पार्कको निर्माण तथा विकास गर्नुपर्ने बताए । ‘कुनै एउटा पार्कलाई खाना पार्कका रुपमा विकास गरौं, जहाँ साँझ परेपछि पार्कमा जाने र नाचगानसहित मनोरञ्जन पनि हो ।’–मूख्यमन्त्री पोखरेलले भने । मूख्यमन्त्री पोखरेलले बुटवललाई साच्चै नै पर्यटकीय हब बनाउनका लागि खाना खान र रातमा बस्न आउनेलाई मात्र खोजेर नहुने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बुटवलमा रात्रीकालिन बजार सञ्चालनका लागि सोंँच बन्दै गरेको उल्लेख गरे । रात्रीकालीन बजार सञ्चालनले व्यापार व्यवसाय फस्टाउनुका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण सफलता हासिल गर्न सकिने बताए । पर्यटन वर्ष घोषणा हुँदै गर्दा निर्माणाधिन भौतिक संरचनाहरु तयार हुन नसक्ने हो कि भन्ने चिन्ता नगर्न र भ्रमण वर्ष सफल हुनेमा ढुक्क हुन आग्रह गरे । यस्तै बुटवल उप–महानगरापलिकाका मेयर शिवराज सुवेदीले अँग्रेजी नयाँ वर्षमा गरिएको फुड फेस्टिवल नेपाली नयाँ वर्षमा समेत आयोजना गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन प्रदेश नम्बर पाँचका अध्यक्ष भास्कर काफ्लेले महोत्सव सफलताको शुभकामना व्यक्त गरे । संगठनका रुपन्देही अध्यक्ष समुन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव माधावकुमार खनालले गरेका थिए । आगामी पुस १६गतेसम्म ३ दिन चल्ने खाना महोत्सवमा एक सय बढी स्टल रहेका छन् । महोत्सवलाई २ लाख बढी दर्शकले अवलोकन गर्ने र ५ करोड बढिको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीले जनाएको छ ।