ताजा अपडेट »

ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिन्छन् : पूर्वराजदुत उपाध्याय

शनिबार, २३ पुस २०७९

बुटवल । नेपाली काँग्रेसका नेता एंव भारतका लागि नेपालका पूर्वराजदुत दिपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने ठोकुवा गरेका छन् । पूर्वराजदुत उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरे ।

भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो पार्टी काँग्रेस सहित अन्य दलहरु समेत कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उपाध्यायले दलहरुभित्र रहेको भागवण्डा, गुटबन्दी नैतिक मुल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनितिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको बताए । बुटवलमा शनिबार रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यायले भने, चरम 'कू' राजनितिक मौलाउँदै गएकाले विरक्त भएर आफू अहिले सक्रिय राजनीतिबाट बिश्राम लिएको समेत बताए ।

उनले देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरु सच्चिन जरुरी रहेको उल्लेख गर्दै पछिल्लो राजनितिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनिति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनिति गरेको आरोप लगाए । नेपालमा गठबन्धन लोकतन्त्र मुल्य मान्यता बिपरित भएको उल्लेख गर्दै  पूर्व मन्त्री समेत रहेका उपाध्यायले सशस्त्र जनयुद्धका बेला माओवादीको एउटै मात्र एजेण्डा राजतन्त्र फाल्नु पर्ने भएपनि पछि विदेशी शक्तिहरुले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई देशमा छिराएर अस्थिरता ल्याउने काम गरेको बताए । उनले राजनीतिक दलहरुको दुरदर्शिताको अभावले विदेशी शक्ति केन्द्रहरुले चलखेल गरेको बताउँदै यस्तै अवस्था रहिरहे देश ठूलो संकटमा फस्ने ठोकुवा गरे ।

प्रचण्डले प्रधानमन्त्री दाबी गर्दा अन्य दलहरुले महत्वपूर्ण पदमा दाबी गर्नु स्वाभिक रहेको बताउँदै यो सरकारले विश्वासको मत ल्याउने कुरामा शंका व्यक्त गरे ।