ताजा अपडेट »

नेपाल-भारत खुला सीमाले रुपन्देहीका व्यवसायी मारमा

शनिबार, २३ पुस २०७९

बिुटवल । नेपाल भारत खुल्ला भन्सार नीति तथा बिचौलियाका कारण रुपन्देहीका उद्योगी व्यवसायीहरु मर्कामा परेको गुनासो गरेका छन् । तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं वार्षिक साधारण सभाको अवसमा सहभागी उद्योगी व्यवसयाीहरुले बैंक ब्याज, मौद्रिक नीति, कर्जा लगायतका समस्याका विषयमा वर्तमान सरकार गम्भिर बन्न आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले नयाँ सरकार गठनसँगै उद्योगी व्यवसायीहरुको समस्या समाधानमा हुने आशा जागेको उल्लेख गरे । सरकारले मुलुकको आर्थिक संकटलाई समाधान गर्नका लागि नीजि क्षेत्रलाई साथमा लिएर अघि बढ्नु पर्ने उनले बताए । उद्योगी व्यवसायीहरुको समस्य समाधानको लागि आफू र आफ्नो संस्थाले सधै आवाज उठाइरहेको बताउँदै उनले अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेट गरी आवश्यक सुझावसहित ध्यानाकर्षण गराउने काम भएको उल्लेख गरे ।

तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीले हालको अर्थतन्त्र, बैंक ब्याज उद्योगी व्यवसायीका समस्या समाधानका लागि स्थानीय सरकारको तर्फबाट सम्बन्धित निकायमा पहल गर्ने बताइन् । यसैगरी शिलान्यासपछि बिवादका कारण रोकिएको चेम्बरको सचिवालय भवन निर्माण कार्य अगाडि बढाउनका लागि आफ्नो एवं नगरपालिकाको तर्फबाट सहयोग सहकार्य गर्ने प्रतिवद्धता समेत गरिन् ।

वार्षिक उत्सवको अवसरमा अध्यक्ष बाबुलाल भुसालले संथाको कार्यप्रगति तथा आगामी कार्योजना प्रस्तुत गरे । उद्योगी, व्यावसायिकको समस्यका समाधानका साथै सामाजिक कार्यहरुलाई समेत निरन्तरता दिने उनले बताए । प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेको स्वागतसँगै भएको कार्यक्रममा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव तथा तिलोत्तमा चेम्बरका संस्थापक अध्यक्ष एवं संरक्षक झबिन्द्र प्रसाद कंडेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसोजु , तिलोत्तमा नगरपालिका-८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम बहादुर घर्ती, देवदह ब्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ्ग, ने.क.पा एमाले तिलोत्तमा नगर सचीव मिन प्रसाद पोख्रेल, तिलोत्तमा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र कार्की, लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा लेखापरीक्षकको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन एवं आगामी वर्षको अनुमानीत आय व्याय कोषाध्यक्ष बाबुराम कंडेलले प्रस्तुत गरेका थिए । महासचिव बिष्णु बहादुर बरालको सञ्चालनमा भएको कार्यक्रममा सचीव मान बहादुर बर्माले अतिथिहरुको स्वागत तथा व्यवस्थापन गरेका थिए ।