ताजा अपडेट »

जलविद्युत् निर्माणका लागि ८५ अर्बको लगानी स्वीकृत

सोमबार, १४ पुस २०७६

पुस १४,

काठमाडौँ । लगानी बोर्डले तीनवटा जलविद्युत् आयोजनाका लागि ८५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको बोर्डको ४२ औं बैठकले माथिल्लो त्रिशूली १, मस्र्याङ्दीबेंसी र माथिल्लो त्रिशूली ३ बी निर्माणका लागि लगानी स्वीकृत गरेको हो ।

बोर्डले माथिल्लो त्रिशूली १ जलविद्युत् परियोजनाका लागि करिब ६५ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका लागि अन्तर्राष्ट्रिय ९ बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्ने गरी लगानी बोर्डसँग सम्झौता गरिसकेको छ । नेपाल र कोरियाको संयुक्त लगानीमा निर्माण हुन लागेको यो आयोजना २१६ मेगावाट क्षमताको छ । आयोजना निर्माणका लागि ऋण दिने बैंकहरू र आयोजना विकासकर्ता नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतासँगै विदेशी ऋण लगानीमा निर्माण हुन लागेको यो अहिलेसम्मकै ठूलो जलविद्युत् परियोजना हुने बताइएको छ । आयोजना सम्पन्न गर्न ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण र ३० प्रतिशत स्वपूँजी (इक्विटी) रहनेछ । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको अब निर्माण कार्य सुरु हुनेछ । सरकारले आयोजनालाई १० वर्ष पूरै र ५ वर्ष ५० कर्पोरेट ट्याक्स छुट दिनेछ । नेपाल विद्युत् प्राधिकरणले आयोजना प्रवद्र्धक नेपाल वाटरसँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । ३० वर्षका लागि पीपीए भएको हो ।

सुक्खा यामको ६ महिनामा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । रसुवामा अवस्थित यस आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ । यस परियोजनामा एसियाली विकास बैंकले ६ करोड, विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले १६ करोड १३ लाख, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकले ९ करोड, कोरियन निर्यात आयात (एक्जिम) बैंकले १० करोड ऋण प्रवाह गर्नेछन् ।- राजधानीबाट