ताजा अपडेट »

निस्पक्ष रुपमा प्रदेशको बिकासमा लागौं: पाण्डे

सोमबार, १८ पुस २०७९

भैरहवा । लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दोश्रो बैठक सम्पन्न भएको छ । बैठकमा बोल्दै रुपन्देही ३ (क) का प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले सत्ता पक्ष र विपक्ष नभई निष्पक्ष रुपमा मिलेर प्रदेशलाई अगाडी बढाउनु पर्ने धारणा राखेका छन् ।

पहिला अधिवेशनको दोश्रो बैैठकमा निर्वाचित प्रदेशसभा सदस्यलाई शुभकामना दिने क्रममा पाण्डेले अहिलेको आर्थिक क्षेत्र उकास्न सबै लाग्नु पर्ने बताए । “हामीनै यो आपदाको सामना गर्ने पहिलो पुस्ता र समाधान गर्ने अन्तिम पुस्ता हौ भन्ने तरिकाले सोच्यौ भने परनिर्भरताबाट जोगिन्छौ ।” पाण्डेले भने “गएका माननीयले गरेनन्, आउनेले गर्दिन्छन भन्ने सोच राख्यौ भने पक्कै सक्दैनौं ।”

लामो संघर्षपछि मात्र संघियताको माध्यमबाट प्रदेश सभाको स्थापना भएको बताउदै उनले केन्द्र सरकारको दृष्टि सबै क्षेत्रमा नपुगे नै यसको स्थापना भएको उनले जिकिर गरे । यसकारण सबै मिलेर निस्पक्ष तरिकाले प्रदेश सभालाई अगाडी लैजानु पर्ने उनले तर्क गरे । प्रदेशमा उद्योगी ब्यवसायीको संख्या बढी रहेको कारण प्रदेशमा आर्थिक संकटबाट निकाल्न प्रदेश सरकारले भूमिका खेल्नु पर्ने बताए ।

उनले लुम्बिनीको १२ वटै जिल्ला पर्यटकिय रुपमा प्रसिद्ध रहेको कारण लुम्बिनीलाई केन्द्रमा राखी प्रदेशलाई नै पर्यटकिय प्रदेशको रुपमा बिकास गर्न सरकार अगाडी बढनुपर्ने पाण्डेको भनाई थियो । दोश्रो कार्यकालको पहिलो अधिवेशनको दोश्रो बैठकमा सभामा सहभागी दश वटै दलका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

सभामा क्रमशः भगवती चौधरी, तारा थापा, चन्द्रेश्वर गुप्ता, सन्तोष कुमार पाण्डे, भण्डारीलाल अहिर, धर्म बहादुर चौधरी, आशिष कुमार चौधरी, जोख बहादुर महरा, डिल्ली बहादुर चौधरी र लिला गिरीले आफ्नो भनाई राखेका थिए । सभाले लुम्बिनी प्रदेश सभा नियमानवली–२०७९ पनि पारीत गरेको छ ।