ताजा अपडेट »

उच्च शिक्षा अध्ययनका लागि चार महिनामै १२ अर्ब १७ करोड बाहिरियो

आइतबार, १३ पुस २०७६

पुस १३,

काठमाडौँ । उच्च शिक्षा अध्ययनकै नाममा चार महिनामै १२ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको छ । तर, गत वर्षको चार महिना (साउन, भदौ, असोज, कार्तिक)मा भन्दा यस वर्षको उक्त अवधिमा कम रकम उच्च शिक्षाका लागि विदेश गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्षको चार महिनामा १९ अर्ब ३१ करोड रुपैयाँ उच्च शिक्षा अध्ययनकै नाममा बाहिरिएको थियो ।

यसैगरी, चार महिनामै भ्रमणकै लागि २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ । गत वर्ष यो भन्दा पनि बढी रकम बाहिरिएको थियो। गत वर्षको सोही अवधिमा ३४ अर्ब ९१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्ष भन्दा यस वर्षको चार महिनामा २६।१ प्रतिशतले कमी आएको छ । नेपालीले विदेशमा घुमघाम र अध्ययनमा गर्ने खर्च घटेको छ  । केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालु वर्षको सुरुदेखि त्यस्तो खर्च घटेको राष्ट्र बैंकको गत कार्तिक महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएका हो । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाई गरेको, राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएको लगायतका कारण घुमघाम र अध्ययनका लागि बाहिरिने खर्च घटेको बताइएको छ  ।

राज्यको नीतिगत व्यवस्थाका कारण विदेश भ्रमणमा बाहिरिने खर्च घटेको हुन सक्ने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले पनि विदेशी मुद्रा सटही सुविधामा कडाइ गरेको छ । सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरी मातहतको मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ  । यसले पनि विदेशमा अध्ययन र भ्रमणमा जानेमा कमी आएको अनुमान गरिएको छ । तर, आर्थिक वर्षको चार महिनामा विदेश अध्ययन र भ्रमणको खर्च घट्यो भन्दैमा यसलाई सुधारका रुपमा विश्लेषण गर्न नसकिने विज्ञहरुको भनाईं छ । गत वर्ष विदेशमा अध्ययनकै लागि ४६ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको सरकारी तथ्यांक छ  । अघिल्लो वर्ष यस्तो रकम ३८ अर्ब ८ करोड रुपैयाँ थियो  ।

भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत राष्ट्रमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै हरेक वर्ष मुलुकबाट बाहिरिने विदेशी मुद्राको परिमाण पनि बढेको प्रतिवेदनमा जनाइएको थियो  ।शिक्षामा हरेक वर्ष ठूलो रकम बाहिरिन थालेपछि सरकारले पनि विदेशमा अध्ययनका लागि कडाइ गर्ने कि भन्ने विषयमा नीति निर्माण तहमा छलफल सुरु गरेको छ भने नैतिक रूपमा निरुत्साहित गर्न थालेको छ  । यही कारण चालु आर्थिक वर्षको सुरुदेखि नै सुधार देखिन थालेको राष्ट्र बैंकको दाबी छ  ।चालु आर्थिक वर्षको बजेटमा विदेशी अध्ययनलाई कडाई गर्ने कि भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो  ।

छलफलमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत मुलुकबाट पछिल्लो समयमा रेमिट्यान्स बढ्न थालेको र विदेशमा अध्ययन गरी स्वदेश फर्किने प्रवृत्ति सुरु भएकाले भन्दै विदेशमा अध्ययनलाई कडाइ गर्ने बेला भइनसकेको निष्कर्ष निकालियो  । सोही कारणलगायत पछिल्लो समयमा दुई वटा तर्क बलियो भएपछि उक्त विषय अन्तिम समयमा बजेटमा राखिएको थिएन  । एकैपटक बन्द नै गर्नुको साटो बिस्तारै निजी खर्चमा विदेश पढ्न जाने प्रवृत्ति नियन्त्रण गरिँदै जाने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए  ।-आर्थिकन्यूज