ताजा अपडेट »

उपकरण अवतरण प्रणाली लागु नहुदाँ भैरहवा बिमानस्थल प्रभावित

शनिबार, १६ पुस २०७९


भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणको लागि अक्टोबर देखि मार्च महिना सम्म उत्तम मान्निछ । अधिकांश पर्यटकहरु यी महिनामै लुम्बिनी भ्रमणको कार्यक्रमहरु बनाईरहेका हुन्छन् । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल निर्माण पछि पर्यटन ब्यवसायीहरु हर्षित भएका थिए । तर पर्यटक आउने मूख्य सिजनमै हवाई उडानहरु अवरुद्ध हुदा उनिहरु निराश हुन परिरहेको छ ।

अहिले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा खराब मौषमका कारण अवतरण गराउन नसक्ने भन्दै उडानहरु स्थगित हुन थाले पछि पर्यटन ब्यवसाय प्रभावित भएको छ । पर्यटकहरुलाई मौषमकै कारण बुकिङ्ग गर्न नसकेको नेपाल टुर्स एण्ड ट्राभल एजेण्ट संघ (नाट्टा) को प्रदेश अध्यक्ष रचना पन्तको भनाई छ । “पुस, माघ, फागुन पर्यटकहरु घुम्न रुचाउने महिना हो, पर्यटकको आफ्नै समय, गन्तब्य र प्याकेज हुन्छ ।” पन्तले भनिन “यस्तो समयमा हुस्सु लगायतको प्राविधिक कारणले उडान रद्द गर्नुपर्दा पर्यटकहरु नमिठो मान्ने गरेका छन् ।” यी सबै समस्याको निराकरणको लागि नागरिक उड्डययन प्राधिकरणले प्रयास गर्नुपर्ने पन्तको भनाई छ ।

हाल अन्ताष्ट्रिय उडान गरिरहेका जजीरा एयरवेज र हिमालय एयरलाईन्सले आफ्नो उडानहरु रोकेका छन् भने आन्तरिक उडान समेत नियमित हुन सकिरहेको छैन । जजीराले डिसेम्बर सम्म उडान रोकेको जनाए पनि खराब मौषमका कारण यो समय अझै लम्बिनै निश्चित रहेको । अहिले भैरहवा तथा यस आसपासको भिजिविलिटी २ सय मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे भने आन्तरिक उडान हुने र नभए उडान नै नहुने अवश्था छ ।

गौतमबुद्ध अन्र्ताष्ट्रिय बिमानस्थलमा उपकरण अवतरण प्रणाली (ईन्स्ट्रमेन्ट लैण्डिङ्ग सिस्टम– आईएलएस) उपकरण रहेको बिमानस्थल हो । आईएलएस एक सटीक रेडियो नेभिगेसन प्रणाली हो जसले विमानहरूलाई रातमा वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ । अरु बेला १ हजार ५ सय मिटरको भिजिविलिटी आवश्यक पर्नेमा आईएलएसको सहयोगमा ८ सय मिटर सम्मको भिजिविलिटीमा हवाईजहाज अवतरण गराउन सकिने बिमानस्थलका प्रमुख गोविन्द प्रसाद दहाल बताउछन् । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल क्याट–२ को लागि पनि तयार गर्न सक्ने गरि लगानी गरिएको छ । पछि क्याट–२ मा लैजान सहज भन्ने उद्देश्यले सो सम्बन्धि केही उपकरण तथा बत्तीहरु अहिले नै जडान गरि सकिएको छ ।

गौतमबुद्ध अन्र्ताष्ट्रिय बिमानस्थलमा उपकरण अवतरण प्रणाली रहे पनि यो उपयोगमा आउन सकेको छैन । यसको प्रयोगमा भारतीय आकाश पनि प्रयोग हुन सक्ने भएकोले भारतको स्विकृति आवश्यक पर्ने बिमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दहालको भनाई छ । “आईएलएसमा अवतरण गराउदा सीमामा रहेको बिमानस्थल भएको कारण भारतको पनि केही आकाश प्रयोग हुन सक्छ ।” दहालले भने “यसको लागि भारतको स्विकृति आवश्यक पर्ने हुदा माथिल्लो निकायमा कुराकानी हुनु पर्छ ।”

गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल निर्माण पछि यहाका निजि क्षेत्रले पनि यस क्षेत्रमा उल्लेख्य लगानी गरेका छन् । तर पूर्ण रुपमा बिमानस्थल सञ्चालनमा नआउदा यहाको निजि क्षेत्रलाई चिन्ता थपिएको छ । भैरहवाबाट २ वटा हवाईजहाजले उडान गरिरहेकोमा अहिले त्यो पनि नहुदा यहाको निजि क्षेत्र चिन्तित भएका छन् ।

अन्र्तराष्ट्रिय स्तरको प्रविधिहरु हुदा पनि बिमानस्थल सुचारु हुन नसक्नु भनेको सरकारको कमजोरी रहेको निजि क्षेत्रको भनाई छ । सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाका अध्यक्ष भिष्म न्यौपानेका अनुसार भएको सु्विधा पनि प्रयोग गर्न नसक्दा अहिले बिमानस्थल बन्द रहेको छ । “यत्रो लगानी भई सकेको प्रविधिलाई केही प्राविधिक कारणले गर्दा रोक्न् उचित हैन ।” न्यौपानेले भने “यसको सञ्चालनको लागि सरकारले भारत सरकारसंग समन्वय गर्न नसकेको कारण नै यो अवश्था आएको हो ।”

२०२१ सालमा घासे हवाई मैदानबाट सुरु भएको भैरहवाको बिमानस्थल २०२३ सालमा आन्तरिक बिमानस्थलको रुपमा हालको स्थानबाट सुचारु रहेको छ । २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री शुशिल कोईरालाले अन्र्तराष्ट्रिय बिमानस्थलको शिलान्यास गर्नु भई करिब ३५ अर्बको लागतमा निर्माण भएको बिमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले उदघाटन गरेका थिए ।

करिब ८ सय बिघामा फैलिएको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा ३ किलोमिटरको रनवे रहेको छ । फोर ई क्याटेगरीको बिमानस्थलमा नवौं क्याटेगरीको दमकलहरु रहेका छन् । त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल सरहको उडान र अवतरण हुन सक्ने यहा ४ वटा न्यारोबडी र १ वटा वाईडबडी गरि ५ वटा सम्म अन्र्ताष्ट्रिय जहाज पार्किङ्ग गर्न सकिन्छ ।

गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा हाल सम्म १ सय ५४ अन्र्तराष्ट्रिय उडान र त्यत्ति संख्यामै अतवतरण भएका छन् । यस अवधिमा १३ हजार ५ सय ९३ जना यात्रुहरु आएका र १८ हजार २५ जना यात्रु गएको गरि जम्मा ३१ हजार ६ सय १८ जना यात्रुले बिमानस्थल प्रयोग गरेको बिमानस्थलका प्रवन्धक दहालले बताए । ।

भैरहवा बिमानस्थलमा हाल अन्र्तराष्ट्रिय वायु सेवाहरुलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, संचार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो बर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ । यसैगरि नेपाल वायु सेवा निगमले लिने ग्राउण्ड हैण्डलिङ सेवा शुल्कमा कार्तिक १५ गते देखी लागु हुने गरि ५० प्रतिशत छुट दिईरहेको छ ।