हो क्षण आउँछ अनि जान्छ। तर कतिपय परिस्थितिमा क्षण अत्यन्त महत्वपूर्ण हुन्छ । संवेदनशील हुन्छ, निर्णायक हुन्छ । तसर्थ त्यो क्षणको स्टाटस र संवेदनशीलताको पहिचान गर्नु पर्दछ। आफ्नो पकडमा राख्नु पर्दछ। कत्ति पनि समय खेर नफालि तत्काल सदुपयोग गरिहाल्नु पर्दछ। अन्यथा परिणाम प्रतिकूल हुन् सक्छ।
समय परिस्थिति अनुसार पैदा हुने क्षणको तात्कालिक महत्व पहिचान र सोही आधारमा सदुपयोगले आफ्नो अनुकूलको नतिजा प्राप्तिमा निकै महत्व राख्दछ। राजनीतिको निर्णायक स्थितिमा क्षणले त झन ठूलो महत्व राख्दछ। किनकी त्यो क्षणको सही पहिचान भएन वा सही पहिचान भएर पनि सदुपयोगको क्रममा खिचखिचको कारण समय खेर फालेमा उलटपुलट हुन सक्छ। पासापलट पनि हुन सक्छ। संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने क्रममा २०७९ पुष १० गते यस्तै भएको थियो। पलमा सत्तापलट भयो।
२०७९ मंसिर ०४ को निर्वाचनबाट नेपाली कांग्रेस संसदमा ठूलो दल (कूल ८९ सीट) बन्यो। माओवादी (केन्द्र) ३२ सीटमा खुम्चियो।तैपनि निर्णायक शक्ति बन्यो। पाँच दलिय गठबन्धनले बहुमत ल्याउन सकेन्। कूल १३६ सीट मात्र प्राप्त गर्यो।अन्य दलहरूलाई सम्मिलित गराउने,सरकार गठन गर्ने र गठबन्धनलाई निरन्तरता दिनमा नेताहरू प्रयासरत थिए ।माओवादी लगाएत अरू दलहरूलाई सरकारमा सम्मानजनक हिस्सा दिने,राजनीतिक साथ नछोड्ने कांग्रेस नेताहरू व्यक्त गरिरहन्थ्ये। अबको सरकार दाहालको नेतृत्वमा गठन हुने भद्र सहमति (Gentlemen agreement) देउवा र दाहाल बीच भएको तथ्य पनि सार्वजनिक भयो। तथापि ठूलो दल भएकोले प्रधानमन्त्री र राष्ट्रपति आफ्नो पार्टीले लिने ढिपीमा कांग्रेसले अडान लियो। दाहाल पनि प्रधानमन्त्री आफूले पाउनु पर्ने टेकमा अडियो।
निर्वाचनमा गठबन्धनको दलहरू बीच मत ट्रान्स्फर त भएकै हो। कांग्रेसको मत मात्र सहयात्री दलहरूमा ट्रान्स्फर भएको पक्कै होईन्। गठबन्धनले सरकार गठन गर्न नसकेमा दोस्रो ठूलो दल ऐमाले (कूल ७८ सीट) ले सरकार गठन गर्ने उद्धोष ओलीले गरिनै रहेका थिए। दाहाल जता ढल्कियो उता पल्ला भारी हुने संवेदनशील जोखिमयुक्त क्षण त थियो नै। त्यो क्षणलाई पकडमा लिन कांग्रेस गम्भीर भएन। अन्तिम समयसम्म प्रधानमन्त्री र राष्ट्रपति पदको अडान नछोडने, माओवादीलाई हरतरहबाट दबाबमा राख्ने, स्थिति आफ्नो अनुकूल नबनेमा कसो गरी भएपनि राष्ट्रपति समक्ष प्रधानमन्त्रीको नाम पठाउने समय घर्काउने ताकमा कांग्रेस थियो। किनकी तोकिएको समय भित्र राष्ट्रपति समक्ष प्रधानमन्त्रीको नाम पठाउन नसके धारा ७६ को उपधारा २ निष्क्रिय हुनेछ। त्यो अवस्थामा प्रधानमन्त्रीको चयन उपधारा ३ बमोजिम गर्नु पर्ने हुन्छ । सबै भन्दा ठूलो दल कांग्रेसलाई नै सरकार गठन गर्ने र ३० दिन भित्र विश्वासको मत प्राप्त गर्ने अवसर प्राप्त हुन्छ। राजनीतिमा ३० दिन भनेको पर्याप्त समय हो। कांग्रेसमा ओवर कन्फिडेंसको दम्भ जाग्यो। माओवादीलाई सक्दो मिनिमाइज गर्न खोज्यो। नतीजा उलटपुलट भयो। अति गर्नू अतिचार नगर्नू भने जस्तै भयो।
ऐमाले दोस्रो ठूलो दल भएतापनि तेस्रोठूलो दल माओवादी (केन्द्र) को अध्यक्ष एवं संसदीय दलको नेता दाहालको प्रधानमन्त्रीत्वमा सात दल तथा तीन स्वतन्त्र सांसद सम्मिलित मिलीजुली सरकार गठन गरेर तात्कालिक राजनीतिक क्षणलाई आफ्नो पकडमा राख्न र परमादेश सरकारको पाँच दलीय गठबन्धनलाई तोड्न ओली सफल भए । क्षण पकड राजनीतिक रणनीतिको एउटा महत्वपूर्ण कौशल हो। कांग्रेसको डेढ अक्कली नेताहरूमा त्यो कौशल देखिएन्। तब त सत्तारोहणको क्षणलाई पक्डन सकेनन् । होल्डिंगमा राखिरहे, परिणामतः सत्ता पकड भताभुङ्ग भयो। पटके सत्तारोहीहरूको सपना पलमा स्खलित भयो।सत्तापलटको सम्पूर्ण दोष अन्य दलहरूमाथि थोपर्नु आफ्नो कमजोरी लुकाउनु हो। त्यसो गर्नु भनेको आत्मघाती हो। अब कांग्रेस आफूलाई कसरी प्रस्तुत गर्छ। जनता प्रतीक्षारत छन्।
प्रतिक्रिया