ताजा अपडेट »

कृषकलाई शुन्य ब्याजदरमा ऋण: मूख्यमन्त्री पोखरेल

शनिबार, १२ पुस २०७६

पुस १२,

ग्लोबल आवाज

बुटवल । प्रदेश नम्बर पाँचका मूख्यमन्त्री शंकर पोखरेलले कृषकलाई शून्य प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनका लागि बैंक तथा वित्तिय संस्थाहरुसँग छलफल भैरहेको बताएका छन् । कृषिको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि बिना ब्याज ऋण उपलब्ध गराउने तयारी गरिएको उनले बताए । सरकारले दिने कृषि अनुदान रकममा देखिएको विक्रिती अन्त्य गर्नका लागि समेत यसले सहयोग गर्ने मूख्यमन्त्री पोखरेलले बताए । ‘अनुदान रकमलाई रोकेर शून्य प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदा सकारात्मक प्रभाव पर्छ भन्ने ठानेका छौ ।’–उनले भने ।

नेपाल डेरी एसोसिएशनको शनिबार बुटवलमा आयोजित २१ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रदेश नम्बर पाँचमा बाँडीएको कृषि अनुदानमा भएको अनियमितता बारे बोल्दै उनले मापदण्ड पुरा नगरेका तथा दुरुपयोग गरेका कृषकहरुलाई मापदण्ड पुरा गर्नका लागि ४ महिनाको समयावधि दिइएको जानकारी गराए । मापदण्ड पुरा नगरेका कृषकहरुले ४ महिनाको अवधिमा पनि नियमानुसार नगरे अनुदान फिर्ता गरने तथा दण्ड जरिवाना समेत गर्न सकिने उनले बताएका छन् । ‘राज्यको रकम दुरुपयोग गर्ने अधिकार कसैलाई पनि छैन ।’– पोखरेलले अघि भने ‘दुरुपयोग भएको रकम सुरुमा फिर्ता, पछि दण्ड जरिवाना पनि हुन्छ ।’ फरक प्रसङ्गमा मूख्यमन्त्री पोखरेलले सरकारले पाउडर दुध आयातमा रोक लगाएर सकारात्मक प्रभाव देखिएको बताए । यसैगरी दुग्ध उत्पादक तथा कृषकका लागि सरकारले उपलब्ध गराउने गरेको उत्पादनमा आधारित अनुदान कार्यक्रम प्रभावकारी देखिएको दाबी गरे ।

एसोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उप–महानगरपालिका मेयर शिव सुवेदी, प्रदेश नं. ५ दुग्ध विकास संस्थानका महाप्रबन्धक बैकुण्ठ अधिकारी, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका डेरी विज्ञ लालकुमार के.सि, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका महाशाखा प्रमूख डा.तुलसी भण्डारी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका डा. प्रदिप पौडेल, जिल्ला खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमूख विमल दाहाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम बहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा लगाएतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका प्रदेश नं. ५ संयोजक कृष्ण भट्टराईले स्वागत तथा संस्थाका प्रथम उपाध्यक्ष राजन चिमरियाले धन्यवाद ज्ञापन गरेका थिए ।