ताजा अपडेट »

बैंक ज्यादती बिरुद्ध आन्दोलित उद्योगी ब्यवसायी भन्छन्- “भूत” बनेर तर्साउछौँ

मंगलबार, १२ पुस २०७९

भैरहवा । बैंक तथा बित्तिय संस्थाले उद्योगी ब्यवसायीमाथी ज्यादती गरेको निष्कर्ष निकाल्दै यहाका उद्योगी तथा ब्यवसायीहरु आन्दोलित भएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यपार संगठन रुपन्देहीको संयुक्त आन्दोलनमा ब्यवसायीहरु शान्तीपूर्ण आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनको पहिलो दिन नेपाल राष्ट्र बैंक अगाडी ब्यवसायीहरुले धर्ना दिदै बैंकको ज्यादतीमा परि कुनै ब्यवसायीले आत्महत्या गर्नुपरे भूत बनेर बैंकर्सहरुलाई तर्साउने चेतावनी दिएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव बिजय पाण्डेले बैंकको यातना बढ्दै गएको आरोप लगाउदै ब्यवसायीहरु आत्महत्या गर्ने मनस्थितिमा पुगेको बताए । “बैंकले पसलमा ताला हानी पसल अगाडी गार्ड राखेका छन, कामै गर्न नपाएर ब्यवसायीहरु आत्महत्या गर्ने अवश्थामा पुगेका छन् ।” पाण्डेले भने “याद राख्नुस हामी ब्यवसायी मर्यौ भने तपाईहरुलाई भूत बनेर तर्साउन आउछौं ।”

बैंकका कर्मचारी ब्याज र सावा भन्दै घरमै आउने गरेको बताउदै ब्यवासायीहरु अवश्था यस्तै रहे प्रतिकारमा उत्रिने चेतावनी समेत दिएका छन् । बैंकर्सहरुको क्रियाकलापले ब्यवसायी मात्र नभई घरका परिवारहरु पनि तनावमा रहने गरेको उनिहरुको भनाई छ । वर्तमान परिस्थितिमा बैंकको ब्याज र सावा तिर्नै नसक्ने बताउदै ब्यवसायीहरुले कर्जाको सीमा बढाउन माग गर्दै आएका छन् । उद्योग ब्यपार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले कर्जाको ब्याजलाई एकल अंकमा झार्नुपर्ने, स्प्रेड दर १ प्रतिशत कम गर्नु पर्ने, बेसरेटलाई यथासक्दो न्यूनतम बिन्दुमा सार्नुपर्ने, पूजिगत खर्च हुन नसकेको वर्तमान अवश्थामा नेपाल राष्ट्र बैंक मार्फत कर्जा प्रवाह गर्नु पर्ने, चालु पूजि खर्च निर्देशिका २०७९ खारेज गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा होमिएको बताए ।

वर्तमान अवश्थामा साना ब्यपारी मात्र नभई ठूलो लगानी गरेका उद्योगीहरु पनि संकटमा रहेको ब्यवसायीहरुको भनाई थियो । चालु पूंजि कर्जा निर्देशिकाको आँडमा बैंकहरुको ज्यादती बढ्दै जादा यसको असर समग्र अर्थतन्त्रमा परेको नेपाल उद्योग बाणिज्य महासंघका सदस्य राजेश कुमार अग्रवालले बताए । बैंकले ब्याज बढाउदा मानिसको क्रय शक्ति र बस्तुको माग समेत घटदै गएको उनले बताए । नेपाल राष्ट्र बैंकको निति र फितलो अनुगमनको कारण बैंकहरु जथाभावी लगानी गरेको अग्रवालको भनाई छ । अहिलेको अवश्थाको मूख्य दोषी केन्द्रिय बैंक नै हो, यसले हरेक क्षेत्रमा अस्वस्थ प्रतिष्प्रर्धा बढाएको छ ।” उनले भने ।

अहिले बैंकहरुमा ब्याजको अस्वस्थ प्रतिष्प्रर्धा बढदै गएको बताउदै उनले भविष्यमा यसले बैंकहरु पनि अहिलेको सहकारी संस्थाको हालतमा पुग्ने दावी गरे । “अहिले घर बसी बसी १२–१३ प्रतिशत ब्याज पाईरहेका हामीले सोचिरहेका छौं, यस्तो अब हुनेवाला छैंन ।” अग्रवालले भने “आउने ६ महिना वा १ बर्षमा सबै निक्षेपकर्ताहरु लाईन लागेर सहकारी संस्थाहरु जस्तै निकाल्नु पर्ने अवश्था आउदै छ ।” धर्ना कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका सदस्य महेन्द्र कुमार श्रेष्ठले बैंकहरु बिरद्ध पनि प्रतिकार गर्ने अवश्था आएको बताए । उनले अब उद्योगी ब्यवसायीहरु पनि बिशेष किसिमले जाने बताए । “जुन बैंक वा बित्तिय संस्थाको कारण ब्यपारीहरु आत्महत्या गर्न बाध्य हुन्छन त्यही बैंक÷ बित्तिय संस्थालाई हामीले पनि आतंकित बनाउने छौं ।” श्रेष्ठले भने “अहिले हामी शान्तीपूर्ण तरिकाले बाटोमा उभिएका छौं, हाम्रो माग सुनुवाई नभए बिगतका आन्दोलन भन्दा कडा रुपमा उभिने छौं ।”

भैरहवाका ब्यवसायीहरु यस अघि पनि बैंकहरुले आफुखुशी ब्याज बढाएको र अर्थतन्त्र चलायमान नरहेको अवश्थामा पुस महिनाको ब्याज र सावा समेत तिर्न नसक्ने घोषणा गरेका छन् । ब्यवसायीहरुले कर्जालाई रि–सेड्युल गर्न पनि आवाज उठाउदै आएका छन् । सरकारले ब्यवसायीहरुबाट लिएको करको समेत सदुपयोग गर्न नसकेको आरोप लगाएका छन् । उद्योग बाणिज्य महासंघ, लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले कोभिडको कारण अहिले अधिकांश उद्योग ब्यवसाय बन्द रहेको अवश्थामा बित्तिय संस्थाहरुको ज्यादती बढदै गएको बताए । बैंक ब्याज बिरुद्ध महासंघले गुहार गरे पनि राज्यले सुनुवाई नगरेको कारण आफुहरु बाध्य भएर आन्दोलनमा जानु परेको उनको भनाई छ । सरकारको नितिका कारण वर्तमान अवश्थामा लुम्बिनी प्रदेशमा उद्योग तथा ब्यवसायहरु बन्द भई रहेको बताउदै उनले यो अवश्थामा बैंक ब्याज र किस्ता तिर्न नसकिने बताए ।

“यसो भनिरहदा हामीले तपाईको ब्याज र किस्ता तिर्दैनौ भनेका हैनौं, तिर्छौ तर यसको बिधि ब्यवस्था मिलाईदिनुस मात्र भनेका छौं ।” शर्माले भने “बिधि ब्यवस्था भनेको तिर्ने समय बढाईदिनुस, कर्जा रि–सेड्युल गरिदिनुस मात्र भनेका छौ ।” उनले अहिले संकटपूर्ण अवश्थामा बित्तिय संस्थाहरुले सहकार्य गर्नु पर्ने अवश्थामा चरम यातना दिई रहेको गुनासो गरे । सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यपार संगठन रुपन्देहीको संयुक्त आयोजनामा भएको बिरोध ¥याली बिभिन्न माग बोकेको प्लेकार्ड सहित राष्ट्र बैंक पुगेको थियो । राष्ट्र बैंक अगाडी करिब १ घण्टाको धर्ना पछि कोण सभा गर्दै कार्यक्रम सकिएको थियो । आन्दोलनको अर्को चरण अनुसार भोली पुनः राष्ट्र बैंक अगाडी धर्ना दिई कर्मचारी/सेवाग्राहीलाई राष्ट्र बैंक प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले जानकारी दिए ।