पुस १२,
ग्लोबल आवाज
बुटवल । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका बुटवल–११, देवीनगरमा सञ्चालन भएको औद्योगिक व्यापार मेलामा शनिबार एकैदिन ५० हजार बढी दर्शकले मेला अवलोकन गरेका छन् । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भएको २० औं संस्करणको मेलामा चौंथो दिन शनिबार मात्रै ५० हजार बढी दर्शकले मेला अवलोकन गरेको हुन् । यहि पुसको ९ गतेदेखि शुरु भएको मेलामा हालसम्म ८५ हजार दर्शकले मेलाको अवलोकन गरिसकेका छन् । बिदाको दिन भएका कारण शनिबार दर्शकको उपस्थिती बाक्लो भएको मेला कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए ।
मेलामा औद्योगिक उत्पादन तथा प्रविधी समेतको प्रवद्र्धन गर्नेगरी ५ सय स्टल राखिएको छ । मेलामा राखिएका स्टलमा समेत अवलोकन कर्ता तथा दर्शकको उत्साहजन सहभागिता भएको स्टल धनीहरुले बताएका छन् । मेलामा राखिएको कृषि संग्राहलय, माटो बिना गरिने खेती प्रणाली (हाईड्रोपोनिक्स प्रविधी) बिशेष प्रकारले गरिने मौरी पालन पद्धती, पानीबाट चल्ने गाडी लगायतका स्टलमा दर्शकको भिड लागेको छ । शनिबार बढी भिड भएका कारण दर्शकलाई सहजताको लागि काउन्टर बाहेक पनि टिकट काट्ने व्यबस्था मिलाईएको कार्यसम्पादन समितिका सह–संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले बताए ।
शनिबार मेलामा आधुनिक गायक सत्यराज र स्वरुपराज आचार्यको प्रस्तुतीले चिसो मौषमलाई तताएको थियो । उनीहरुको प्रस्तुतीले दर्शकको मन जितेको थियो । त्यस्तै लोक तथा दोहोरी गायक कृष्ण रेउले, प्रचण्ड जिसी, रितु थापा, कल्पना कुसुमको विशेष प्रस्तुती रहेको थियो, त्यस्तै भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती रहेको थियो । आईतबार ईन्द्रेणीको दोहोरी कार्यक्रम, लोक तथा दोहोरी गायक विष्णु खत्री, दिपु मगर, शर्मिला विश्वकर्मा, विष्णु श्रीपाली, डान्सर करिस्मा ढकाल र राज केसीको प्रस्तुती रहने मेला सचिवालयले जानकारी गराएको छ । त्यस्तैगरी भ्वाईस अफ बुटवलको नियमित फाईनल प्रतिस्पर्धा जारी रहनेछ भने बिद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता सुरु हुनेछ ।
प्रतिक्रिया