ताजा अपडेट »

अर्थ राजनीति : कुरा विकास र समृद्धिका

शुक्रबार, ११ पुस २०७६

‘समृद्धि’ पछिल्लो समय मुलुकमा बहसको मूल विषय बनेको छ। समृद्धि हामी सबै नेपालीको चाहना र आशा हो । समृद्धि, विकास प्रयासको उच्चतम प्राप्ति हो । संक्षेपमा ‘समृद्धि’ शब्दले ब्यक्तिको सम्पन्नतालाई जनाउँछ । यो सम्पन्नता विशेष गरी आर्थिक क्षेत्रसँग बढी सम्बन्धित रहेतापनि वृहद अर्थमा समृद्धि भन्नाले सम्पूर्ण सर-सुविधायुक्त, कुनै कुराको पनि अभाव नरहेको अवस्था हो भने सुखीको अर्थ दुःखको भाव नभएको शारिरिक र मानसिक कुनै प्रकारको दुःखको बोध नभएको अवस्था हो ।

हरेक नेपाली परिवारले मानवोचित जीवन जिउन पुग्ने गरी खर्च गर्ने सामथ्र्य प्राप्त गर्नु नै हाम्रो अर्थ र परिवेशको व्यवहारिक समृद्धि हो । विकास हासिल गरेपछी त्यसको पहिलो प्रभाव समृद्धि हो भने अन्तिम उपलब्धि सुख हो । समृद्धि विकासको भौतिक पक्ष हो भने सुख वा खुसी आध्यात्मिक / आत्मिक पक्ष हो । कुनैपनि देशको समृद्धि त्यही देशका नागरिकहरूको तन, मन, धन र विज्ञानबाट मात्र सम्भव हुन्छ । विपन्नताको अन्त्य गरी आर्थिक सम्पन्नता र वैभवपूर्ण सम्पन्नता सहितको समृद्धि निर्माण गर्नु नै आजको आवश्यकता हो । जनताबीच सुमधुर सम्बन्ध रहनु नै खुशी हो ।

उच्चदरको आर्थिक वृद्धि, सम्मानित रोजगारीको सिर्जना, व्यापार सन्तुलन, पर्यावरणीय सन्तुलनलाई केन्द्रबिन्दुमा राखी नागरिकलाई शान्तिपूूर्ण स्वतन्त्रता, स्वशासन, समतामूूलक तथा स्वाभिमानको प्रत्याभूूति सहित सम्पूर्ण विशेषताहरूको उपलब्धता भएको समाज निर्माण गर्नु नै वास्तविक रूपमा समृद्धि हो । सामान्य अर्थ र बुझाइमा विकास र समृद्धिलाइ आर्थिक विकाससँग मात्र जोडेर हेर्ने गरिन्छ । यद्यपि समृद्धिका सूूचकहरू बहु–आयामिक हुन्छन् । विकासको बृहद अर्थ सम्पूर्ण समाजको सुधार र रूपान्तरण हो । सम्पन्नता वा समृद्धि भन्नाले मूलतः धन÷ अर्थ भएता पनि यस भित्र सुख (सन्तुष्टि) र स्वास्थ्य जस्ता कुराहरू पर्दछन् जो निश्चित हद सम्म आर्थिक पक्षभन्दा भिन्न हुन्छन् ।

आर्थिक समृद्धि गुणस्तरीय जीवनको महत्वपूर्ण तत्व हो । यो कुरा पनि राष्ट्रका लागी विश्व अर्थतन्त्रमा प्रतिष्पर्धा गर्न आवश्यक पर्दछ । मूलतः उत्पादनमा आधारित अर्थतन्त्र क्रमशः नवपरिवर्तन (इनोभेसन) र श्रृजनात्मकतातर्फ उन्मुख हुँदैछन् । जीवनस्तर उठाउन र सम्पत्ति बढाउन अर्थतन्त्रले विविधतालाई समेट्नुपर्दछ, इनोभेशन, प्रतिष्पर्धा र उद्यमशिलतालाई प्रोत्साहन गर्नुपर्दछ । राष्ट्रिय समृद्धिका बेन्चमार्क - सामाजिक विकासका मापकहरू जस्तै गुणस्तरीय जीवन,मानविय तथा सामाजिक कल्याण आदि । शुद्ध आर्थिक अंकहरू जस्तै प्रतिब्यक्ति आय र कुल ग्राहस्र्थ उत्पादनले मात्र समृद्धिको सही मापन गर्दैनन् ।

अन्य तत्वहरू जस्तै खाद्य सम्प्रभूूता, खानेपानी, आवास, यातायात र सुरक्षा, आधारभुत शिक्षाको पहुँच, सूूचना, गुणस्तरीय स्वास्थ्य सेवा र दिगो वातावरण त्यस्तै राजनितिक र शुसासन सँग सम्बन्धित विषयहरू मानव अधिकार, छनोटको अधिकार, भेदभाव रहित समाज जस्ता कुराहरू उत्तिकै महत्वपूर्ण रहन्छन् । नर्वे विश्वको बस्न लायक उत्कृष्ट देश हो । त्यस्तै स्वीडेन, स्वीजरल्याण्ड, आइसल्याण्ड र न्यूजिल्याण्ड पनि । यी सबै देशहरू प्रजातान्त्रिक देशहरू हुन् नर्वेको कुल ग्राहस्थ उत्पादन (जिडिपि) को निर्माण प्रचुर प्राकृतिक श्रोत साधनको उचित प्रयोगबाट भएको हो । उसले सामाजिक र मानविय पूँजीमा ठूलो लगानी गरेको छ ।

यतिबेला हामी राजनीतिक आन्दोलन र उतार–चढावको लामो चरण पार गर्दै स्थीरताको चरणमा प्रवेश गरेका छौं ।अबको आम बहस आर्थिक विकास र समृद्धि भएको छ । यद्यपी, बोली र ब्यवहार बीचको सन्तुलन के कसरी अगाडी बढ्छ भन्ने नै मूल चासो हो ।आत्मानिर्भर अर्थतन्त्रको जग बसाल्नुपर्ने यतिबेलाको आवश्यकता हो । चुलिदो व्यापार घाटा ,रेमिट्यान्समा आधारित अर्थतन्त्र,वैदेशिक सहायतामा निर्भर रहनुपर्ने हाम्रो विकास परम्परालाई तोड्दै स्वाधिन अर्थतन्त्रको विकास गर्न अब ढिलो गरिनुहुन्न । भविष्यलाई वर्तमानसँग जोड्ने पुल योजना हो । यो रोडम्याप र गाइडलाईन हो । तर योजना जतिसुकै राम्रो भएपनि जबसम्म त्यसको सफल कार्यान्यन हुदैन त्यसले प्रतिफल दिन सक्दैन । केबल दिवास्वान मात्र हुन्छ । तसर्थ योजनाहरूको सही तर्जुमा गर्दै अल्पकालिन मध्यकालिन र दीर्घकालिन हिसाबबाट अगाडि बढ्नुपर्दछ ।

कपि पेष्ट विकासको आर्थिक मोडलले काम गर्दैन यद्यपि अरूले गरेको विकास हेरेर र बुझेर आफ्नै मौलिक मोडल तयार गरिनुपर्दछ । विश्वव्यापिकरणको वर्तमान परिवेश बुझ्दै अन्तरराष्ट्रिय आयामहरूको ख्याल राख्दै सोँचमा विश्व, ब्यवहारमा स्थानीयकरण भनने मर्म आत्मसाथ गरिनुपर्दछ । यसका लागि नीति/निर्माण महत्वपूर्ण पक्ष रहन्छ । जसले सहि दिशा निर्देशन गर्नेछ । हाम्रो मिसन र भिजन स्पष्ट हुनुपर्छ । हाम्रो औद्योगिक क्षेत्रको उत्पादन प्रणालि- कतै पहिलो आद्योगिक क्रान्तिको स्तरमा उत्पादनलाई यान्त्रिकरण गर्नेमा सिमित छ । केही दोस्रो औद्योगिक क्रान्तीको स्तर (बृहद उत्पादनमा) आधारित छ । त्यस्तै कतै इलेक्ट्रोनिक र सूचना प्रविधि(आइटि) उत्पादनकार्यलाई स्वचालित बनाउने स्तरको छ । अब एक्काइसौं शताब्दीको शुरुवात सगसगै चौथो औद्योगिक क्रान्तिको समय सुरु भैसकेको छ ।

जहाँ प्रविधिहरूको फ्यूजन भैरहेको छ । भौतिक, डिजिटल र जैविक पक्षहरूबिचको भेद छुट्टाउनै गार्हाे भइरहेको छ । यस्तो जटिलताको बीचबाट हाम्रो पूँजीवादी बाटो हुँदै संविधानले परिकल्पना कसरी पहिल्याउन सकौला बिचारणीय छ । के को समृद्धि ? कहाबाट आउछ समृद्धि  ? सर्वप्रथम हामीले हाम्रो साच्ने तरिका बदल्नु पर्दछ । साघुरो र पुर्वाग्रही सोंच त्याग्दै हरेक नागरिक जिम्मेवार हुनुपर्दछ । सकेसम्म धेरै भन्दा धेरै सम्पत्ति थुपार्ने । सकेसम्म सरकारलाई कर नतिर्ने वा कमभन्दा कम तिर्ने । देखासिकी गर्ने, सके युरोप अमेरिका नसके अरू बिकसित देश पस्ने, त्यो पनि नभए राजधानी या विकसित शहर ताक्ने । सन्तानलाई माध्यमिक शिक्षा सक्ने बित्तिकै विदेश पठाउने । सकेसम्म कुनैपनि काम नगर्ने तर सम्पत्ति थुपार्नुपर्ने जस्ता विकृत सोचाइ त्याग्नुपर्छ । हामी सामाजिक प्राणी हौं त्यसैले हाम्रो सोच आत्मकेन्द्रित मात्र हुनुहुन्न ।

सुन्दर योजना, सपना र कोरा कल्पनाले मात्र हुदैन । अब डेलिभरी दिने बेला आएको छ । एक दशक लामो राजनितिक सङ्क्रमणबाट हामी मुक्त हुँदै छौ । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनपछि मुलुक स्थीर र राजनीतितर्फ उन्मुख छ । त्यसैले अर्थतन्त्र र विकास सम्बन्धि प्रश्न अझै टड्कारो छन् । सामान्यतया हामी धेरैजसोले नेपाल सानो र गरीब देश भनेर बुझ्छौ । बास्तवमा नेपालले संयुक्तराष्ट्र सघंमा आबद्ध १९२ राष्ट्र मध्ये भुगोलका हिसावले ९४ औं स्थानमा छ । विश्वको ठूला सयौ अर्थतन्त्र भित्र नेपालको अर्थतन्त्र पर्दछ । झण्डै तीन करोड जनता बसोबास गर्ने नेपाल जनसङ्ख्याको हिसाबले विश्वको ४३ औं ठूलो देश हो । आधाभन्दा बढि जनसङ्ख्या २६ वर्षमुनिको छ । यो सङ्ख्या आर्थिक विकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने मानव पूँजीको ठूूलो हिस्सा हो ।

नेपालमा हामीले राजनीतिक नेतृत्वलाई मात्रै नेतृत्व ठान्ने र त्यहाँबाट मात्रै परिवर्तन हुनसक्छ भन्ने विश्वास गर्छौ । वास्तवमा नेताहरू पनि त हाम्रै समाजका उपज हुन् । त्यसैले भन्ने गरिन्छ ‘जस्ता जनता त्यस्तै नेता ।’ तसर्थ समाजको सकारात्मक परिवर्तन बिना राजनीतिक वा अन्य क्षेत्रको नेतृत्वमा बस्नेहरूको सोचमा परिवर्तन आउन सक्दैन । वास्तवमा यहि सकारात्मक परिवर्तन नै विकास हो र समृद्धिको आधार हो । नेपालको विकासको सम्भावना क्षेत्र र आधारबारे साठी वर्ष पहिले नै महाकवि लक्ष्मी प्रसाद देवकोटाले के नेपाल सानो छ भन्ने निबन्धमार्फत उजागर गरेकै हुन् । अर्थ मामिलाका लेखक तथा टिप्पणीकार सुजीव शाक्य लेख्छन् । “नेपालको समकालीन राजनीतिज्ञ र न्यूून आर्थिक विकासबारे ब्यवस्था गर्दा मुलुकको अर्थतन्त्रको इतिहास र त्योसँग जोडिएका धेरै धरोहरबारे जान्नुपर्छ । त्यसमा यि कुरा मुख्य रूपमा जोडिएका छन्  :-

१) राजनीतिक र आर्थिक शक्तिसँग जोडिएको जमिनमाथिको पहुँच
२) सरकार,कर्पोरेशन वा एनजिओमार्फत शक्ति केन्द्रहरूसँग बनाइराख्ने निकटता ।
३) संरक्षणवाद
४) कमिशन खोरी मानसिकता
५) विकास बाहिररबाट लादिएको संस्कृति हो भन्ने आमसोच
६) नागरिकद्वारा अवसरको खोजीमा निरन्तर विदेशिने । -लेखक पौडेल प्राध्यापन पेशामा संलग्न छन् ।