ताजा अपडेट »

रुरुधामकाे ५०० वर्ष पुरानाे मुकुन्देश्वर मन्दिरको पुनर्निर्माणका लागि बजेट

शुक्रबार, ०१ पुस २०७९

रिडीबजार । धार्मिक पर्यटनक्षेत्रकाे रुपमा विकास हुन लागेको रुरुधाममा पर्यटकीय सँभावनाका खाेजि गर्दै नयाँ सँरचना निर्माण कार्य भईरहेका छन भने पुराना धार्मिक ,साँस्कृतिक र ऐतिहासिक सँरचनाहरुकाे पुनर्निर्माण सँगै मर्मत सँभार पनि शुरु गरिएको छ ।

सँघ प्रदेश र स्थानीय निकायकाे समन्वयमा रुरुधामलाई पुनर्निर्माण र निर्माणकाे कार्यले गति लिन थालेकाे आभाष पाईएकाे छ । रुरुधामकाे गुल्मी तर्फ रहेकाे करिब पौने पाँच शताव्दि पुरानाे मणिमुकुन्देश्वर महादेव मन्दिरकाे पुनर्निर्माण हुने गरि कार्य अगाडी बढेकाे छ । बिक्रम सम्वत १५३० मा पाल्पाली राजा मणिमुकुन्द सेनले याे मन्दिर निर्माण गरेकाे इतिहास छ ।

सबैभन्दा अचम्मकाे कुरा त याे मन्दिर निर्माण भएकाे उचाई र मणिमुकुन्द सेनले नै स्थापना गरेकाे ऋषिकेश मन्दिर रहेकाे स्थान समदुरीमा छ र उत्तिकै उचाइमा रहेकाे छ भने वारि मणिमुकुन्देश्वर मन्दिरकाे गजुर र पारी ऋषिकेश मन्दिरकाे गजुरकाे उचाइ समेत समदुरीमा रहेकाे छ । ईतिहास भन्छ पाल्पाली राजा मणिमुकुन्द सेनले पाल्पा तर्फ ऋषिकेश भगवानकाे शिला सहितकाे मन्दिर स्थापना गरेपछि गुल्मी तिरका वासिन्दाको मन नदुखाेस भनेर समदुरीमा मणिमुकुन्देश्वर महादेव मन्दिर स्थापना गरे ।

पाल्पा तर्फकाे ऋषिकेश मन्दिरकाे चहलपहल बढ्याे तर वारि गुल्मी तर्फकाे महादेव मन्दिर मात्र नाम मात्र रह्याे । त्यसाे त याे मन्दिरकाे दैनिक पुजा चलाेस भनेर पाल्पाको अर्गलीमा १ सय २० मुरि माटाे गुठिकाे व्यवस्था गरेपनि वार्षिक सात मुरिधान पाउने गरेकाे र यहि धानले धुप दिप नैवेध व्यवस्था गरि दैनिक पुजा पाठ चलाएकाे मन्दिरका पुजारी टँक खनालले जानकारी दिए ।

जेनतेन पुजा चलाएकाे छु गुठीको जग्गाकाे थातथलाे छैन पुजारी खनाल भन्छन । यतिलामाे समय सम्म ओझेलमा परेकाे मणिमुकुन्देश्वर महादेव मन्दिरकाे पुनर्निर्माणका लागि गुल्मी क्षेत्र १ ख का पुर्व प्रदेश सभासद कमल राज श्रेष्ठको विशेष पहलमा लुम्बिनी प्रदेश महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीकाे तर्फबाट २० लाख बजेट विनियोजन भए सँगै याे मन्दिरले काँचुली फेर्ने करिब पक्का भएकाे छ ।

रुरुधामकाे अत्यन्तै उपयुक्त र सुरक्षित ठाउँमा रहेकाे याे मन्दिरकाे अवस्था जिर्ण भईसकेको र यसको पौराणिकता झल्किने गरि नयाँशैलिमा पुनर्निर्माण गर्ने लक्ष लिएका छौँ रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले भने । यसैबीच मणिमुकुन्देश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि रुरुक्षेत्र गाउँपालिका वडा न १ काे कार्यालयमा बुधबार आयाेजित एक भेलाले स्थानीय समाजसेवी चन्द्र लाल कसजुकाे अध्यक्षतामा सात सदस्यीय मन्दिर पुनर्निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।

समितिकाे उपाध्यक्ष सचिव र काेषाध्यक्षमा क्रमशः टँक खनाल , माधव ज्ञवाली , तुल्सी श्रेष्ठ र सदस्यमा भुवन श्रेष्ठ , राम प्रसाद शर्मा र शान्ति थापा रहेका छन । यसैगरी जीवन कसजुकाे अध्यक्षतामा गठित तीन सदस्यीय अनुगमन समितिमा शुवर्णलाल कक्षपती र ईन्दिरा खनाल रहेका छन ।