ताजा अपडेट »

स्व.पत्रकार घनश्याम पोखरेलका परिवारलाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण

शुक्रबार, ०१ पुस २०७९

परासी। नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पत्रकार स्वर्गीय घनश्याम पोखरेलका परिवारलाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरिएको छ । शाखा सदस्य पोखरेलको गत जेठ २४ गते भीरबाट लडेर मृत्यु भएको थियो ।

शाखाको बाह्रौं साधारण सभामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले स्व.पोखरेलकी धर्मपत्नी नमिता पोखरेलाई बिमा बापतको चेक हस्तान्तरण गर्नुभएको हो । शाखाले उक्त रकम पत्रकार पोखरेलकी ७ वर्षीय छोरी युनिका पोखरेलको नाउँमा उपलब्ध गराएको छ । चेक हस्तान्तरण गर्दै वरिष्ठ उपाध्यक्ष विष्टले पत्रकारहरुको हकहित र सुरक्षाका लागि जिल्ला शाखाहरुले गर्ने कामलाई केन्द्रले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाले पत्रकारितामा चुनौती थपेको बताउँदै विष्टले पत्रकारिताको माध्यमबाट त्यसलाई चिर्न जरुरी रहेको बताए । साधारणसभामा पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का र रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतका पत्रकारले पछिल्लो पटक पत्रकारिता क्षेत्र मर्यादित हुन नसकेको गुनासो आइरहेकाले त्यसलाई ध्यान दिएर पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिएका थिए । जिल्ला शाखाले शाखामा आवद्ध ८६ जना सबै सदस्यहरुको दुर्घटना बिमा गराएको छ ।

हाल १ लाखको दुर्घटना बिमा गराइएकोमा त्यसलाई बढाएर ५ लाख बनाउन लागिएको जिल्ला कोषाध्यक्ष प्रकाश न्यौपानेले बताए । शाखाले आफ्नै कोषबाट दुर्घटना बिमा गराउने गरेको छ । पत्रकारहरुको उपचार र दैविप्रकोपलाई लक्षित गरी पत्रकार कल्याणकारी कोष समेत स्थापना गरेको छ ।