ताजा अपडेट »

अर्जेन्टिना विश्वकपको उपाधि नजिक, क्रोएसियालाई हराउँदै फाइनल प्रवेश

बुधबार, २८ मंसिर २०७९

बुटवल । क्रोएसियामाथि जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३–० गोलको जित निकाल्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई गोल गर्दा कप्तान लिओनल मेसीले एक गोल गरे। खेलको सुरुमा क्रोएसियाले अर्जेन्टिनामाथि दबाब बढाएको थियो। तर क्रोएसियाले कुनै आक्रमण भने बुन्न सकेन। बिस्तारै खेलमा हाबी हुन थालेको अर्जेन्टिनाले खेलको ३४ मिनेटमा अग्रता लियो। क्रोएसियाका गोलकिपरले १८ यार्ड बक्समा जुलियनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । जसको भरपुर सदुपयोग गर्दै मेस्सीले गोलको दिशा दिए । पाँचौ पटक विश्वकप खेलिरहेका अर्जेन्टिनी स्टार मेस्सीले आफ्नो बायाँ खुट्टाले पोस्टको दायाँ कुनामा प्रहार गर्दै टीमलाई १–० को अग्रता दिलाए । विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै कीर्तिमान बनाएका मेस्सीले कतार विश्वकपमा मात्रै ५ गोल गरिसकेका छन् । यससँगै गोल्डेन बुटका लागि मेसीले आफ्नो दाबी कायमै राखेका छन् । 

बुधबारको रोमाञ्चक खेलमा मेस्सीले गोल गरेको ५ मिनेटपछि जुलियनले एक गोल थप्दै अग्रता दोब्बर बनाए । मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका उनले क्रोएसियाको कडा डिफेन्स चिर्दै गोल गर्न सफल भएका हुन् । पहिलो हाफमा २–० ले अगाडि रहेको अर्जेन्टिनाका लागि दोस्रो हाफमा फेरि जुलियनले मेस्सीको असिस्टमा अर्को गोल गरे । ६९ मिनेटमा गोल थप्दै उनले टीमलाई ३–० को अवस्थामा पुर्याएका हुन् । यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन भने अर्जेन्टिना विजयी भयो ।