पुस १०,
ग्लोबल आवाज
बुटवल । प्रदेश नम्बर पाँचका मूख्यमन्त्री शंकर पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको बिकासका लागि सटरहरु भत्काउने काममा भएको अबरोधप्रति आक्रोश व्यक्त गरेका छन् । प्रदेश सरकारले राष्ट्रिय गौरवको रुपमा लिएको अस्पतालको बिकासको काममा व्यवसायी तथा यस क्षेत्रका संघ संस्थाहरुले समेत असहयोग गरेको गुनासो व्यक्त गरे । ‘लुम्बिनी प्रादेशिक अस्पतालको संरचनागत प्रबन्ध र व्यस्थापकिय अवस्थाहरु र्हेदा अव्यवस्थीत र शुक्रबारे, बुधबारे हाट बजार जस्तो ‘स्वास्थ्यको हाट बजार’ भएको बताउँदै उनले सुधारका लागि आवश्यक रहेको औँलाए ।
‘अस्पताल सुधारका लागि प्रदेश सरकारले योजना ल्याउँदा संघ-संस्थाहरुले व्यवसायीलाई बोकेर जिल्ला अदालत जाने ?’ उनले आक्रोस पोख्दै अघि भने ‘भाषण गर्दा ठुला–ठुला र समृद्धिको नारा लगाउने विकासको काममा अवरोध गर्ने ?’ स्तरोन्नतिका लागि अस्पताल अगाडी रहेका सटरहरु जसरी पनि भत्काउनु पर्नेमा जोड दिँदै उनले बाहीर हिड्ने सर्वसाधारणले भित्र देख्न सक्ने गरी पर्खालहरु समेत नराखेर संरचना बनाउनु पर्नेमा जोड दिए । ‘अस्पताल भित्रको स्वास्थ्य सेवा के कसरी चलेको छ, सबैले प्रत्यक्ष देख्न पाउने गरी हुनुपर्छ ।’ उनले भने -‘भित्र कोठामा बसेर निजि अस्पतालमा सुटुक्क विरामी पठाउने काम अब बन्द गरिनु पर्छ ।’ गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालनमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको वार्षिक उत्सव तथा ७ औं स्थापना दिवसका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कतिपय निजी अस्पतालहरुले विरामी किन्ने गरेको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा बुटवल बदनाम हुदैँ गएको बताए । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सेबाभन्दा बढी नाफा कमाउने उद्देश्यले विरामी ल्याउने एम्बुलेन्सलाई समेत कमिशन दिने गरेको पाइएको बताए । ‘बिरामी ल्याउने एम्बुलेन्स र व्यक्तिलाई कमिशन दिने स्वास्थ्य संस्थाले विरामीलाई कुन रुपमा सेवा गर्छ होला ?’ प्रश्न गर्दै उनले भने ‘यी सबै कामहरु कानून विपरित हुन्, पहिले विरामी किन्ने कुरामा चितवन बदनाममा थियो, अहिले बुटवल बदनाम हुँदै छ ।’ फरक प्रसङ्गमा मूख्यमन्त्री पोखरेलले मेडिकल कलेजहरुलाई अस्पताल चलाएर विद्यार्थी पढाउनेमा केन्द्रीत हुन आग्रह गरेका छन् । ‘विद्यार्थी पढाएर अस्पताल चलाउने होइन, अस्पताल चलाएर बचेको पैसाले विद्यार्थी पढाउनुस् ।’ उनले अघि भने ‘विधि फलो गर्ने हो भने यस क्षेत्रमा ३ वटा मेडिकल कलेजहरु छन् यसैले स्वास्थ्य क्षेत्रको हबका रुपमा रुपन्देहीलाई चिनाउन सकिन्छ ।’
प्रदेश पाँचमा स्वास्थ्य सुविधाको अवस्था कमजोर रहेको बताउँदै उनले जनताको विश्वास घट्दै गएर जिल्ला, प्रदेश र देश नै छानेर उपचारका लागि बाहिर जाने अवस्था रहेकोमा चिन्ता व्यक्त गरे । स्वास्थ्य क्षेत्रको विकास गर्दै मेजर अप्रेसन गर्ने सुविधान प्रदेश भित्रै गर्ने प्रवन्ध गर्नुपर्ने बताउँदै उनले त्यो कुरा सम्भव रहेको उल्लेख गरे । गौतमबुद्ध सामुदायिक अस्पतालको स्तरोन्नतिका लागि जग्गा उपलब्ध गराउने कुरामा बुटवल उप-महानगरपालिकाले सहयोग गर्नुपर्ने बताउँदै उनले प्रदेश सरकारले पनि सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै प्रदेश पाँचका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, बुटवल उप-महानगरपालिकाका मेयर शिवराज सुवेदी लगाएतले अस्पतालाई सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका सचिव दिनेराज रेग्मीको सञ्चालन तथा अध्यक्ष एजाज आलमको सभापतित्वमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया