ताजा अपडेट »

बेणीमाधव पौड्याल प्रतिष्ठानद्वारा एम्बुलेन्स हस्तान्तरण

बुधबार, ०९ पुस २०७६

पुस ९,
ग्लोबल आवाज
बुटवल । सुदुरको गाँउमा डोकोमा बिरामी बोक्ने चलनको अन्त्य होस भन्ने ध्येयका साथ गुल्मी छापचौर स्थित पं बेणीमाधव पौड्याल प्रतिष्ठानले भुर्तुङ्ग स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । प्रतिष्ठानले गुल्मीको सुदुरपुर्वमा रहेको कालीगण्डकी गाँउपालिका वडा नम्वर सात (साविकको भुर्तुङ्ग गाविस छापचौरस्थित उक्त स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
जन्मभुमीको लागि सामाजिक सेवा गरि योगदान पुराउने उद्देश्यले स्थापना भएको सो प्रतिष्ठानले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि नेपाली काँग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापा, प्रतिष्ठानका संरक्षक सावित्रा पौड्याल, अध्यक्ष गोकर्ण पौड्याल, सदस्यहरु बाबुराम पौडेल र कृष्ण पौडेलले संयुक्त रुपमा एम्बुलेन्सको साँचो कालिगण्डकी ७ छापचौरका वडा अध्यक्ष लोकप्रताप शाहलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै पुर्वमन्त्री थापाले सुदुर गाँउ छापचौरका जनताले डोकोमा बिरामी बोक्ने सास्तिको अन्त्य हुने बताएका छन् । पंण्डित बेणीमाधव पौडेल प्रतिष्ठानले पुराएको योगदानको प्रशंसा गर्दै थापाले आफु स्वास्थ्य मन्त्रीहुँदा स्वास्थ्य क्षेत्रको सुधार र बिकासका लागि थुप्रै प्रयास गरेको बताए । पुर्वमन्त्री थापाले भने–‘तत्कालिन अवस्थामा राजनैतिक अस्थिरताका कारण सरकारको स्थायित्व नहुँदा आफुले भनेजस्तो काम गर्न पाइएन ।’ कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष गोकर्ण पौडेलले बुबा बेणीमाधवले देखाएको सत्य र परोपकारको मार्ग अनुशरण गरेको बताए । ‘बुवाले धर्मकर्ममै जिवन ब्यतित गर्नुभयो, गाँउमा परोपकारी मन लिएर हिड्नुभयो, हामी यो सानो सहयोग मार्फत बुबाको आत्मा शान्तिको प्रार्थनासहित गाँउको ऋण तिर्ने कोशिष गरेका छौं’—अध्यक्ष पौडेलले भने ।

सो अवसरमा वडाअध्यक्ष लोकप्रताप शाहले पं बेणिमाधव पौड्यालको निधनले अपुरणिय क्षति भएको उल्लेख गर्दै पौडेल परिवारको सहयोगले भुर्तुङ्ग छापचौरबासी जनताका लागि अमुल्य योगदान पुग्ने बिश्वास ब्यक्त गरेका थिए । स्व.पंण्डित बेणीमाधव पौडेलको ८०औं जन्म जयन्तीको अवसर पारेर सो एम्बुलेन्स वडालाई हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताए ।