ताजा अपडेट »

डुब्न थालेपछि रुपन्देहीका सहकारीहरु एक ठाउँमा, संकट टर्नेमा अभियान्ताहरुकै आशंका

शनिबार, १७ मंसिर २०७९

बुटवल । आर्थिक रुपले डुब्न थालेपछि रुपन्देहीमा सहकारीहरु एकीकरणको अभियानमा जुटेका छन् । पछिल्लो समय रचम आर्थिक संकट व्यहोरिरहेका यहाँका सहकारी संस्थाहरुले सेवाग्राहीलाई विश्वास दिलाउन एकीकरणका लागि अघि बढेका हुन् । आर्थिक संकटसँगै सम्पर्कविहिन हुनुपर्ने अवस्था आएपछि रुपन्देहीका ९ वटा सहकारी संस्थाहरुले शनिबार एक घोषणापत्र जारी गर्दै एकीकरणको अभियानमा अघि बढेका छन् ।

भैरहवामा रहेको सार्थक बहुउद्देश्यकारी संस्था लिमिटेड, जनप्रिय बहुउद्देश्यीय सहकारी, बुटवलमा रहेको आगन्तुक बचत तथा ऋण सहकारी, शाइन बहुउद्देश्यीय सहकारी, उपदेश बहुउद्देश्यीय सहकारी, उपकार बहुउद्देश्यीय सहकारीसँगै कपिलवस्तुको सुशन्देश बहुउद्देश्यीय सहकारी, नवलपरासीको शुभश्री बहुउद्देश्यीय सहकारी र बुटवलको वरदान बहुउद्देश्यीय सहकारीले आर्थिक संकट टार्न मर्जर प्रक्रियामा गएका हुन् । उनीहरुले साझा नाम ‘सिद्धबाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ नामाकरण गरेर अघि बढ्नेगरी मर्जर प्रक्रियामा गएका हुन् ।

सहकारी संस्थाहरु आर्थिक संकटमा गएका समाचार बाहिरिएसँगै बचतकर्ताले लगानी फिर्ता माग्न थालेपछि ठूलो संकटमा परेका यी सहकारीहरुले सेवाग्राहीलाई विश्वास दिलाउन मर्जर प्रक्रियामा गएका हुन् । सहकारीहरुले एकीकृत भएर आर्थिक समस्याको समाधान गर्ने प्रयासको सुरुवात गरे पनि सहकारीका अभियान्ताहरुले भने यसमा समेत आशंका व्यक्त गरेका छन् ।

विगतमा सहकारीहरुले आफ्नो मुल्य मान्यता विपरित कारोबार गर्नु, अस्वस्थ प्रतिस्पर्धा तथा अप्रत्येक्ष रुपमा गरिएका लगानीहरुले सहकारी डुब्ने अवस्था सिर्जना भएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही सहकारी संघका अध्यक्ष भिम तुलाचनले सहकारीहरुले अधिकार क्षेत्रभन्दा बाहिर लगानी गर्नुका साथै राज्यको सहकारी नीति ठिक नहुँदा समस्या सिर्जना भएको टिप्पणी गरेका छन् । सहकारीहरुले आर्थिक अनुशासनलाई कायम राखेर सदस्यहरुको अधिकारलाई सुरक्षित गर्नु पर्ने उनको सुझाब छ । संकट टार्न सहकारीहरु एकीकरणको अभियानमा गएपनि यसले सकारात्मक सन्देश दिनेमा भने उनले शंका व्यक्त गरे । सहकारी सदस्यहरुलाई विश्वस्त पार्ने सन्देश दिन जरुरी रहेको बताउँदै उनले आर्थिक समस्याबाट बच्न सहकारीहरु एकीकरणमा जाँदा थप प्रतिउत्पादक बन्न सक्नेमा सचेत गराए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीहरुमा आर्थिक संकट कोभिड महामारीभन्दा पनि ठूलो रुपमा जन्मिएको बताएका छन् । वित्तीय अनुशासनको पालना नगर्दा समस्या उत्पन्न भएको बताउँदै उनले ती समस्या समाधानतर्फ ध्यान केन्द्रित गरे । यसैगरी सिंगो मुलुकनै रचम आर्थिक संकटमा फसेको बताउँदै उनले सरकारको कारण देशमा आर्थिक संकट आएको उल्लेख गरे । सरकारले आर्थिक संकट भएको घोषणा नगरे पनि जटिल अवस्थामा आएको उनले बताए ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधवलाल देवकोटाले बढी बचतमा बढी ब्याज प्राप्त गर्ने प्रलोभनमा सहकारीहरुले आर्थिक संकट व्यहोर्नु परेको उल्लेख गरे । अस्वस्थ प्रतिस्पर्धाका लागि बचतमा उच्च ब्याजदर तथा नाफा कमाउने लोभमा अपार्दशी क्षेत्रमा लागनी गर्दा संकटको अवस्था उत्पन्न भएको उनले बताए । ‘सहकारीहरुले बचत र तरलताको अनुपात मिलाउन नसक्दा समस्या भएको छ ।’–देवकोटाले भने सहकारीको नियम पालना र सदस्यहरु केन्द्रित भएर काम गर्दा समस्या आउँदैन । आफूलाई सहकारी अभियानता भन्न्न लाज लाग्ने अवस्थाको सिर्जना भएको गुनासो गर्दै उनले वित्तीय अनुशासनलाई ध्यान दिन आग्रह गरे । सहकारीहरुले नियमित बचत गर्नेहरुलाई प्रोत्साहित गर्न नसक्नुका साथै कतिपय उत्पादनमूखि नीतिमा गएका सहकारीहरु राज्यको गलत नीतिका कारण समस्या हुने गरेको उल्लेख गरे । देवकोटाले सहकारी नीति सच्याउनु पर्ने आवश्यकता औल्याउँदै सहकारीहरुले पनि सदस्यहरुलाई सहकारी शिक्षा दिन आवश्यक रहेको बताए ।
सहकारी संघ केन्द्रीय सञ्चालक समितिका केन्द्रिय सदस्या सन्दिप सापकोटाले सहकारीका आधारभूत मूल्य र मान्यताहरुलाई मानेर अघि बढ्नु पर्नेमा जोड दिए । सहकारीमा समस्याहरु आएको र अप्ठ्याराहरु आएको बताउँदै उनले पनि वित्तीय अनुशासनलाई पालना गर्नुपर्नेमा जोड दिए ।

आगन्तुक सहकारी संस्थाका अध्यक्ष राजु घर्तीले कम्युनिटी बेसभन्दा पनि शहर केन्द्रित सहकारीहरुमा बढी समस्या देखिएको स्वीकार गरे । काठमाण्डौंका केही सहकारीहरुमा देखिएको समस्यासँगै बुटवलको सुप्रिम सहकारीमा देखिएको समस्यापछि अन्य सहकारीहरुमा समेत संकट उत्पन्न भएको उनले बताए । आफ्नो सहकारीबाट समेत बचतकर्ताहरुले लगानी फिर्ता तथा अन्य बैंकमा स्थान्तरण गर्न थालेपछि शहकारीको मोवाइल बैंकिङ सेवा नै बन्द गर्नु परेको उदाहरण प्रस्तुत गर्दै यहाँ सबै सहकारीहरुमा आर्थिक संकट बिस्तारै फैलिएको उल्लेख गरे । आफ्नो सहकारीले सुरुवा ३ वर्षसम्म लगानी गर्ने ठाउँ नै नपाएको स्मरण गर्दै उनले पछिल्लो समय लगानी बढे पनि सहकारीहरु बीच एकै प्रकारका क्षेत्रमा कारोबार तथा सानो बजारका कारण आर्थिक संकट निम्तिएको उल्लेख गरे ।