ताजा अपडेट »

त्रिपाठीको अभिव्यक्तिको एमालेद्वारा अस्वीकार, पुष्टि भए राजनीति नै छाड्छु: अध्यक्ष अधिकारी

सोमबार, १२ मंसिर २०७९

परासी । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयस त्रिपाठीको अभिव्यक्तिको कडा शब्दमा खण्डन गरेको छ । आज पार्टि कार्यालय परासीमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले त्रिपाठीले एमाले माथि लगाएको आरोप झुटो र कपोलकल्पित भएको बताएका हुन् ।

हार स्विकार्न गर्न नसकेर ईमान्दार पार्टी नेतृत्व पंक्ति र कार्यकर्ता माथि त्रिपाठीले अपमान गरेको अध्यक्ष अधिकारीको भनाई थियो । त्रिपाठीले हिजो परासीमा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष अधिकारी सहित पोलिट्व्युरो सदस्य वैजनाथ चौधरी, महासचिव शंकर पोखरेलको नामै लिएर आफुलाई हराउन लागेको र नेतृत्व पंक्ति आर्थिक प्रलोभनमा परेको आरोप लगाएका थिए ।

त्यस्को खण्डन गर्दे अध्यक्ष अधिकारीले कुनै पनि आर्थिक प्रलोभनमा परी वा नपरी त्रिपाठी विरुद्ध मतदान गर्न लागेको पुष्टि भए आफुले राजनितिनै छाड्ने बताए । पत्रकार सम्मेलन पछि जारी विज्ञप्तीमा एमालेले त्रिपाठीको अभिव्यक्तिको कडा शब्दमा खण्डन गर्दे त्रिपाठीको पार्टी जप्रपाले प्राप्त गरेको भोट र एमालेले प्राप्त गरेको भोटको आधारमा प्राप्त परिणामको तुलना गर्न भनेको छ ।

त्रिपाठीको पार्टीले सो क्षेत्रमा समानुपातिक तर्फ जम्मा ३ हजार ९ सय ३६ मत प्राप्त गरेको र एमालेले १७ हजार १ सय ७२ मत प्राप्त गरेकोमा त्रिपाठीले प्रत्यक्ष तर्फ २२ हजार ३ सय २८ मत प्राप्त गर्नुले एमालेले ईमान्दारीतापुर्वक मतदान गरेको पुष्टि हुने विज्ञप्तीमा जनाईएको छ । त्रिपाठी स्वयम नै एमालेका प्रदेश सभाका उम्मेदवारलाई हराउन लागेको चर्चा सर्वत्र भएको भन्दै एमालेले त्यस्बाट बच्न त्रिपाठीले झुटो आरोप लगाएको दाबी गरेको छ ।

त्रिपाठी आफै अलोकप्रिय भएको कुरा उनकै पालिकाबाट प्राप्त मतले पनि पुष्टि गर्ने सचिव धिरज शर्मा बस्यालले बताए । सो क्रममा एमाले केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज सरीता भुषाल, उपाध्यक्ष डोलराज भण्डारी, थान प्रसाद गैरे, राजन कुमार आचार्य लगाएतले त्रिपाठीको भनाईको खण्डन गरेका छन् ।