ताजा अपडेट »

बिनोद चौधरीसँग युएईको नागरिक सरह गोल्डेन भिसा छ : नेता हृदयेश त्रिपाठी

सोमबार, १२ मंसिर २०७९

परासी । जनता प्रगतिशिल पार्टिका अध्यक्ष हृदयेश त्रिपाठीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बिनोद चौधरीसँग युएईको गोल्डेन भिसा रहेको दाबी गरेका छन् ।  नवलपरासीको परासीमा पत्रकारहरुसँग कुरा गर्दै नेता त्रिपाठीले चौधरीसँग युनाइटेड अरब इमिरेट्सका नागरिक सरहको गोल्डेन भिसा रहेको बताए। नेता त्रिपाठीले निर्वाचनमा एमालेको नेतृत्व पङ्क्तिले धोका दिएको आरोप समेत लागाएका छन् ।

आफू र चौधरी बीचको चुनाबी प्रतिस्पर्धालाई 'लक्ष्मी' र 'सरस्वती' बीचको लडाइको रुपमा प्रस्तुत गर्दै उनले लक्ष्मिको प्रभाव एमाले परेको आरोप लगाए ।  'मलाई असहयोग भयो, नेपाली राजनीतिमा चौधरीको रूपमा बिचौलियाको प्रवेश भएको छ ।'-त्रिपाठीले भने । 

निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको बताउँदै निर्वाचनको मत परिणामले देशको समग्र राजनीति हेर्दा अस्थिरताको बाटो लागेको र संविधानमाथि प्रहार हुन सक्ने आंशका व्यक्त गर्दै संविधान बचाउन सक्रियता पूर्वक प्रतिवाद गर्न तयार रहेको नेता त्रिपाठिले बताए।नेता त्रिपाठी मंसिर ४ गते सम्पन्न निर्वाचनमा नवलपरासी वर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीसँग पराजित भएका थिए।