ताजा अपडेट »

रुपन्देही-२ मा अवरुद्ध मतगणना सुचारू गर्ने तयारी, आयोगले पठायो पत्र

शुक्रबार, ०९ मंसिर २०७९
1 Shares

बुटवल । विहानदेखि अबरुद्ध बनेको रुपन्देही-२ को मत गणना पुनः सुचारु गर्ने तयारी भएको छ । निर्वाचन आयोगले कानूनी प्रक्रिया अनुसार नै गणना सुचारु गर्न निर्देशनसहितको पत्र पठाएको हो ।

निर्वाचन आयोगले मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर गणना सुचारु गर्न निर्वाचन अधिकृतको कार्यालय बुटवललाई निर्देशन प्राप्त भएको बताइएको छ । विवादको विषयमा जानकारी गराउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग राय मागेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई रायसहितको निर्देशन दिँदै आयोगले भनेको छ 'ब्यालेटभित्र भएको मत नै यथार्थ मत भएको मानी तुरुन्त गणना गर्नू ।’

गणना गर्दा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानून बमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको छ । मतगणनाका क्रममा प्रतिनिधि उपस्थित नभए आयोगले आफैँ गणना गरी नतिजा प्रकाशित गर्ने अधिकार कानूनले दिएको छ । मतगणना रोक्न माग गर्दै अन्य दलका प्रतिनिधि बाहिरिएपछि गणना अवरुद्ध भएको थियो ।

यद्यपि असन्तुष्ट पक्षहरुले भने पुन मतदानको माग गर्दै निर्वाचन कार्यालय अगाडी विरोध प्रदर्शन गरिरहेका छन् ।