ताजा अपडेट »

बुटवलमा लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान शुरु

शुक्रबार, ०९ मंसिर २०७९

बुटवल । बुटवलमा लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन शुक्रबार बुटवल उपमहानगरपालिकामा लैंगिक हिंसाविरुद्धको सेतो रिवन लगाएर शुरुवात गरिएको हो ।

अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लैंगिक हिंसाविरुद्ध उपमहानगरपालिका शुन्य सहनशीलताको नीति लिएर अघि बढेको र कुनै पनि खालका हिंसाको विरुद्धमा उभिने बताए। उनले स्थानीय सरकारका हिसाबले बुटवलले हिंसा न्यूनीकरण गर्न र दोषीलाई कानूनी दायरामा ल्याउनका लागि अग्रपंक्तिमा उभिने बताए।

उनले यो अभियान १६ दिनसम्म प्रत्येक वडा र सार्वजनिक स्थलहरुमा सचेतनामूलक कार्यक्रम गर्दै सञ्चालन हुने बताए । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले लैंगिक हिंसाविरुद्ध उभिन र हिंसाको कानूनी उपचार खोज्नका लागि आह्वान गरे । उनले हिंसाविरुद्धको अभियानलाई सामाजिक अभियानका रुपमा अघि बढाउनका लागि अनुरोध गरे ।

अभियानअन्तरगत वडास्तरमा हस्ताक्षर, अन्तरक्रिया, आत्मसुरक्षा तालिमजस्ता कार्यक्रम सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए। अभियानमा विभिन्न संघसंस्थाहरुको सहभागितामा कार्यक्रमहरु सञ्चालन हुने सामाजिक महाशाखा प्रमुख भुवाप्रसाद लुइटेलले जानकारी दिए ।