ताजा अपडेट »

पर्वतमा प्रतिनिधिसहित प्रदेशका २ सिटमै एमाले विजयी

विहीबार, ०८ मंसिर २०७९
1 Shares

पर्वत । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित भएका छन् । साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी भएका हुन् ।

कार्यालयका अनुसार प्रतिनिधिसभामा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई दुई हजार दुई सय ६३ मतान्तरले पछाडि पार्दै विजयी भएका हुन् । गिरीले २९ हजार आठ सय ७२ मत प्राप्त गरेका छन् । जोशीले २७ हजार छ सय नौ मत प्राप्त गरेका छन्। प्रदेशसभा १ मा एमालेका भक्त कुँवरले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदीप कुँवरलाई पराजित गरे । कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार कुँवरले १३ हजार सात सय ४२ मत प्राप्त गरे ।

प्रदेशसभा २ मा एमाले उम्मेदवार मित्रलाल बस्यालले १४ हजार एक सय ३२ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार दुई सय १० मत प्राप्त गरेका छन् । जिल्लाका ६१ वडामा ६६ हजार दुई सय २६ मत खसेको थियो ।